नेकपाकी एक जनप्रतिनिधि कांग्रेसमा प्रवेश गरेकी छन्। कन्चनपुर बेदकोट नगरपालिका २ बाट निर्वाचित वडा सदस्य सबिता बोहरा काँग्रेस प्रवेश गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै पार्टीमा दुई धारमा बाँडिएका नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका हुन्। शनिबार भएको कांग्रेसको एक कार्यक्रमबाट उनलाई कांग्रेसका नेता एनपी साउदले पार्टी प्रवेश गराएका हुन्। कम्यूनिष्ट सत्ता पदका लागि एक आपसमा लड्दै कोही ओली, कोही प्रचण्ड नेपालसमुहमा प्रवेस गरिरहेका बेला बोहराले काँग्रेस रोजेकी हुन्। दुई तिहाई नजिकको कम्यूनिष्ट नेतृत्वको सरकारले जनताको जनमतको उलङ्घन गर्दै प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्र संविधानमाथि ‘कु’ गरेको भन्दै कम्यूनिष्टबाट निर्वाचित वडा सदस्य यसरी काँग्रेस प्रवेश गर्न थालेसंगै कम्यूनिष्ट प्रतिको जनविश्वास गुम्दै गएको काँग्रेस नेताहरुको दावि छ । उक्त कार्यक्रममा नेता साउदले नेकपाको शीर्ष नेतृत्वको बीचमा देखिएको अन्तर्विरोधले संसद् विघटन भएको बताए। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ बढ्दै गएपछि नेकपामा बढेको अन्तर्विरोध र संघर्षका कारण संसद् विघटन भएको उनको भनाइ थियो ।