कोरोना कहरपछि आक्रान्त बनेको व्यवसायलाई व्यवसायिक उन्नयका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक पहल गर्न प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले माग गरेको छ । उद्योगी व्यवसायीहरुको साझा संस्था कोहलपुर उद्योग वाणिज्य संघलाई माग पत्र बुझाउँदै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ सम्बद्व व्यवसायीहरुले आइतवार संघलाई यस विषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।
विगत ६ माहिना देखि सम्पूर्ण उद्योग ब्यावसायहरु ठप्प रहेको अवस्थामा सम्पूर्ण उद्योगी ब्यावसायीहरु समेत सबै पक्षलाई सम्बोधन हुने किसिमका राहत स्वरुप राज्यले ब्यावसायिक राहत कार्यक्रम तथा नीति अवलम्बन गर्न नसकेकाले मुलुकको अर्थतन्त्र धरासाई हुँदै गएको प्रजातान्त्रिक उद्योग वाणिज्य संघले जनाएको छ । प्रजातान्त्रिक उद्योग वाणिज्य संघ, बाँके सह–सचिव लक्ष्मणराज पौडेल र प्रजातान्त्रिक उद्योग वाणिज्य संघ, कोहलपुर संयोजक मातृका सापकोटाद्वारा हस्ताक्षरित माग पत्रमा अगाडी भनिएको छ–‘ मुलुक भरमै अर्थतन्त्र खस्कदै गइरहेको अवस्थामा सबैभन्दा बढि दायित्व वहन गर्ने उद्योगी ब्यवसायीका साझा समस्या सामधानका विषयमा गम्भिर रुपमा संवेदनशील बन्न सरोकारवाला निकायहरुलाई जोडदार रुपमा माग गर्दछौँ ।’ माग पत्र संघका उपाध्यक्षद्वय प्रदिप भट्टराई र लक्ष्मण पौडेलले ग्रहण गरेका थिए । माग पत्र ग्रहण गर्दै उद्योग वाणिज्य संघका उपाध्यक्ष भट्टराईले व्यवसायीहरुले मागलाई संघको कार्यसमिति वैठक बसेर सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्वता जनाएका छन् । उनले उद्योग वाणिज्य संघ नियामक निकाय नभई दवाव सिर्जना गर्ने व्यवसायीहरुको छाता संगठन भएकाले आम व्यवसायीहरुले उठान गरेका समस्या समाधानका लागि संघ सदैव संवेदनशील रहेको बताए ।
उद्योग वाणिज्य संघलाई पहलका लागि बुझाइएको माग पत्रमा संघले आ.व. २०७६/०७७ को नविकरण वापत लिदैआएको दस्तुर रकममा ७५ प्रतिशत छुट गर्नु पर्ने, एक ब्यवसायीक प्रतिष्ठान/फर्म एक पि.सि.आर. परिक्षणको ब्यवस्था मिलाउन पहल गर्नुपर्ने एवम् हप्तामा २ दिन (शुक्रबार र शनिबार) जिल्ला प्रशासन ले ब्यवसायीक फर्म बन्द गर्न गरेको आह्वान कुनै औचित्य नरहेको हुँदा सो खारेजीको पहल गर्नु पर्ने लगाएत ६ बुँदे माग सम्बोधनका लागि संघलाई आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।