कांग्रेसको महाधिवेशनसँग जोडिएका केही सवाल

डा. डिला संगौला


राणा शासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपाली राजनीति र सामाजिक परिवर्तनको पर्यायजस्तै हो । करिब सात दशक लामो संघर्ष इतिहास बोकेको कांग्रेसलाई अलग्गै राख्ने हो भने नेपालको राजनीति र सामाजिक परिर्वतनको बुझाइ अपूरो हन्छ ।

एउटा जीवन्त पार्टीको आफ्ना मूल्य मान्यता, विधि–विधान हुन्छन् । आन्तरिक जीवनमा उतार चढाव आइ नै रहन्छन् । आज फेरि विसं २००३ सालमा राष्ट्रिय कांग्रेसका रुपमा गरिएको प्रथम अधिवेशनबाट शुरु भएको राजनीतिक यात्रा १४औँ महाधिवेशनसम्म आइपुग्दा मुलुकको परिस्थितिले पनि कोल्टो फेरेको छ । कांग्रेस प्रतिपक्षमा उभिन पुगेको छ ।

कुनै पनि दलले समय सापेक्ष आफूलाई परिवर्तनशील र गतिशील बनाउन सकेन भने त्यो पार्टी जीवन्त हुन सक्दैन । त्यसैले निर्वाचनमा हार र पराजयले मात्र पार्टीको भविश्य निर्धारण गर्दैन । प्रतिपक्षमा भएर पनि जनताका आवाज र सवाललाई बोक्न सक्यो भने फेरि समयको चक्रसँगै जनताको लोकप्रिय पार्टी बन्न सक्छ । त्यस दिशातर्फ अब कांग्रेस मुखरित हुनु नै पर्दछ ।

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा उभिँदै गर्दा थुप्रै सवालहरु उठेका छन् । प्रथमतः तोकिएको समय अर्थात् फागुनमा हुने भनिएको महाधिवेशन टर्दै गएको छ । महाधिवेशनको कार्यतालिका अनुरुप पहिलो चरणको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण यही साउन मसान्तसम्म गरी सक्नुपर्नेमा कोभिड–१९ कारण कार्यतालिका प्रभावित भएको छ । कतिपय जिल्लाहरुमा अझै आन्तरिक समायोेजन सकिएको छैन ।

विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने हो । तर, परिस्थितिको सुविधा प्रयोग गरेर थपिएको एक वर्षे कार्यकाल पनि ६ महिना बितिसकेको छ । एकातर्फ मुलुकको परिस्थिति दिनप्रति दिन प्रतिकूल बन्दै जनजीवन कष्टकर भई कोरोनाको संक्रमण भएको छ ।

आगामी फागुनमा महाधिवेशन गर्न नसकिए संविधानअनुरुप थप ६ महिना बढाउन सकिन्छ । त्यो सुविधा प्रयोग गर्दा २०७८ भदौभित्र महाधिवेशन गरी सक्नुपर्छ । भदौभित्र महाधिवेशन हुन नसके वैधानिक संकट आउँछ । यी सबै कुरालाई मध्यनजर गर्दै नयाँ कार्यतालिका अनुरुपमा महाधिवेशनको तयारी थालनी गरिनुपर्छ ।

तर कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका सार्ने प्रस्तावको अपजस कसले लिने भनेर तैं चुप मै चुपजस्तै नेतृत्व मौन देखिन्छ । अप्ठ्यारो परिस्थितिमा केन्द्रीय कार्य समितिले नै जटिल परिस्थिति र विद्यमान अवस्थालाई ध्यानमा राखी नयाँ कार्यतालिका अनुरुप कार्यको थालनी गरिनुपर्छ ।

कोरोना विश्यव्यापीरुपमा नै छ । यसको असर कहिलेसम्म रहन्छ, यकिन गर्न सकिँदैन । यसैबीचमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन, भारतमा ठाउँठाउँमा लोकसभाको निर्वाचन र भर्खरै दक्षिण कोरियामा संसदीय निर्वाचन भएका छन्, हुँदैछन् । त्यसैले यति ठूलो परिवर्तनको नेतृत्व लिएको नेपाली कांग्रेसले आफ्नोे आन्तरिक निर्वाचन गर्न सक्नुपर्छ ।

यदि हेर र पर्खको अवस्थामा मात्र बस्ने, अधिवेशनको आन्तरिक तयारी नगर्ने हो भने संवैधानिक संकट आउन सक्छ । त्यसैले नेपाली कांग्रेसको महाधिवेशनले उब्जाएका थुप्रै सवालहरुको जवाफ कांग्रेसले दिन सक्नुपर्छ ।

