केन्द्रीय सदस्यहरुमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक अन्योलमा

पिपलबाेट संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका चारजना केन्द्रीय सदस्यहरुमा कोरोनाभाइरसको संक्रमण देखिएपछि केन्द्रीय कार्यसमिति बैठकबारे अन्योल सिर्जना भएको छ ।  चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित नभए पनि बस्ने नबस्ने बारे भन्न नसकिने बताएका छन् । “चार जना साथीहरुमा कोरोना देखियो । भोलिको बैठकबारे कसरी जाने भन्नेबारे कुरो त भएको हो,” उनले बाह्रखरीसँग भने, “क्यान्सिलनै त भएको छैन । तर, अहिले नै के हुन्छ भनेर भन्न सकिने अवस्था भने छैन ।”

कांग्रस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठकका बारेमा दिउँसो नेताहरुका बीचमा छलफल भएपछि मात्रै टुंगो लाग्ने बताएका छन् । “केन्द्रीय कार्यसमितिको बैठकका बारेमा दिउँसो छलफल हुन्छ । बस्छ कि बस्दैन अहिले नै भन्न सकिँदैन,” उनले भने ।

आशन्न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेसले सोमबार दिउँसो २ बजे बस्ने गरी पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकलाई मध्यनजर गर्दै कांग्रेसले बिहीबार पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण गराएको थियो ।

यसैबीच केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ । सहमहामन्त्री डा. महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।

१८ आश्विन २०७७ मा प्रकाशित
Nabintech