कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी सवारी दुर्घटनामा सोमबार गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । सोमबार बेलुका सडक दुर्घटनामा परि गम्भीर घाईते भएका अधिकारीलाई थप उपचारका लागि काठमाण्डौं पठाइएकोे पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
उद्योग वाणिज्य महासंघको चुनावी प्रचारका क्रममा पाल्पाको वगनाशकाली गाउँपालिका–३, बेलउतीडाँडामा अधिकारी सवार गाडी दुर्घटनामा परेको थियो । अधिकारी आफैले चलाएको बा १८ च ४३४१ नम्बरको कारमा सवार रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य समेत गम्भीर घाईते भएका थिए । घाईते दुबैको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार गरीएपनि अधिकारीको अवस्था जटिल भएकाले थप उपचारकालागि काठमाण्डौं लागिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अधिकारीको ढाडमा गम्भीर चोट लागेको छ । अर्का घाईते आचार्यको भने लुम्बिनी मेडिकल कलेजमै टाउकोको सफल शल्यक्रिया गरीएको छ । गुल्मीको तम्घासबाट फर्केर उनीहरु तानसेनबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेका हुन् । उनीहरु दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेको बुझिएको छ । कार सडकबाट १५० मिटर तल खसेको थियो ।