वर्तमान परिवेशमा कांग्रेसजनमा एउटा सोच के देखिन्छ भने नेकपाको आपसी खिचातानी र झगडाले कमजोर हुन्छ र कांग्रेस बलियो हुन्छ भन्ने मनोदशाबाट माथि उठी नेपाली जनतालाई केन्द्रविन्दु बनाएर आगामी कार्ययोजना र रणनीति तयार गरिनुपर्छ । सत्तारुढ दलले सत्ताको चरम दुरुपयोग गरी भ्रष्टाचार गरिरहेको छ । आपसी झगडाले संसद् बन्द भएको छ ।

जसले गर्दा जनताको मुख पनि बन्द हुन पुगेको छ । यस्तो परिस्थितिमा प्रतिपक्ष पार्टी नेपाली कांग्रेसले सशक्त ढंगले सरकारले गरेका हरेक गलत क्रियाकलापको प्रतिरोध गर्न सक्नुपर्छ । अबको लडाइँ आफूभित्र होइन भन्ने कुराको महसुस गरी आन्तरिक द्वन्द्व, मनमुटावलाई तिलाञ्जली दिँदै अब वैचारिक बहस सञ्चालन गर्नुपर्छ ।

लोकतान्त्रिक पार्टीभित्र विभिन्न गुटउपगुट हुन्छन् । जुन कुरा कांगे्रसको आन्तरिक जीवनमा पहिलेदेखि नै रहेको देखिन्छ । जस्तो बीपी कोइराला, मातृकाप्रसाद कोइराला र सुवर्ण समशेरबीचको मतभेद, गणेशमान सिंह, किसुनजी र गिरिजाबाबुबीचको मतभेद, गिरिजाबाबु र शेरबहादुर देउवाबीचको मतभेद हुँदै शेरबहादुर र रामचन्द्र पौडेलबीचसम्म आइपुग्दा अनेकाैं गुट–उपगुट झाँगिएकै छन् । तर, सबैलाई कांग्रेस नीति, कार्यक्रम र वैचारिक बहसले जसरी बीपीका पालामा जोडेको थियो । तर, आज कांग्रेसका नेताहरु विधि र नीतिभन्दा व्यक्तिवादी भएकाले कांग्रेस केही कमजोर भएको आवास भएको छ । त्यसैले आपसी कमीकमजोरीलाई आत्ससाथ र आत्मसमीक्षा गर्दै जनतामा नयाँ आशा र भरोसा दिलाउन कांग्रेसमा रुपान्तरण हुन जरुरी छ । यसलाई पुनःजीवन दिन अबको कांग्रेस कस्तो बनाउने र अबको मार्गचित्र के हुने भन्ने बहसलाई प्राथमिकता दिन सक्यौँ भने गुट गौण हुन्छ र नीति र विधि प्रमुख हुन पुग्छ । त्यसैले कांग्रेसको महाधिवेशन सँगसँगै थुप्रै सवालहरु उठेका छन् । जुन यसका प्रकार छन् ।

निर्धारित समयमा महाधिवेशन हुने आशंका : नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमितिले निर्धारण गरेको महाधिवेशनको कार्यतालिका फागुन ७–१० गतेसम्म तोकिएको छ । तल्ला तहका अधिवेशन पुसबाट शुरुभै माघ ६ गतेसम्म सक्ने कार्यतालिका छ । क्रियाशील सदस्यता वितरण र नवीकरण चुनौतीपूर्ण भएकाले पूर्वनिर्धारित मितिमा नै महाधिवेशन हुने आशंका देखिएको छ ।

वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी फागुनमा ५ वर्ष पुग्छ । ५ वर्षभित्र पनि महाधिवेशन गर्न नसके थप ६ महिना थप्ने पाइने संवैधानिक सुविधा छ । त्यसपछि भने संवैधानिक संकट निम्तिन सक्छ । यस्तो अप्ठ्यारोलाई महसुस गरी एउटा बहस उठेको छ ।

पुरानै प्रतिनिधि र क्रियाशील सदस्यहरुबाट मात्र महाधिवेशन गराउने तर्क पनि आएको छ । तर, न्यायसंगत देखिँदैन । २०७४ को निर्वाचनअघि र त्यसपछि समेत विभिन्न पार्टीबाट प्रवेश गर्नेहरुको ठूलो जमात कांग्रेसमा जोडिएको छ । १३ औँ महाधिवेशनमा १३ वर्ष उमेर समूहका युवा आगामी निर्वाचनमा पार्टीसँग जोड्नका लागि महाधिवेशनमा युवा प्रतिनिधित्वलाई प्राथमिकतालाई राखी १५ प्रतिशत युवा र ३३ प्र्रतिशत महिलालाई नयाँ क्रियाशील सदस्यता दिनुपर्दछ ।

