विगत जस्तो रहेन दशैँको रौनक

पिपलबाेट संवाददाता


बाँकेमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो ।
ग्रामीण भेगमा गएको वर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुँई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कोहलपुर ४ कि कमला बुढा बताउछिन् ।
ग्रामिण भेगदेखी शहर बजारको सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस वञ्चित भएका छन् ।
पिङमा रम्ने बाँकेका विभिन्न क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् । कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस बाँकेकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् ।
निजी गाडी हुनेहरु आफन्तकहाँ पुगे पनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् । सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको बारबर्दिया नगरपालिका वडा नं. ५ का नमराज केसी बताउछन् । त्रासकै बीच यस वर्ष दशैँ विगत वर्षमा जस्तो भीड भएको छैन उनी भन्छन् ।

१३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech