वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा उनले भने, “अमेरिकाका जनताले स्पष्ट जनादेश दिएका छन् । यो जित तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं । यति धेरै भोट आजसम्म कसैले पाएका थिएनन् ।”
बाइडेनले अमेरिकी नागरिक कसैलाई पनि भेदभाव नगरी साथमा लिएर अगाडि बढ्ने पनि बताए । सबैसँग मिलेर काम गर्ने र मुलुकको मेरुदण्डलाई फेरि एकपटक उभ्याउने उनको भनाइ छ ।
“तपाईंहरुले मप्रति विश्वास गर्नुभएको छ । यसलाई म विनम्रताले स्वीकार गर्छु । म अमेरिकाको राष्ट्रपति हुँ र सबैलाई साथमा लिन चाहन्छु । म रेड स्टेट र ब्लु स्टेटका रूपमा हेर्दैन । अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको राष्ट्रपति होइन,” बाइडेनले भने, “हामी सबै साथ मिलेर काम गर्नेछौं । म यो मुलुकको मेरुदण्डलाई फेरि उभ्याउने छु ।”
उनले अमेरिकी नागरिकले आफूलाई गरेको विश्वासप्रति खुसी व्यक्त गर्दै आफू नागरिक-नागरिकका बीचमा फाटो ल्याउने नभइ नागरिक-नागरिकबीच सम्बन्ध जोड्ने राष्ट्रपति बन्ने प्रतिबद्धता जनाए ।
“तपाईंहरुले मप्रति जुन विश्वास गर्नुभएको छ, त्यो देखेर म अत्यन्तै खुसी छु । म यस्तो राष्ट्रपति बन्ने प्रतिबद्धता जनाउँछु- जसले तोड्नेभन्दा जोड्ने काम गर्नेछ । जो रातो वा नीलो रंग भएको राज्य हेर्ने छैन, संयुक्त राज्य अमेरिका देख्नेछ । म मनैबाट तपाईंहरु सबैको विश्वास जित्ने प्रयास गर्नेछु ।”
बाइडनले अफ्रिकी-अमेरिकी मतदाताहरुलाई विशेष रुपमा धन्यवाद दिए । सुरुवाती प्रतिस्पर्धामा पछाडि परेका बाइडेनले अफ्रिकी-अमेरिकी मतदाताकै कारण अग्रता हासिल गरेका थिए ।
बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने हुने पनि बताए । “सोमबार म एक ग्रुपको घोषणा गर्नेछु । जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञहरुले हाम्रो कोभिड योजनाका लागि काम गर्नेछन् । यो योजनालाई २१ जनवरी २०२० बाट लागु गरिनेछ ।”
बाइडेनले अमेरिकामा आफूले प्रयास गरेका कुनै पनि काम असफल भएको इतिहास नै नभएको जिकिरसमेत गरे । -बीबीसी