यो सबैको प्रतिनिधित्व गराउनका लागि पुरानो त्रियाशील सदस्यताबाट अधिवेशन गर्न सम्भव छैन । यसले पार्टीभित्र ऊर्जा भर्न सक्दैन । जसको प्रत्येक्ष असर आगामी निर्वाचनमा पर्ने गर्छ ।

अनलाइनबाटै क्रियाशील सदस्यता : क्रियाशील सदस्यता वितरणको समस्यालाई सुल्झाउन पहिलो विकल्पका रुपमा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरणको थालनी गरिनु पनि हो । किनभने अधिवेशनको पहिलो आधार भनेको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण पनि हो । यसको व्यवस्थापन अनलाइनमार्फत गर्न सक्यो भने अधिवेशनको प्रक्रिया सहजैरुपमा अगाडि बढ्न सक्छ ।

त्यसका लागि गाउँ/नगर/वडा समितिको सिफारिसमा क्षेत्रीय कार्यसमिति हुँदै जिल्ला कार्यसमितिले यो प्रक्रियाको थालनी गरेमा क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने पहिलो चरणको कार्यतालिकामा सफलता हासिल गर्न मद्दत पुग्दछ ।

विकेन्द्रीकृत निर्वाचन पद्दति : कांग्रेसभित्र कोरोना कहरका बेला कसरी गाउँ/नगर/क्षेत्र/जिल्ला/प्रदेशदेखि केन्द्रसम्म्मको अधिवेशन गराउने भन्ने चिन्ता र चासो प्रकट भैरहेको अवस्थामा कांग्रेसले पनि समय सापेक्ष अधिवेशन केन्द्रित निर्वाचन प्रणालीलाई विकेन्द्रीकरण गर्नु दोस्रो विकल्प हो ।

अधिवेशनको पहिलो आधार भनेको गाउँनगर/वार्ड तह नै हो । त्यहीँबाटै क्षेत्रीय प्रतिनिधिहरु चुनिएर आउँछन् । तिनैले नै प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला तहसम्मको निर्वाचनमा भाग लिई केन्दीय महाधिवेशन प्रतिनिधिको पनि चयन गर्दछन् । त्यसैले हरेक निर्वाचन क्षेत्रको प्रत्येक वार्डमा नै हरेक तहको निर्वाचनको बाकस राखेर प्रतिनिधिहरुले आफ्नो मत प्रकट गर्ने व्यवस्था गर्नुपर्छ ।

वैचारिक एवं सैद्धान्तिक स्पष्टता : राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, लोकतान्त्रिक समाजवाद, समावेशीकरण, धर्मनिरपेक्षता, संघीयता, शासकीय स्वरुप, अर्थनीति, सन्तुलित परराष्ट्र नीति, विकासको अवधारण, गठबन्धनको मान्यता, तराई–मधेस, पहाड र हिमाललाई हेर्न दृष्टिकोण आदिका विषय वस्तुका बारेमा डिजिटल प्रविधि, भिडियो कन्फरेन्समार्फत केन्द्रीय तहदेखि वार्ड तहसम्म विचारको प्रवालीकरण गर्नुपर्ने हुन्छ ।

नेपालको संविधानले समाजवाद उन्मुख भनेता पनि मुलुक त्यस दिशातर्फ गएको देखिँदैन । तसर्थ, लोकतान्त्रिक समाजवादको माध्यमबाट समग्र विकासमा जनताको सहभागिता कसरी गराउने, समावेशी लोकतन्त्रमा समावेशीकरणलाई पार्टीको संरचनामा कसरी कार्यान्यवन गर्ने, धर्मनिरपेक्षता संविधानले अंगिकार गरेपनि धार्मिक स्वतन्तत्रालाई कसरी अँगाल्ने, अन्य पार्टीको गठबन्धनको मान्यतालाई आगामी निर्वाचनमा अन्य पार्टीसँग साँटगाँठ गर्ने की नगर्ने, सन्तुलित परराष्ट्र नीतिलाई कसरी आत्मसाथ गर्ने जस्ता थुप्रै विषय वस्तुमा कांग्रेस स्पष्ट हुन जरुरी छ ।

निर्णायक तहमा सबैको प्रतिनिधित्व : नेपाली कांग्रेस जननायक बीपी कोइरालाले स्थापना गरेको पार्टी हो । बीपीले आफू प्रधानमन्त्री हुँदा द्धारिकादेवी चन्द ठकुरानीलाई पहिलो सहायक स्वास्थ्यमन्त्री, धनमान सिंह परियारलाई महामन्त्री बनाएर समावेशीको प्रतिनिधित्वको व्यवस्थापन गर्नुभएको थियो ।

आज नेपाली कांग्रेसको विधानमा नै कदमजमको सिद्धान्तलाई आत्मसाथ गरेकाले आगामी महाधिवेशनमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, खस आर्य र पछाडि परेको क्षेत्रको प्रतिनिधित्व मात्र होइन, नेतृत्व पनि हुनुपर्छ भन्ने बहसले सार्थकता पाउनुपर्छ ।

