म्यानमारको निर्वाचनमा सुकीको पार्टीको शानदार जित

पिपलबाेट संवाददाता


म्यानमारमा भएको आम निर्वाचनमा आङ साङ सुकीको सत्तारुढ पार्टी लिग फर डेमोक्रेसीले शानदार जित हासिल गरेको दाबी गरेको छ । सन् २०११ मा सेनाले सत्ता नागरिकहरुलाई सुम्पिन थालेपछि आइतबार म्यानमारमा दोस्रो आम निर्वाचन भएको हो ।अहिलेसम्म आधिकारिकरुपमा घोषणा नभए पनि सुकीको पार्टी एनएलडीले सन् २०१५ मा भएको पहिलो आम निर्वाचनभन्दा पनि धेरै सिट जित्दै शानदार जित हात पार्ने अपेक्षा गरिएको छ । सन् २०१५ मा एनएलडीले म्यानमारमा बहुमत पाएको थियो ।सोमबार एनएलडीका प्रवक्ता म्यो न्यून्टले आफ्नो पार्टीले ३२२ भन्दा धेरै संसदीय सिटमा जित हात पारेको दाबी गरेका थिए । यो आँकडा सरकार निर्माणको लागि आवश्यक सिटको आँकडा हो । न्यून्टले मुलुकभरका मतगणनास्थलमा रहेका आफ्ना पार्टीका एजेन्टहरुले पठाएको तथ्यांकको आधारमा उक्त दाबी गरेका हुन् ।

सन् २०१५ मा एनएलडीले ३९० सिटमा जित हात पारेको थियो । यसपटक पार्टीले यो आँकडा पनि पार गर्ने आकलन न्यून्टको छ । अहिले पनि म्यानमारमा सुकीको पार्टी लोकप्रिय देखिएको छ । तर, रोहिंग्यामाथिको दमनको लागि सहयोगी भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रियरुपमा उनको आलोचना हुँदै आएको छ ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले म्यानमारमा आम निर्वाचन हुनु खुसीको कुरा भए पनि संसद्मा ठूलो संख्यामा सेनाको उपस्थिति सुनिश्चित गरिनु र लाखौं रोहिंग्याहरुलाई निर्वाचनबाट बञ्चित गरिनु भने चिन्ताको विषय रहेको बताएका छन् ।

२५ कार्तिक २०७७ मा प्रकाशित
Nabintech