सरकार भ्रष्टाचारमा फसेको काँग्रेस नेता बस्नेतको आरोप

पिपलबाेट संवाददाता


पाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले आज नेपालगन्जमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै जनताको म्यान्डेट पाएको सरकार भ्रष्टचारमा लिप्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो । ‘जनतालाई विकास र सम्बृद्धिको आशा जगाएको सरकार अहिले भ्रष्टचारमा उन्मुक्त भएको छ उहाँले भन्नुभयो–‘अर्को चुनावले यसको हिसाव किताव दिने छ ।’ उहाँले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका नखेलेकोमा आक्रोस पोख्नुभयो । लकडाउनका कारण ठूलो संख्यामा भित्रिएका नेपाली अहिले वेराजगार भएर फेरि विदेश पस्नु सरकारको नालायकीपन भएको टिप्पणी गर्नुभयो ।

‘ज्यानको जोखिम मोलेर अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका युवाहरु भारत गइरहेको सुन्दा मुलुकमा सरकार नभएको अनुभुति भएको छ’ उहाँले भन्नुभयो । दुई तिहाइको दम्भ देखाएर जनतालाई दुख नदिन पनि उहाँले चेतावनी दिनुभएको छ । ‘परिस्थिति एकै हुँदैन उहाँले भन्नुभयो–‘जन्म कुण्डली हेरेर बस्न नपरोस् ।’ नागरिकको जीवन रक्षाका लागि सरकार उदांगो बनेको उहाँको आरोप छ । दैनिक हिंसा, हत्या र बलात्कारका घटना भइरहँदा समेत सरकार मौनतामा उभिएको उहाँको भनाइ छ । काँग्रेस सधैव नागरिकको दुखमा साथ दिने पार्टी भएको उहाँको भनाइ छ । कोरोना भाइरस महामारीकाबीच काँग्रेसले अहिले रगत अभावमा नागरिकहरुले ज्यान गुमाउन नपरोस् भनेर देश व्यापी रक्तदान कार्यक्रम गर्दै हिडेको उहाँको भनाइ छ । नेपाल लोकतान्त्रिक खेलकुदका केन्द्रीय सदस्य शान्ति सिंहको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्तालगायतले बोल्नुभएको थियो । क्षेत्रीय खेलुकद विकास समितिका पूर्वअध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रमको सहजिकरण काँग्रेस युवा नेता भुम भण्डारीले गर्नुभएको थियो ।

 

 

 

 

१२ मंसिर २०७७ मा प्रकाशित
Nabintech