कालिकाेट पचाल झरनाका सबै विद्यालय खुले

पिपलबाेट संवाददाता


कालिकोट पचालझरना गाउँपालिकाका सबै सामुदायिक विद्यालय खुलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालयहरू खुलेका हुन् ।कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालयहरू सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिएपछि पठनपाठनका लागि खुला गरिएका हुन् ।

अहिलेसम्म गाउँपालिकामा संक्रमितको संख्या शून्य हुँदा पचालझरना गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्र सञ्चालन सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय खुला गरिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । ‘कोरोनाको त्रासले पढाइ लथालिङ भएको छ । त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो,’ उनले भने, ‘अब कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ ।’विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको ज्ञानोदय माविका प्राध्यापक ममराज सेजुवालले बताए । विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर स्यानिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकताअनुसार विद्यार्थी र शिक्षकको पिसिआर परीक्षण गरी पठनपाठन सुरु गर्ने गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।कालिकोटमा नौवटा स्थानीय तहमध्ये अन्यमा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छैनन् ।

९ मंसिर २०७७ मा प्रकाशित
Nabintech