दाजु कता जान लाग्नु भएको आउनुस् न दाई एकपटक त मेरो रिक्सामा यात्रा गरिदिनुस । कोहलपुरको चौराहमा भेटिएकी मिजासिलो स्वभावकी इ रिक्सा चालक रिमा जैसीकोसंग कोहलपुर भएको संवाद हो यो । म पनि महिलाले रिक्सा चलाएको देखेर गाडी छोडेर रिक्सामा लागे । बाँकेको कोहलपुरमा महिलाहरु इ– रिक्सा चालकका रुपमा आर्थिक उपार्जनका निम्ति सक्रिय भएर इ रिक्सा सन्चालन गरिरहेका छन् । इ –रिक्सा चलाएर मनग्य फाइदा हुने देखेपछि कोरोना भाइरसको बन्दाबन्दी पछि इ–रिक्सा चलाउन थालेकी जैसी उमेरले १८ वर्ष पुरा गरेकी छिन् । कक्षा १२ को शैक्षिक अध्ययन गर्दै गरेकी जैसी २ महिना देखी अटो रिक्सा चलाउन थालेकी हुन । जैसी भन्छिन्, शैक्षिक अध्ययन गर्दै गर्दा आर्थिक अवस्था कमजोरका कारण कुनै पेशा रोज्ने सोच आयो सहकारी संस्थाबाट दुई लाख ऋण लिएर यो रिक्सा किनेकी हुँ । अहिले उनी दैनिक १ हजार देखी १२ सय सम्म आम्दानी गर्न सफल भएको बताइन् । बाँकेको कोहलपुर क्षेत्रमा महिलाहरु इ–रिक्सा चलाउनेका संख्या बिस्तारै बढ्दो क्रममा रहेको छ । इ–रिक्सा चलाउदै आएकी अर्की महिला हुन बाँके कोहलपुर नगरपालिका वडा नं. १ कि तुलसीमाया उपाध्याय उनले विगत १५ महिना देखि इ–रिक्सा चलाउदै आइरहेकि छिन । सहकारीको ब्याज तिरेर घर खर्च चलाएर मासिक १०हजार बचत हुने गरेको उनी बताउछिन् । ‘कतिपय पढेलेखेका महिलाहरु काम नपाएर, काम गर्ने जाँगर नभएर बेरोजगार छन् । म त झन अनपढ मान्छे जागिर खान कता जानु त्यो भन्दा आफ्नै काम गरेर खान के को लाज’र्, इ रिक्सा चालक तुलसीमायाको भनाई रहेको छ । एक बर्षको अवधिमा बाकेका विभिन्न बजारहरुमा २० जना महिलाहरुले इ रिक्सा किनेर चलाउदै आएका छन् । कोहलपुरमा मात्रै १२ जना महिला इ–रिक्सा चलाउछन । यो संख्या भने अहिले बढ्दो क्रममा रहेको छ । अटो रिक्सा चालक महिलाहरुले केवल महिलाहरुको रोजगारीको नयाँ ढोका मात्र खोलेका छैनन सामाजिक सोच र मान्यतालाई बदल्न बाध्य बनाएको छ ।
जैसी जस्तै धेरै महिलाहरुले घर संगसंगै घर बाहिर पनि परिवर्तनका सुन्दर कथा लेखी दिएका छन । वास्तविक संघर्ष र मेहनतबाट परम्परागत सोच र मान्यतालाई बदल्दै आफ्नै परिश्रमबाट आफ्नो खुट्टामा उभिन सफल यी महिलाहरुले धेरै महिलाहरुलाई श्रम प्रति सम्मान गर्न सिकाएका मात्र छैनन् । नेपालगन्ज २७ कि इ–रिक्सा चालक ममता भन्छिन्, ‘श्रीमानको निधन पछि धेरै बर्ष अर्काको घरमा खाना पकाए भाडा माझे, छोराछोरी हुर्काउन जे पनि गर्नुपर्दो रहेछ ।’ उनी भन्छिन्, ‘अलिअली गरेर जम्मा गरेको पैसाले मैले परम्परागत रिक्सा किनेर चलाउन थाले तरशारीरिक परिश्रम धेरै गर्नु पर्ने भएकोले त्यो रिक्सा चलाउन मुस्किल भएर बेचिदिए ।’ ‘नाकाबन्दी खुलेपछि इ रिक्साको बजार ह्वात्तै बढ्यो र मैले सहकारीबाट ऋण निकालेर यो रिक्सा किनेकी हु’, ममता अगाडि भन्छिन्, ‘यो रिक्सा चलाउन पनि समस्या छैन ।’‘यात्रा पनि सुरक्षित भएको र महिलाले रिक्सा चलाएको भनेर धेरै महिला यात्रुहरुले पनि प्राथमिकता दिने भएकोले कहिल्यै खाली खाली हिड्नु पर्दैन’, उपाध्याय भन्छिन्, ‘दिनभरी घरमा खाली बस्नु भन्दा सीप सिकेर आय आर्जनमा लाग्ने हो भने महिलाको ससक्तिकरण सजिलै सम्भव छ ।’ महिलाहरुलाई आर्थिक क्षेत्रमा सुधार ल्याउनका लागि सम्वन्धीत निकायको पनि ध्यान जान जरुरी रहेको छ ।