खुल्ला कारागारमा कैदि बस्न योग्य नभएको बाँके प्रजिअ आरोप

पिपलबाेट संवाददाता


सरकारले बाँकेको गनापुरमा खुल्ला कारागार बनिसकेको प्रतिवेदन सार्वजनिक गरेको छ । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले उक्त कारागार कैदी बस्नका लागि योग्य नभएको प्रतिक्रिया दिएका छन् । बाँके अत्याधिक गर्मी हुने ठाउँ भएकोले यहाँ बनाइएको कारागारमा टिनको छानोले कैदीको सुरक्षा नगर्ने देखिएको भन्दै सिडिओ कुरूम्वाङले उक्त संरचना कैदी बस्न योग्य नभएको प्रतिक्रिया दिएका हुन् ।

कैदी बस्ने घर पङ्खा लगाएपनि बस्न नसकिने गरि निर्माण भएको बाँकेका प्रजिअ कुरूम्वाङ बताउँछन् । भवन खुल्ला कारागारको मापदण्ड र कैदी बस्न सक्ने अवस्थाको नभएकै कारण निर्माण प्रक्रियामा आशंका उत्पन्न भएको छ । आमनागरिकको आशंका र गुनासोका बिच बाँके प्रशासनले उक्त योजनामा छानबिन थालेको प्रजिअ कुरूम्वाङ बताउँछन् ।

कारागार निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी र शहरी विकास तथा आवास डिभिजन कार्यालय, कारागार विभाग र नेपालगन्ज कारागारको समेत यसमा उदासिनता र हेलचक्राई देखिएको छ । सरकारी उदासिनताका कारण करोडौं लागतमा निर्माण भएका भौतिक संरचना वेकामे भएको सिडिओ कुरूम्वाङ बताउँछन् ।

उनले गनापुरमा बनेको खुल्ला कारागार ठिक नभएको भन्दै आफूले कारागारका निर्देशकदेखि महानिर्देशक समेतलाई रिर्पोट गरिसकेको बताए । खुल्ला करागार निर्माण सम्बन्धति निकायले ध्यान नदिंदा र सरकारले हेलचक्राई गर्दा करोडौंको लागनी खेर गएको छ ।

‘अपार्टमेन्ट सिस्टम’ मा कैदीलाई कोठा

बाँकेको गनापुरमा ६ बिघा क्षेत्रफलमा खुला कारागार निर्माण गरिएको छ ।  अपार्टमेन्ट प्रणाली अनुसार हरेक कैदीलाई कोठा उपलब्ध गराइने भएको कारण पनि यहाँ बस्ने कैदीलाई सहज छैन । खुला कारागारका कैदीले कारागार प्रशासनको सम्पर्कमा रही दिनभरि कारागार बाहिर काम गर्न सक्दछ तर रात कारागारमा नै बिताउनुपर्ने भएकोले पनि टिनको छानोमा बस्न समस्या हुने देखिएको छ ।

कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै ब्लक भए पनि पुरुष कैदीले श्रीमतीसँग र महिला कैदीले श्रीमानसँग बाँकी कैद भुक्तान गर्न पाउनेछन् । खुला कारागार सञ्चालनका लागि निर्माणाधीन कार्यविधिले परिवारको परिभाषा र सङ्ख्याबारे तय गर्नेछ । अहिले खुला कारागार सञ्चालनसम्बन्धी कार्यविधि निर्माण भइरहेको र कार्यविधि निर्माणसँगै खुला कारागार सञ्चालनमा आउने बताईएको छ ।

७ आश्विन २०७७ मा प्रकाशित
Nabintech