चिनियाँ राजदूत र राष्ट्रपतिबीच भेट, संसद् विघटनप्रति चीनको असन्तुष्टि

पिपलबाेट संवाददाता


काठमाडौं । पछिल्लो समय नेपालको राजनीति तरल भएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् । पूर्वनिर्धारित कार्यतालिकाबिना मंगलबार राति आकस्मिक रुपमा चिनियाँ राजदूत यान्छी शीतल निवास पुगेकी हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेकी थिइन् । चिनियाँ पक्षले पूर्वमाओवादी र पूर्वएमालेबीच एकता गराएको आरोप लागिरहेका समयमा नेकपा फुट्ने स्थितिमा पुगेका बेला चिनियाँ राजदूत यान्छी शीतल निवास पुगेकी हुन् ।

स्रोतका अनुसार चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री ओलीको सिफारिसमा संसद् विघटन गरेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । संसद् विघटनप्रति आपत्ति जनाउँदै राजदूत यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षलाई मिलाएर अघि बढ्नसमेत राष्ट्रपति भण्डारीलाई आग्रह गरेकी छन् ।

उनी शीतल निवासबाट फर्किसकेकी छन् । राजदूत याङ्छी पछिल्लो समय नेपाली व्यापारीले उपलब्ध गराएका सवारी साधनमा आवत–जावत गरिरहेकी छन् । चिनियाँ पक्ष प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्ने रणनीतिमा भए पनि संसद् विघटन गराएको प्रति भने असन्तुष्ट रहेको स्रोतको दाबी छ ।

मंगलबार नेकपाको बहुमत केन्द्रीय समिति बैठकले पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारबाही गर्दै पदमुक्त गरेपछि पार्टी फुट्ने त्रासमा चिनियाँ पक्ष रहेको छ । चिनियाँ पक्षले पार्टी एकतालाई कायम राख्ने गरि प्रधानमन्त्री ओलीलाई विदाई गर्न चाहेको भए पनि परस्थिति विपरीत बन्दा राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेट गरेकी हुन् ।

७ पुष २०७७ मा प्रकाशित
Nabintech