हामी भूमिगत छैनौं, खुलामञ्चमा आउन तयार छौं – विप्लव

पिपलबाेट संवाददाता


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले उठाएका कुरा राज्यले सुन्यो भने वार्ताका लागि तयार रहेको बताएका छन्।

महाधिवेशन, पार्टी पुर्गठन र प्रतिरोध संघर्षका बेला पनि जनताका कुरा राज्यले सुन्यो भने वार्ता हुन्छ भनिएको उल्लेख गर्दै उनले अहिले पनि वार्ता गर्न सकिने खुलाएका छन्।

‘जनता कहाँ असन्तुष्ट छन् भन्ने कुरा राज्यले सुन्नुपर्‍यो। हामीले जनताका कुरा उठाएका हौं। के गर्दा जनता खुसी हुन्छन् भन्ने त राज्यले सुन्नुपर्‍यो,’ उनले भने, ‘राज्यले जनताका कुरा नसुन्ने अनि हामीलाई वार्ताको पक्षमा छैन भनेर भन्न कसरी कुरा मिल्यो?’

सरकारले प्रतिवन्ध लगाएपछि पनि पार्टीका नेता सुदर्शनलगायतसँग पुगेर राज्यले वार्ता गरौं भनिरहेको उनले बताए।

‘प्रतिवन्धपछि पनि सुदर्शनलगायत कमरेडसँग पुगेर वार्ता गरौं भनेका छन्। तर वार्तालाई षड्यन्त्रका रूपमा प्रयोग गर्न भएन नि!,’ सोमबार ईरातोखबरलाई अन्तर्वार्ता दिँदै विप्लवले भनेका छन्।

कसैले देश बाहिर लगेर वार्ता गराउन खोजे त्यो सम्भव नहुने उनको भनाइ छ।

‘राज्य कस्तो देखिन्छ भने सिके राउतजस्तो बनाउने रे। नेपाल कम्युनिष्ट पार्टी त्यस्तो हुन्न,’ उनले भने, ‘कसैले दिल्ली लगेर वार्ता गराउन चाहला प्रचण्ड, बाबुराममात्रै हुन्छ त्यस्तो। यो कुरा सबैले बुझे हुन्छ।’

उनले आफूहरूलाई अहिलेकै सत्तामा घुमाउन राज्यपक्षले चाहेकोले त्यो इच्छा पूरा नहुने पनि बताए।

‘अहिलेको सत्तामा घुमाउन खोज्ने? त्यो उनीहरूका लागि हुन्छ नेपाल कम्युनिष्ट पार्टीलाई हुन्न,’ उनले भने, ‘नेपाली जनताको हितलाई केन्द्रमा राखेर वार्ता हुने हो।’

सरकारले वार्ता गर्न खोजे पनि नेपाल कम्युनिष्ट पार्टीले रूची नराखेको भन्ने हल्लामा सत्यता नभएको विप्लवको भनाइ छ।

‘अहिले कताकता हल्ला चल्यो रे, सरकार त इमान्दार थियो तर नेपाल कम्युनिष्ट पार्टीले रूची राखेन। यो भ्रामक कुरा हो। जनतालाई भ्रमित पार्ने कुरा हो। त्यो सत्य कुरा होइन,’ उनले भने।

उनले आफूहरूले सञ्चालन गरिरहेको क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जान नहुनेमा आफू सचेत रहेको पनि बताएका छन्।

‘हाम्रो क्रान्ति जनताले नदेख्ने मोडभन्दा पर जानु हुँदैन। जनताको आँगनबाट अगाडि बढ्ने क्रान्ति हामीले चाहेको हो,’ उनले भने।
गृहमन्त्री रामबहादुर थापा बादलले आफूहरूलाई भूमिगत भनेकोमा उनको असन्तुष्टि छ।

‘गृहमन्त्रीले भूमिगत भने। जुन कुरा हामीले भनेकै छैन। हामी भूमिगत पार्टी भनेको छैन। हामी जनताको बीचमा छौं,’ उनले भने, ‘प्रतिस्पर्धामा छौं। खुलामञ्चमै आउन तयार छौं।’

९ मंसिर २०७७ मा प्रकाशित
Nabintech