कोहलपुरमा कोरोना संक्रमित एक जनाको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा दाङका एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ वर्षिय कोरोना संक्रमित एक पुरुषको कोहलपुरमा उपचारका क्रममा बिहिवार मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कात्तिक ९ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र १० गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना पुष्टि भए पश्चात् उनलाई अस्पतालको कोभिड-१९ वार्डमा भर्ना गरि उपचार शुरु गरिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनु पर्ने अक्सिजन थेरापी, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै बिहीबार दिउँसो उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको श्रेष्ठले जानकारी दिए । उनी लामो समयदेखि मधुमेह रोगबाट पिडित रहेको बताइएको छ । यो सँगै बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

१३ कार्तिक २०७७ मा प्रकाशित
Nabintech