सयौं कोर्रा हान्दा पनि बुबा अडानबाट झुक्नुभएन

पिपलबाेट संवाददाता


१९९७ मा राणा शासनविरुद्धमा उहाँले शोभा भगवतीमा प्रजा परिषद्को सदस्यताको सपथ लिनुभयो ।  ०९७ सालमा विवाह गरेको ४ महिनामा उहाँ पक्राउ नै पर्नुभयो । २००१ सालसम्म उहाँले भद्रगोल जेलमै बिताउनुभयो ।  २००१ सालमा दुईवटा अग्ला पर्खाल नाघेर उहाँ भद्रगोल जेल ब्रेक गरेर उहाँ भारत प्रवासमा जानुभयो । प्रजातन्त्रका लागि उहाँको प्रतिबद्धता अत्यन्त बलियो थियो । ६ दशकभन्दा लामो क्रियाशील राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनुभयो । १९९७ सालमा पक्राउ परेपछि आजीवन काराबास र सर्वस्वहरणको सजाय सुनाइयो । २००१ मा जेल ब्रेक गरेर निर्वासनमा जानुभयो । फेरि २००७ सालको क्रान्तिको तयारीका लागि काठमाडौं आउनुभयो । फर्कने क्रममा ठोरीबाट पक्राउ गरियो । उहाँलाई जेलमा रहँदा कठोर सजाय दिइयो । कोर्रा हान्ने मान्छेले सयौं कोर्रा हानेर बेहोस बनाइसक्दा पनि उहाँ आफ्नो अडानबाट झुक्नुभएन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरैले दुःख कष्ट भोग्नुभएको छ । कुर्बानी गर्नुभएको छ । तर, (बुबा) गणेशमानजीले भोगेको कष्टदायी जीवनसँग अरु कोही राजनीतिक नेताले खेप्नुभएको कष्टको तुलना हुँदैन । त्यतिधेरै कष्ट उहाँले सहनुभयो । नेपाली जनतालाई रैतीबाट जनता बनाउन गणेशमान सिंहले खेल्नुभएको भूमिकाको म स्मरण गर्न चाहन्छु ।उहाँ व्यक्तिगतरुपमा भन्दा अत्यन्त सरल हुनुहुन्थ्यो । सबैलाई माया गर्ने । आफूले गर्नुपर्ने काम गर्ने । त्यसको परिणाम के आउँछ भन्नेमा उहाँ धेरै मतलब गर्नुहुँदैनथ्यो । उहाँ कस्तो भने, कोही आएर छोरीको बिहे छ भनेर पटक पटक पैसा माग्यो भने पनि दिएर पठाइदिने ।  किसुनजीहरुले त्यो देखेर पोहोर साल पनि छोरीको बिहे भनेर तपाईंसँग पैसा लगेको थियो, फेरि दिएर पठाउनुहुन्छ भन्नुहुन्थ्यो । त्यसबेला बुबा भन्नुहुन्थ्यो–तपाईँ चुप लाग्नुस् किसुनजी मलाई थाहा छ तर पनि सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो । बुबाको त्यस्तो बानी थियो ।

गणेशमानजीको त्यो त्याग…

नेपालको राष्ट्रिय राजनीतिमा एउटा उदाहरण नै दिएर जानुभएको छ । जनतालाई सार्वभौमसत्ता सम्पन्न गराउनका लागि, रैतीबाट नागरिकको हैसियत दिलाउनका लागि जीवनभर लडिरहनुभयो ।  तर, उहाँ सिद्धान्त र आदर्शबाट कहिले पनि चुक्नुभएन ।  ०४६ को जनआन्दोलनपछि तत्कालीन राजाले नारायणहिटीमा बोलाएर जनआन्दोलनको नेतृत्व तपाईंनै गर्नुभएको, प्रधानमन्त्री पनि तपाईं नै बन्नुस् भनेर भन्दा मान्नुभएन ।

