बाँकेमा युवा संघको एकता प्रक्रिया टुङ्गीयो

कोहलपुर नगरको संयोजकमा शाह


पिपलबाेट संवाददाता


सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा आवद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालले बाँकेमा एकता प्रकृया टुङ्गाएको छ । साविकको वाइसीएल नेपाल र युवा संघ नेपाल मिलेर बनेको राष्ट्रिय युवा संघ नेपालले जिल्लाका ८ वटै पालिकाका संयोजक र सह–संयोजकको टुङ्गो लगाएको हो । बाँकेमा ७१ सदस्यीय जिल्ला कमिटी समेत गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल बाँकेका सह–संयोजक आकाश कार्कीले जानकारी दिए । यसअघि जिल्लाको संयोजक र सह–संयोजक टुङ्गो लागेपनि संगठन बिस्तार भने हुन सकेको थिएन । केही समयअघि जिल्लाको ईन्चार्ज र सह–ईन्चार्जको टुङ्गो लागेसँगै दुई संगठन बिचको एकताले पूर्णता पाएको हो । युवा संघको नेपालगन्ज उपमहानगरपालिका संयोजक तथा सह संयोजकमा क्रमशः इमान खान र प्रवीण बिसि, कोहलपुर नगरपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः नवकिरण शाह र बिपिन शाही, बैजनाथ गाउँपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः अगन मल्ल (अशोक), बिबेक बिक्रम शाह, राप्तिसोनारी गाउँपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः सरोज बिक्रम बिष्ट र शेर बहादुर खड्का (सुजल), खजुरा गाउँपालिकाको संयोजक तथा सह(संयोजकमा क्रमशः छबिलाल बिष्ट र बिकास काउचा, डुडुवा गाउँपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः रिजवान खाँ र सकिर अलि सहिद, जानकी गाउँपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः अशोक भण्डारी र केशब शर्मा र नरैनापुर गाउँपालिकाको संयोजक तथा सह–संयोजकमा क्रमशः गुरु बचन र अयुव खाँलाई जिम्मेवारी दिइएको छ । राष्ट्रिय युवा संघ बाँकेका संयोजक तथा सह–संयोजक कुस्माखर बस्याल र आकाश कार्कि तथा ईन्चार्ज र सह–ईन्चार्ज सुरज जागा र खेमराज शर्मा लगायतको बैठकले ८ वटै पालिकाका संयोजक र सह–संयोजकको टुङ्गो लगाएको हो । त्यसैगरी संघले निर्वाचन क्षेत्रको संयोजक तथा सह–संयोजकको जिम्मेवारी समेत बाँडफाँड गरेको बताईएको छ ।

२७ आश्विन २०७७ मा प्रकाशित
Nabintech