नेपालगञ्जमा बिरामी र कुरुवालाई २० रुपियाँमै खाना

पिपलबाेट संवाददाता


भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुका लागि २० रुपियाँमा पेटभरि खाना दिन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र श्री सुन्दरकाण्ड मित्र मण्डलले सुरु गरेको अभियानमा खाना खान आउनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले दैनिक चारसय जनालाई आफहरुले खाना खुवाउन सक्ने जानकारी दिए । हाल दैनिक एकसय पचास जनासम्म ब्यक्तिले खाना खाईरहेको गुप्ताले जानकारी दिए । कोभिड १९ का बिरामीहरुको उपचारसँगै भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौं ब्यक्ति उपचारका लागि आउने गरेका छन् ।

विपन्न ब्यक्ति तथा अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्षित गरी २० रुपियाँमा खाना खुवाउन थालिएको मित्र मण्डलले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले मानवीय कार्यमा स्थानीय सरकार सधै सहयोगका लागि तयार रहेको बताए । २० रुपियाँमा एकदमै राम्रो खाना दिन सक्नु आफैमा पुण्यको काम हो, आईतबार खाना स्थलमा पुगेका प्रमुख डा. राणाले भने, ‘यस्ता कार्यमा सबैको सहयोग हुनुपर्छ ।’ अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन बिहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । आईतबार भेरी अस्पतालमा पुगेर २० रुपियाँमा खाना खाएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले खानाको गुणस्तर राम्रो पाएको बताए । यसलाई निरन्तरता दिनुपर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘मानवीय सहयोगका कार्यमा सक्नेजतिले सहयोग गर्नुपर्छ ।’ अभियानमा नेपालगञ्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपियाँ सहयोग गर्दै आएको छ । अन्य खर्च मित्र मण्डलले सहयोगी दाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ ।

२४ कार्तिक २०७७ मा प्रकाशित
Nabintech