उहाँले राजालाई धन्यवाद दिँदै भन्नुभयो, ‘सरकार मैले जीवनभर संघर्ष गरेको म आफैँ प्रधानमन्त्री बन्न होइन । कृष्णप्रसाद भट्राईजीलाई बनाउनुस् ।’  त्यो दिन त्यो क्षण पनि हामीले बिर्सनुहुँदैन भन्ने मलाई लाग्छ । त्यसले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण प्रतिकात्मक अर्थ राख्छ ।  ०४६ पछि उहाँले सक्रिय राजनीति नगरे पनि म अभिभावकको भूमिकामा रहन्छु भन्नुभयो । ०४८ को निर्वाचनपछि किसुनजी, गिरिजाप्रसाद कोइराला चाक्सीबारी घरमै आएर भेट्न आउनुभयो ।  कसरी अगाडि जाने ? के–के गर्ने भन्ने समझदारी भयो । ०४६ पछिको परिवर्तन हुने खानेका लागि मात्र होइन । यो सबैका लागि हो भन्ने उहाँको धारणा थियो । त्यसकारण अवसर नपाएकाहरुलाई, सबै जातजातिलाई अवसर दिनुपर्छ सरकारले गर्ने नियुक्तिहरुमा सन्तुलन गरेर जानुपर्छ भनेर भन्नुभयो । त्यो सहमति तोडिएपछि उहाँले असहमति जनाउनुभयो । त्यही कुरालाई ब्राह्मणवादविरुद्ध गणेशमानले जेहाद छेड्यो भनेर व्याख्या गरियो ।  शक्तिको राजनीतिमा प्रेसलाई कसरी डिस्ट्रोय गरिन्छ भन्ने उदाहरण थियो त्यो । उहाँले समावेशी भन्ने शब्द त भन्नुभएन तर, आशय त त्यही थियो ।  परिवर्तन सबैका लागि हो, सबैलाई मिलाएर लैजानुपर्छ भनेर भन्नुभएको थियो । सुशासनमा सबैलाई सहभागी गराएर प्रणालीलाई अगाडि लैजानुपर्छ भन्ने उहाँको धारणा थियो ।

परराष्ट्र सम्बन्धका बारेमा 

०४६ को परिवर्तनपछि उहाँले संयुक्त राष्ट्रसंघबाट शान्ति अवार्ड पाउनुभयो । ०४६ पछि उहाँ कुनै पदमा हुनुहुन्थेन ।  तर, भारतका प्रधानमन्त्रीहरु आउँदाखेरी चाक्सीबारी घरमै आएर भेट्नुहुन्थ्यो ।  नेपाल भारत र चीनबीचमा भएकाले यहाँको भूराजनीतिलाई राम्रोसँग बुझ्नपर्छ भन्नुहुन्थ्यो । भूराजनीतिमा भारत र चीनका लागि नेपालको महत्व छ । त्यस्तै, नेपालले पनि भारत र चीनलाई बराबर महत्व दिएर, समदूरीमा राखेर सम्बन्ध अगाडि बढाउनुपर्छ भन्नुहुन्थ्यो । संसारभरी नै शक्ति राष्ट्रको स्वार्थ त हुन्छ । हामीले नेपाल र नेपाली जनताको हितका लागि सोच्नुपर्छ । कुनै सन्धि सम्झौता गर्दा पनि त्यसलाई ध्यानमा राख्नुपर्छ ।  राष्ट्र र वजनताको हितभन्दा बाहिर कोही पनि जानुहुँदैन भन्नेमा उहाँको दृढ विश्वास थियो ।  त्यस्तै, कसैलाई छक्याउने र छलफलको राजनीति गर्नुहुँदैन भन्नुहुन्थ्यो । कुनै पनि निर्णय गर्दा, सन्धि, सम्झौता गर्दा पारदर्शी रुपमा जनतालाई चित्त बुझाएर मात्र गर्नुपर्छ भन्ने उहाँको अडान थियो । परराष्ट्र मामिलाका सम्बन्धमा उहाँको धारणा थियो, सम्बन्ध सबै राष्ट्रसँग राख्नुपर्छ ।

