बाँकेको कोहलपुर नगरपालिकाको वडा नं ५ साबिक रझेना गाउँ विकास समितिको वडा नं. ८ बाट बनेको हो । पाँच हजार ३ सय ९० कुल जनसंख्या रहेको उक्त वडामा करिब १.५८ वर्ग किलोमिटरमा अवस्थित रहेको छ । स्थानिय निकायको निर्वाचित भएपछि उक्त वडामा विकास निर्माणका कामहरुले तिव्रता पाएको छ । निर्वाचित जनप्रतिनिधीहरुको ५ वर्षे कार्यकाल अब डेढ वर्षमात्र बाँकी रहँदा उक्त वडामा भए गरेका विकास निर्माणका बारेमा पीपलबोट दैनिकका रिर्पोटर स्याम विष्टले वडा अध्यक्ष विष्णु तिवारीसंग गरिएको कुराकानी संक्षिप्तमा :
(१) तपाईं निर्वाचित भएर आएको साढे तीन वर्षको बीचमा कोहलपुर नगरपालिका वडा नं. ५ का स्थानीय नागरिकले के–के परिवर्तनको अनुभूति गरे ?
संविधानले स्थानीय तहलाई सरकारकै हैसियता प्रदान गरेकाले हामी निर्वाचित जनप्रतिनिधिले स्थानीय तहलाई सरकारको रूपमा सञ्चालन गरी टोल–टोलमा सरकार भएको अनुभूति दिएका छौँ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामहरू थुप्रै भएका छन् ।स्थानीय जनताको माग सबैभन्दा बढी सडक निर्माण,विद्युत, कृषि क्षेत्रको भएकाले हामीले स्थानीय नागरिकको मागअनुसार काम गरिरहेका छौँ । कोहलपुर नगरपालिका वडा नं.५ क्षेत्रभित्र पक्की, कच्ची र ग्राबेल सडक पक्की नाला निर्माण गरी २०वटा भन्दा बढि सडक निर्माणका काम भएका छन् । कतिपय सडक निर्माणका कामहरु पूरा हुँदैछ । हरेक बस्तीहरुमा विद्युत विस्तार गरिएको छ । नगरपालिकाबाट प्राप्त वडा कार्यालयलाई गरिएको बिनियोजित बजेटबाट कोहलपुर नगरपालिका वडा नं.५का बासिन्दाहरुको माग बमोजिम वडाबासिहरुको आर्थिक स्तर सुधारका लागि विभिन्न परियोजनाहरु संचालन भएका छन् , स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा भौतिक संरचनाको निर्माण , जेष्ठ नागरिकका लागि सम्मान कार्यक्रम संगै विपन्न तथा अति असाय, अपाङ्गताका लागि आवश्यक पर्ने सामग्री वितरण उनीहरुको आर्यस्तरमा वृद्धि पु¥याउन लागि अन्य कामहरु संचालन भए जसका कारण निर्वाचित जनप्रतिनिधीहरु निर्वाचित भएर आएपछी जनताले आफ्नो समस्यालाई सिधै राख्न सक्ने भएका छन् ।
(२) नयाँ संरचनामा पहिलो जनप्रतिनिधिका रुपमा काम गर्दा के कस्ता समस्या खेप्नुभयो ?
हामीले शून्यबाट कामको थालनी गर्नुप¥यो । यस्तो बेला विभिन्न खाले बाधा अप्ठ्यारा र चुनौती आउनु स्वभाविक थियो । विशेषतः पूर्वाधार निर्माणका क्षेत्रमा सामाजिक, राजनीतिक तथा कानुनी समस्यासँग जुध्नुपर्ने अवस्था आए । त्यसमाथि अझ आवश्यक ऐन, नियम र कानुन निर्माण गर्न सङ्घ र प्रदेश सरकारलाई पर्खिनुपर्ने तथा सङ्घ र प्रदेश र स्थानिय सरकारले पनि त्यस्ता कानुन निर्माण गर्न ढिलाई गर्दा हामीलाई पनि त्यसको असर प¥यो । धेरै किसिमका जटिलता भोग्नुपरेको हो ।तर पनी हामीले ऐन नियम कानुनलाई परिपालना गरि आफ्नो वडाको विकास निर्माणका लागि निरन्तर कार्य जारी छ ।
(३)तपाईले चुनावमा गरेका घोषणाहरु पुरा गर्नुभयो जस्तो लाग्छ ?
समयमा सङ्घ र प्रदेश र नगरपालिकाले कानुन निर्माण नगर्दा केही बाधा सिर्जना भयो । स्थानीय भौगोलिक, सामाजिक, व्यवहारिक जटिलताका कारण पनि समस्या सिर्जना भएका छन । यसले गर्दा चाहेअनुसार कार्यसम्पादन गर्न नपाएको तितो सत्य छर्लङ्गै छ । तर पनि निर्वाचन ताका हामी र हाम्रो पार्टीले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास भइरहेको छन् । जनताका बीचमा गरेका प्रतिवद्धता पुरा हुने क्रम जारी छ । आफ्नो कार्यकालमा मैले जनताको बीचमा गरेका प्रतिवद्धता पुरा गर्ने लक्ष्य लिएको छु ।
(४) जनता कोरोनाको महमारीबाट पीडित भए, एकातिर रोगको त्रास , अर्काेतिर जीविकोपार्जन सङ्कटमा परेका बेला जनतालाई नजिकको वडा सरकारको तर्फबाट अनुभूति दिन कति सफल हुनुभयो ?