प्रतिपक्षको भूमिका : लामो समयसम्म सत्ता सम्हाल्न पुगेको नेपाली कांग्रेस संघीयतामा आइपुग्दा प्रतिपक्षको भूमिकामा छ । नेपाली जनताले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा फरक नदेखेको टीकाटिप्पणी पनि गरिरहेका छन् । त्यसैले सरकारले गरेका भ्रष्टाचार, बेथिति आदिका विषयमा जनता समस्य उजारीकरण गर्दै प्रभावकारी प्रतिपक्षको भूमिका निर्भाह गर्न सक्नुपर्छ ।

निर्वाचन जित्ने रणनीतिको तय : जीवन्त पार्टीभित्र आपसी मतमतान्तर भैरहन्छन् । तर, यी सबै कुरालाई प्राथमिमकतालाई नराखी गएको निर्वाचनमा नेपाली कांग्रेस के कारणले पछाडि पर्‍यो । अब आगामी आउने निर्वाचनमा कांग्रेसले जनताको मत पाउने आधारहरु के–के हुन् ? यी सबैको निर्धारण गर्दै जनतामा आशा र भरोसा जगाउन सक्नुपर्छ ।

जनता अहिले रोग र भोग दुवैबाट अक्रान्त छन् । वाढीपहिरोले ठूलो धनजनको क्षति गरेको छ । क्षतिको समयमा किसानले मल माएका छैनन् । विदेशमा रोगगारी गुमाएर अलपत्र परेका नेपाली नेपाल आउन नपाएर छटपटिरहेका छन् । यी सबै कुराको निवारणको नेतृत्व कांग्रेसले लिँदै आगामी चुनाव जित्ने रणनीति तय गरिनुपर्दछ ।

कार्यकर्ताको व्यवस्थापन र परिचालन : महाधिवेशन भनेको नेतृत्वको चयन मात्र होइन । यो कार्यकर्ताको परिचालन र व्यवस्थापन पनि हो । त्यसले पार्टीभित्र काम गरेका कार्यकर्ताको मूल्याङ्कन यो अधिवेशनले गर्न सक्नुपर्छ । होइन भने लगानी गरेका कार्यकर्ता पलायन हुने, गुट वा नेताको वरिपरि घुम्नेले मात्र पद प्राप्त गर्ने हो भने फेरि असन्तुष्टि झागिँदै जान्छ । त्यसको प्रत्यक्ष असर आगामी निर्वाचन पर्ने गर्दछ ।

रुपान्तरण र पुस्तान्तरण : निर्वाचनमा नराम्रोसँग पराजय भएपछि कांग्रेसमा एउटा बहस चल्यो । पार्टी एजले चलाउने की एजेण्डाले चलाउने । आज फेरि अधिवेशनको संघारमा कांग्रेसको रुपान्तरण र पुस्तान्तरण बहस चलिरहेको छ । त्यसैले कांग्रेसलाई पुरानै अवस्थामा पुर्‍याउने हो भने रुपान्तरण, पुस्तान्तरण र हस्तान्तरण आजको आवश्यकता हो ।

माहामारीको सामना : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को माहामारीबाट नेपाल पनि अछुतो छैन । कोरोना संक्रमण दिनप्रति दिन भयाभह रुपमा समुदायस्तरमा फैलिसकेको छ । जनता भयवित र त्रसित छन् । सरकार भने गैरजिम्मेवार र जनताप्रति उत्तरदायी छैन । त्यसैले नेपाली कांग्रेसले महामारीको सामाना गर्न गर्ने नेतृत्व लिँदै जनताको जनजीविकासँग आफूलाई गाँस्न सक्नुपर्छ । कोरोनापछिको रणनीति तय गर्दै अबको आर्थिक, सामाजिक, शैक्षिक, पुनःउत्थानको खाका तय गरी जनतामा आशा र भरोसा दिलाउन सक्नुपर्छ ।

विकास र समृद्धि : नेपाली जनताले समृद्धि र विकासको अनुभूति अझै गर्न पाएका छैनन् । सिंहदरवारको अधिकार गाउँ घरमा पुगेकै छैन । समृद्धिको नारा सरकारको भाषणमा मात्र सीमित छ । त्यसैले शिक्षा, स्वास्थ्य, रोजगार, बाटोघाटो सबैको विकास कांग्रेस सत्तामा गएपछि मात्र हुन्छ भन्ने विश्वास यो महाधिवेशनले जनतालाई दिलाउन सक्नुपर्दछ ।

(संग्रौला प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय हुन्)

२७ भाद्र २०७७ मा प्रकाशित
Nabintech