दाङको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका पूर्व प्रधानाध्यापक ओब बहादुर डाँगीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ७० बर्षीय डाँगीको आज विहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १४ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना हुनुभएका डाँगीलाई १५ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि मेकिडल कलेज कोहलपुरको कोरोना आइसीयूू वार्डमा उपचाररत उहाँलाई रोगको प्रकृति अनुसारको उपचार गर्दा गर्दै आज विहान पौने ६:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । डाँगी ३६ बर्षसम्म शिक्षण पेशामा आबद्ध रहनुभएको थियो । शिक्षण पेशाको ३६ बर्षे अवधिमा उहाँले ५ वटा बिद्यालयमा प्रधानाध्यापक रही कार्य गरिसक्नुभएको छ। दाङ जिल्लाको शिक्षा क्षेत्रमा पूर्व प्राध्यानापक डाँगी सबैको आदरका पात्र हुनुहुन्थ्यो।