यस वडा कार्यालयले विश्व स्वास्थ्य सङ्गठन र राज्यका तीनै तहका सरकारले अङ्गालेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै रोकथामका लागि पहल गरेको थियो । यस क्रममा वडा कार्यालय सँग रहेको सिमित स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्ने, वडा भित्र सम्पूर्ण जनतालाई कोरोनाका बारेमा जनचेतना दिने , वडा कार्यालय भित्र रहेका स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति लाई परिचालन गरि महामारीबाट प्रभावित अति विपन्न समुदाय तथा व्यक्तिलाई तेस्रो पटक सम्म राहत बाँड्ने,मास्क सेनेटाइजर वितरण जस्ता कार्य विशेष प्राथमिकताका साथ सञ्चालन गरेका थियौ । यसरी एक्कासी नेपालमा भित्रिएको कोरोना भाइरस रोकथामका लागि वडा कार्यालयमा क्वारेन्टाइन निर्माण गरी जिल्ला बाहिर वा देश बाहिर गएका आफ्ना नागरिकहरुलाई व्यवस्थापन गर्ने कार्यलाई तिव्र पारेका थियौँ । सम्वभत् लाग्छ हामीले हामीसंग भएको जनशक्ती र हामीसंग भएको आर्थिक बजेट अनुसार काम गर्न सफल भएका थियौँ ।
(५) वडा नं. ५को समग्र विकासमा तपाईँले दिनुभएका प्राथमिकता के के हुन् ?
यस वडा नं. ५ को मुख्य प्राथमिकता भनेको स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, सूचना प्रविधि नै रहेका छन । यसबाहेक विगत वर्षदेखि नै कृषि क्षेत्रमा वडालाई व्यावसायिक कृषिमा आवद्ध बनाई आर्थिक रुपान्तरणमा टेवा पु¥याउने लक्ष्य पनि हामीले राखेका छौँ ।
(६) स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधीहरुको सम्वन्ध राम्रो नहुँदा काम कारवाहीमा समस्या भइरहन्छ भन्ने गुनासो आइरहन्छ तपाईको वडामा अवस्था कस्तो छ ?
प्रश्नका लागि धन्यवाद । कर्मचारी र जनप्रतिनिधीहरुको मिलन भएन भने वडा कार्यालय संचालन देखी वडा भित्र गर्नुपर्ने सम्र्पूण कामकारवाहीहरु ओझेलमा पर्छन् । जनताको भावना र मागअनुसार काम गर्न सकिदैन् । हाम्रो वडामा अहिले सम्म कर्मचारी र जनप्रतिनिधीहरु बीचको सम्वन्ध समधुर नै छ । वडा कार्यालयमा गर्नुपर्ने सम्पूर्ण निर्णयदेखी साना देखी ठूला कामहरुमा हामीले कर्मचारी र हामीबीच सल्लाह, सुझाब लिने दिने गरेका छौँ । वडा नं.५ मा कर्मचारी र जनप्रतिनिधी बीच कुनै समस्या हिजो पनी थिएन आज पनी छैन् ।
(७)जनप्रतिनिधिका काम गराइबाट नागरिक कतिको सन्तुष्ट भएको पाउनुभएको छ ?
यस अवधिमा हाम्रा कामबाट सन्तुष्ट नै भएको अनुभव गरेका छौँ । विकास निर्माणका अधिकांश काम उपभोक्ता समितिले गरेका छन् । सो काम जनता आफैँले गरेकाले सन्तुष्ट भएको पाइएको छ । नगरपालिबाट बिनियोजित बजेटको व्यवस्थापन, सुशासन र आवश्यक समन्वय गर्ने हो, काम त जनता आफैँले गर्ने हो ।
(८) अबको डेढ वर्षमा यहाँहरूले गर्नुपर्ने काम के–के हो ?
जनप्रतिनिधीको ५ वर्षे कार्यकालको समय अब डेढ बर्ष मात्र बाँकी छ । आधा समय भन्दा बढि समय गइसकेको छ । बजेट अभावका कारण हामीले बनाएको योजना अनुसार कतिपय विकास निर्माणका कामहरु बाँकी छन् । जनताको माग धेरै छन् तर पनि हामीले पहिलो प्राथमिकतामा के आवश्यक छ दोश्रो आवश्यकता के छ यसरी हामीले वार्षिक रणनैतिक योजना अनुसार काम हरु गर्दै आएका छौँ । अबको डेढ वर्षको समयअवधीमा बाँकी रहेका भौतिक संरचना निर्माण गर्ने, कृषि क्षेत्र ,रोजगारीको समस्या लगायतका क्षेत्रहरुमा काम गर्ने सोच बनाएका छौँ । त्यससँगै स्थानीयको माग र चाहना अनुसार नियमित काम गर्नुपर्ने छ । सुशासन, पारदर्शिता र जवाफदेहिता प्रदान गर्ने काममा हामी निरन्तर सक्रिय भएर लागेका छौँ, अबको बाँकी समयमा पनि हामी सक्रिय भएर समयमा आफुले गरेका प्रतिवद्धताहरु पुरा गरेर छाडने छु । धन्यवाद ।