जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासनले आइतबार बिहान ६ बजेदेखि लागु हुने गरी बुधबार बेलुका ६ बजेसम्मका लागि बुटवल क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
प्रदेश ५ को नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेस भएपछि बुटवट क्षेत्रमा आन्दोलन सुरु भएको छ ।
आन्दोलनका नाममा बुटवल उपमहानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा चार दिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधिमा सभा, जलस, प्रदर्शनलगायतका गतिविधिहरु गर्न गराउनका साथै पाँच जनाभन्दा बढी व्यक्तिहरु समूहमा उपस्थिति भएर हिँडडुल गर्न समेत नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ ।