‘गाउँमा रोजगारी नभएपछि खर्च जुटाउन कालापहाड जानुपर्ने बाध्यता’

स्याम विष्ट /बाँके


नेपालगञ्ज नाकाबाट हिजोआज दिनहुँ भारत प्रवेश गर्ने नेपालीको लर्को देखिन्छ । बाँके, जाजरकोट, दैरुलेख, रुकुम, रोल्पा, कालीकोट, सल्यान, प्युठान र दाङ्गका यूवा समूह बनाएर कामको खोजीमा भारततिर युवाहरु जादैछन् । कोरोना भाइरसका कारण नेपाल फर्किसकेका र वर्षेबाली लगाउन घर आएकाहरु पुनः मजदुरीका लागि भारत फर्किएका हुन् । ‘घरपरिवार छोडेर अर्काको देशमा काम गर्न जाने रहर त कसलाई हुँदो हो तर, गुजाराका लागि जानैपर्ने बाध्यता छ’ नेपालगञ्ज भन्सार नाकामा आफ्नो बाध्यता सुनाउँदै बाँके कोहलपुर नगरपालिका वडा नं.११मा विगत २ वर्षदेखी बसोबास गर्दै आएका नविन वि.क. बताउँछन् । घरबाट बिदाइको हात हल्लाएर निस्कने उनी मात्रै छैनन् । बि.क.सँगै उनको पुर्खेउली थलो सुर्खेतको लेखफर्सा गाउँका अन्य २०र २५ जना युवा पनि थिए । हिँउदको समयमा उनीहरु कमाउने ठूलो आश बोकेर भारततर्फ लागेका छन् । ‘यो बेला अब त्यति धेरै काम पनि हुँदैन, अब एकैचोटि दशैँ तिहार चाडपर्वमा फर्किने गरी कमाउनका लागि गइरहेका छौं ।’ उनीसंगै आएका सबै यूवा भारतको सिमला, कालापहाड लगायतका ठाउँमा काम गर्न गएका हुन् । गाउँघरमा खेतीपातीको काम सकिएसँगै रोजगारीको व्यवस्था नरहेकाले भारत जान लागेको कोहलपुर नगरपालिका वडा नं. ३ का निरक वि.क बताउँछन् ।‘घरमा खेतीपातीको काम सकिएको छ’ उनले भने – ‘अलिअलि बाँकी रहेका काम घरपरिवारका अरु सदस्यले गरी हाल्छन् । हामी अब एकैचोटि दशैंतिहारमा मात्रै उताबाट फर्किन्छौं ।’ भारतको कालापहाडमा सडक निर्माण ,घर निर्माण, लगायतका काममा मजदुरी गरेर प्रतिदिन १ हजार भारतिय रुपैँया पाउने भएकाले पनि भारततिर काम गर्न जान खोजेको उनको भनाई छ । रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरु भारतको हिमाञ्चल प्रदेश, सिमला, पुने, रिमा लगायतका ठाउँमा कामका लागि जाने गरेका छन् । खास गरेर उनीहरु घाँस काट्ने , स्याउका बोटबिरुवा गोडमेल गर्ने, लगायतको कामका लागि आफू जान लागेको दैलेख घर बताउने भुवन पुन
बताउँछन् । दशैँ तिहार सम्म भारतमै काम गरेर ५० देखी ८० हजार सम्म कमाउन सकिन्छ पुनले भने । पहिले पनि सिमला गइसकेका पुन भन्छन् ‘काम राम्ररी गर्न पाइयो भने कमाइ पनि राम्रै हुन्छ तर, राम्ररी काम गरिएन भने भारु २०÷२५ हजार लिएर आउनुपर्छ ।’ घरको आर्थिक अवस्था कमजोर भएर भारतमा मजदुरी गर्न जान उनीहरु बाध्य भएका हुन् । चाडपर्व र खेतीपातीको काम सकिएपछि कामको खोजीमा दिनहुँ धेरै व्यक्ति भारततर्फ पलायन भइरहेका छन् ।
सिमलामा स्याउ गोडमेल र चौकिदारी काममा जान लागेको जाजरकोट घर बताउने प्रबिण शाही बताउँछन् । उमेरले ४० काटेका शाही यस भन्दा पहिलेपनी आफ्नो सपरिवार सहित भारतमै गएर मजदुरी गरेर जिर्पिकोपार्जन गरिरहेका छन् । भारत जानेमा उनीहरुमध्ये कोही यसअघि पनि त्यहाँ गएर काम गरिसकेका छन् भने कोही पहिलो पटक जाँदैछन् । ५० वर्ष नाघिसक्नु भएका सुर्खेत चिङ्गाड गाउँपालिकाका आइते नेपाली गाउँघरमा रोजगारीको व्यवस्था नरहेकाले केही कमाउने उद्देश्यले विगतदेखि नै भारतमा गएर मौसमी काम गर्दै आएको बताउँछन् उनले भने, ‘गाउँघरमै रोजगारीको व्यवस्था भए त यसरी सधैं जानु पर्दैनथ्यो ।’ आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने भएपछि मध्यपश्चिमका पहाडी जिल्लाका नेरुपाली प्रायः भारतमा मजदूरी गर्नकै लागि जाने गर्छन् । आफ्ना बालबालिकाको पढाइको चिन्तासँगै नूनतेलको जोहो गर्नकै लागि तराईदेखी पहाडी जिल्लाका युवालाई भारत जानुपर्ने बाध्यता रहेको छ ।

१३ पुष २०७७ मा प्रकाशित
Nabintech