व्यवसायिक च्याउ खेतीमा आत्मनिर्भर बन्दै सन्जेल

स्याम विष्ट / बाँके


बाँकेको कोहलपुर नगरपालिका वडा नं.४ कि औला सन्जेल व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएकी छिन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ ।
दुई वर्षअघिदेखि च्याउ खेती शुरु गरेकी महिलाले च्याउ बिक्री गरेर वार्षिक दुई लाख कमाउन उनले बताएकी छिन् । कोहलपुर, नेपालगञ्ज बजारमा च्याउको माग बढ्दै गएपछि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको सन्जेल बताउँछिन् । व्यवसायिक रुपमा च्याउ खेतीका लागि सन्जेलले कुनैपनी सरकारी तथा संघ संस्थाबाट तालिम भने लिएकी छैनन् । ‘च्याउखेतीका लागि हाल सम्म कुनै पनि तालिम लिएकी छैन्’ उनले भनिन् ‘राज्य च्याउखेती गर्ने किसानहरुलाई विशेष तालिमहरुको आयोजना गरेको भए राम्रो हुने थियो ।’२० हजार लगानीमा सन्जेलले च्याउ खेती शुरुवात गरेकी थिइन् । भाडामा जग्गा लिएर शुरुवात गरेको च्याउखेती अहिले उनका लागि आम्दानीको राम्रो श्रोत भएको छ । घरायसी कामभन्दा च्याउ खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने च्याउ खेती गर्दै आएकी स्थानीयवासी कमला विसी बताउँछिन् । शुरुमा एक वटै टनेलमाबाट शुरु गरिएको च्याउ खेतीबाट मासिक ४५ केजी च्याउ बिक्री हुने गरेको सन्जेल बताउँछिन् । महिलालाई रोजगारमूलक र सीपमूलक जस्ता कार्यक्रम कोहलपुर नगरपालिकाबाट वार्षिक रुपमा लाखौँ रकम बिनियोजित गरिएतापनी उक्त बजेट कार्यक्रमका बारेमा स्थानिय महिलाहरुलाई कुनै जानकारी नै हुँदैन् । ‘आफ्नै लगानीमा व्यवसायिक रुपमा च्याउखेती शुरुवात गरेको हुँ । हामीलाई अनुदानका कार्यक्रमका बारेमा केही जानकारी नै हुँदैन’ उनले भनिन् । च्याउ खेती, तरकारी खेती र फलफुल खेती व्यवसायिक रुपमा संचालन गर्ने महिलाहरुको संख्या भएतापनी वडा कार्यालय र नगरपालिकाको ध्यान जान सकेको छैन् । ‘तरकारी खेती भन्दा पनि च्याउ खेतीबाट राम्रो आम्दानी हुने रहेछ’ सन्जेलले भनिन्, ‘पहिले च्याउ खेती गर्ने घर बनाउने, पराल काट्ने, उसिन्ने, सिलिण्डर बनाउने, झुन्ड्याउने, च्याउको बीउ राख्ने, बिक्री गर्ने सबै काम गर्नुपर्दा दुख भएको महशुस भएको थियो । अहिले घरबाटै च्याउ बिक्री गर्न पाउदा आफु खुशी छौं’ उनले भनिन् ।
प्रतिकेजी २ सय रुपँयामा घरबाटै च्याउ बिक्रि हुँदै आएको छ । तीन छोराछोरीको पढाई र घरखर्च चलाउनका लागि कसैसँग घुहार्न नपरेको सन्जेलको भनाई रहेको छ । उक्त व्यवसायीक च्याउ खेतीका लागि सन्जेका श्रीमान् कृष्णा चन्द्र सञ्जेलले बिहान, बेलुका च्याउ खेती व्यवसायमा परिवारलाई सघाउँदै आएका छन् ।

२२ पुष २०७७ मा प्रकाशित
Nabintech