राजनीतिसँगै आर्थिक क्रान्ति 

०४६ सालमा खुलामञ्चमा भाषण गर्दै उहाँले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्तिको चर्चा गर्नुभयो । राजनीतिक परिवर्तन भयो । अधिकार त प्राप्त भयो । तर, त्यो अधिकारलाई संरक्षण र सम्बर्द्धन गर्नका लागि आर्थिक र सामाजिक क्रान्तिको आवश्यकता पर्दछ भनेर खुलामञ्चबाटै उहाँले भन्नुभएको हो । ०४६ को आन्दोलन सफल भएपछिको आमसभा थियो त्यो । जनताले अधिकारमात्र पाएर हुँदैन ।  सबैको जिविकोपार्जन सहज हुनुपर्छ । त्यसका लागि काम गर्न चाहेनहरुलाई सरकारले सहज वातावरण बनाइदिनुपर्छ ।  पिछडिएको र बञ्चितिकरणमा परेकालाई पनि अवसर दिनुपर्छ भनेर उहाँले त्यतिबेलै भन्नुभएको थियो । आर्थिक क्रान्तिको कुरा गर्दा देशको स्रोत साधन र पढेलेखेका बुद्धिजीवी सबैलाई जोडेर जानुपर्छ भन्नुहुन्थ्यो ।  देशभित्रकै जलविद्युत, कृषिजस्ता स्रोत साधनको न्यायोचित प्रयोग गरेर देशलाई सम्पन्न बनाउनुपर्छ भन्नुहुन्थ्यो ।  उहाँ मानिस खुसी हुनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो । अहिले मानिसहरु यत्रो परिवर्तन आयो, हामीलाई दुःखको दुःख भनिरहेका छन् । भ्रष्टाचार, कुशासनलाई बेलैमा रोक्न सकेन भने के हुन्छ ? हिजो अग्रजहरु र ज्ञात अज्ञात सहिदहरुलाई सच्चा सम्मान गर्ने हो भने भ्रष्टाचारै भ्रष्टाचारबाट मुक्त गराउनुपर्‍यो । सुशासन दिनुपर्‍यो । काम गर्न चाहनेलाई सहजरुपमा काम गर्ने वातावरण सरकारले मिलाइदिनुपर्छ । आजको दिनमा गणेशमानजीलाई सम्झँदा यी काम गरियो भने सच्चा श्रद्धाञ्जली हुन्छ ।

घाममा बस्न रुचाउनुहुन्थ्यो 

उहाँ डस्ना सिरक, घडी, कपडा सबै घाममा सुकाउनुहुन्थ्यो । घाममा पनि उहाँ निक्कै बस्नुहुन्थ्यो ।  खाना खाँदा चामलमा मिसिएको ढुँगा टोक्नु उहाँलाई सबैभन्दा असह्य लाग्थ्यो ।  त्यसैले उहाँ जेलमा हुँदा पनि चामल निकै केलाएर हेरेर मात्रै छानेर पकाउनुहुन्थ्यो । त्यो बानी उहाँको पछिसम्म पनि थियो । घरमा हुँदा फुर्सद भयो भने उहाँ घाममा बसेर चामल केलाउनुहुन्थ्यो ।

रेडियो उहाँ बिहानैदेखि सुन्नुहुन्थ्यो । त्यतिबेला रेडियो नेपाल र बीबीसी सुन्नुहुन्थ्यो । उहाँ निक्कै अध्ययनशील हुनुहुन्थ्यो । न्यूरोडमा पाउने सबै अखबार किनेर पढ्नुहुन्थ्यो । त्यतिबेला नेपालबाट प्रकाशित हुने र भारतबाट आउने पत्रिकाहरु किनेर ल्याएपछि उहाँ कुनै पाना बाँकी नराखी पढ्नुहुन्थ्यो । डिक्सनरीनै उहाँलाई कण्ठ हुन्थ्यो ।

(सिंह पुत्र कांग्रेस नेता प्रकाशमानसँग  गरेको कुराकानीमा आधारित )

२४ कार्तिक २०७७ मा प्रकाशित
Nabintech