वन फडानी ढाकछोप गर्न टोलि पुग्यो वन मन्त्रालय

वन समूहलाई कारबाही गर्न आनाकानी


पिपलबाेट संवाददाता


बैजनाथ गाउँपालिका कार्यालय र क्याम्पस भवन निमार्णको लागी भन्दै बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको अवैध ढाकछोप गर्न तेताहरुको सक्रियता बढेको छ ।
स्थानिय सरकार र उपभोक्ता समितिको मिलोमतोमा ११विगाहामा जमिन गाउँ पालिका भवन निर्माण र क्याम्पस निर्माणको लागी जमिन दिने उपभोक्ता समितिले निर्णय गरेको थियो । सोहि अनुरुप त्यस क्षेत्रमा परेका विभिन्न जातका रुख विरुवा समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना नै करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो ।
समूहका अध्यक्ष प्रेमबहादुर थापाले रुख कटान गर्दा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएको स्वीकार गर्दै गाउँपालिका कार्यालय र क्याम्पस भवन निर्माण गर्नुपर्ने भएका कारण रुख काट्नु परेको बताइरहेका छन् ।
फँडानीमा संलग्नलाई कारबाही गर्न आनाकानी भइरहेको छ । वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाएको बताएपनि अहिलेसम्म समूहका पदाधिकारी पक्राउ परेका छैनन् । वन समूहले बरु उल्टै अवैध फँडानीको प्रमाणहरु नष्ट गर्ने प्रयास गरिरहेको छ । समूहलाई कानुनी कारबाहीबाट जोगाउन सत्तारुढ दलका नेता र सांसद यतिबेला सक्रिय भइरहेको स्थानीय बताउँछन् । ‘डिभिजन वन कार्यालयले अहिलेसम्म समूहका कोहीपनि पदाधिकारीलाई पक्राउ गरेको छैन, जबकी वन कार्यालयले अरु सामान्य घटनामा पनि सर्वसाधारणलाई पक्राउ गरेर हिरासतमा राख्छ,’ एक स्थानीयले भने ‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’ उनका अनुसार वन फँडानी प्रकरणलाई थामथुम पार्न प्रदेश सवासद ,गाउपालिका प्रमुख लगाएत एउटा टोली काठमाडौं पुगेको छ । उक्त टोलीले वन मन्त्री शक्तिबहादुर बस्नेत लगायतलाई भेट गरिसकेको छ ।
डिभिजन वन कार्यालयले उक्त वन फँडानीको घटना अनुसन्धान गर्न कोहलपुर सव–डिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई जिम्मा दिएको छ। तर, उक्त कार्यालयबाट चलाइएको अनुसन्धान प्रक्रिया सुस्त हुँदा ‘वन माफिया’ ले कानुनी कारबाहीबाट उन्मुक्ती पाउने स्थानीय बासिन्दाको चिन्ता छ।
वन कार्यालयले अनुसन्धान गरिरहेका बेला केहीदिन अघि समूहले एक्साभेटर चलाएर रुखका ठुटा हटाउने प्रयास गरेको थियो। एक्साभेटर चलाएको जानकारी पाएपछि पुगेको वनको टोलीले त्यहाँ हुन लागेको निर्माण कार्य रोकिदिएको छ। वन समूहले करिव एक बिघा क्षेत्रफलमा हुर्कदै गरेका सिसौं लगायत बहुमूल्य प्रजातिका थुपै्र रुख, विरुवा अवैध रुपले काटेको छ। त्यहाँ कति संख्याका रुख काटियो भन्ने वन कार्यालयसँग अहिले एकिन तथ्यांक नभएपनि स्थानीय बासिन्दाले सयौंको संख्यामा रुख कटान भएको बयान दिएका छन्। सामुदायिक वनले फँडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ।
यता डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले वन फँडानीको अनुसन्धान प्रक्रिया जारी रहेको बताएका छन्। ‘अनुसन्धान प्रतिवेदन तयार हुदैछ, हामीले हाम्रोतर्फबाट गर्नुपर्ने सबै अनुसन्धान प्रक्रिया जारी राखेका छौं,’ क्षेत्रीले भने। समूहले रुख कटानका लागि केन्द्र(मन्त्रालय र विभाग) बाटै स्वीकृती पाएको दाबी गरेपनि अहिलेसम्म कुनै कागजात जुटाउन नसकेका कारण जिल्लाका वन कर्मचारी विश्वस्त छैनन्। ‘केन्द्रीय स्तरबाट स्वीकृती पाएको भए जिल्लामा पक्कैपनि जानकारी आउँथ्यो होला, तर अहिलेसम्म केन्द्रबाट कुनै जानकारी आएको छैन,’ क्षेत्रीले थपे ।

१३ आश्विन २०७७ मा प्रकाशित
Nabintech