अतिरिक्त क्रियाकलापमा फर्किदै क्रिसा

माघ १५ गते म्याराथुन दौड, माघ २४ गतेदेखि क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता


राम बहादुर रावत


विश्वभरी फैलिएको कोरोना भाईरसका अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्रमा नराम्रो गरी असर पारिरहेको छ । गत चैत्रदेखि कोरोना भाईरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण करिब ८ महिनासम्म शिक्षण संस्था पूर्ण रुपमा बन्प भए । शिक्षण संस्थाहरु बन्द भएपछि विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा भाग लिन पाएनन् । पछिल्लो सयम शिक्षण संस्थाहरु संचालन भएसँगै विद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउन थालेका छन् । कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुलाई विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा समावेश गराउँदै आएको थियो । कोरोना भाईरसका कारण विद्यालयहरु संचालन नआउँदा क्रिसाले आफ्ना नियमित गतिविधिहरु पूर्ण रुपमा रोक लगायो । पछिल्लो समय शिक्षण संस्थाहरु संचालनमा आएसँगै क्रिसाले आफ्ना विभिन्न गतिविधिहरुलाई पुनः संचालनमा ल्याईरहेको छ । क्रिसाले आफ्नो वार्षिक क्यालेण्डर अनुसार विभिन्न विद्याका अतिरिक्त क्रियाकलापहरु गर्दै आईरहेको थियो तर यस वर्ष कोरोना भाईरसका कारण क्रिसाले आफ्नो नियमित गतिविधिहरु गर्न सकिरहेको छैन् ।
क्रिसाले यस वर्ष कोरोना भाईरसको जोखिमलाई ध्यान दिएर १३ औं क्रिसा स्थापना दिवसमा म्याराथुन दौड र १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । क्रिसाको १३ औं स्थापना दिवसको अवसरमा माघ १५ गते कोहलपुरमा छात्र तर्फको पाँच हजार मिटर म्याराथुन दौड र छात्रा तर्फ तीन हजार म्याराथुन दौड प्रतियोगिता गर्ने क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले जानकारी दिएका छन् । कोहलपुरमा सोमबार पत्रकार सम्मेलनमार्फत क्रिसाले कोरोना भाईरसका विरुद्ध छात्र तर्फ पाँच हजार मिटर दौड र छात्रा तर्फ तीन हजार मिटर म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष डाँगिले जानकारी दिएका छन् । माघ १५ गते बिहान कोहलपुर चौराहामा म्याराथुन दौडका लागि विद्यार्थीहरुलाई सहभागि हुन उनले आग्रह समेत गरेका छन् । सोहि अवसर पारेर क्रिसाले शिक्षा पत्रकारिता पुरस्कार पनि प्रदान गर्ने भएको छ । कोहलपुर क्षेत्रको शैक्षिक विकास, क्रिसा गतिविधि र संस्थागत विद्यालयहरुसँग सम्बन्धित भएर समाचार लेखेका पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष डाँगिले बताएका छन् । साथै क्रिसाले १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता पनि यहि माघ २४, २५ र २६ गते गर्ने भएको छ । क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा १८ वर्ष मुनिका छात्र र छात्रा तर्फको भलिबल, १२ वर्ष मुनिका छात्र र छात्रा तर्फको फोर ए साईड फुटबलका खेलहरु समावेश गरिने भएको छ । कोरोना भाईरसका कारण अन्य विद्याका कुनै पनि खेलहरु समावेश नगरी दुई वटा मात्र खेलहरु संचालन गर्ने निर्णय क्रिसाले गरेको छ । क्रिसाद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्रिसाका सल्लहाकार दिनेश सिग्देलले क्रिसाले बालबालिकाहरुको पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिईरहेको बताउँदै कोरोनाका कारण यस वर्ष बालबालिकाहरुलाई प्रर्याप्त मात्रमा अतिरिक्त क्रियाकलापमा समावेश गर्न नसकिएको बताएका छन् । खेलकुदले बालबालिकामा सकरात्मक सोचको विकास गराउने भएकाले क्रिसाले हरेक वर्ष विभिन्न विद्यामा प्रतियोगिता गर्दै आईरहेको अवस्था यस वर्ष कोरोनाका कारण विद्यार्थीहरुलाई प्रतियोगिताहरुमा समावेश गर्न सक्ने अवस्था नभएको बताएका छन् । प्रतियोगितमा क्रिसामा आवद्ध विद्यालयहरुले सहभागिता जनाउने क्रिसाका सचिव नवकिरण शाहले जानकारी दिएका छन् । साथै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मापदण्ड अनुसार उक्त खेलहरु सञ्चालन हुने उनले बताएका छन् ।

५ माघ २०७७ मा प्रकाशित
Nabintech