बाँकेको कोहलपुरमा रहेका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाका १३ औं क्रिसा स्थापना दिवसको अवसरमा भोलि म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । क्रिसाले यस वर्ष कोरोना भाईरसको जोखिमलाई ध्यान दिएर १३ औं क्रिसा स्थापना दिवसमा म्याराथुन दौड र १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । क्रिसाको १३ औं स्थापना दिवसको अवसरमा आज कोहलपुरमा छात्र तर्फको पाँच हजार मिटर म्याराथुन दौड र छात्रा तर्फ तीन हजार म्याराथुन दौड प्रतियोगिता हुने क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले जानकारी दिएका छन् । कोहलपुरमा बुधबार पत्रकार सम्मेलनमार्फत क्रिसाले कोरोना भाईरसका विरुद्ध छात्र तर्फ पाँच हजार मिटर दौड र छात्रा तर्फ तीन हजार मिटर म्याराथुन दौड प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । कोहलपुरको हवल्दापुरदेखि कोहलपुरका न्यूरोडसम्म म्याराथुन दौड हुने भएको छ । कोहलपुर क्षेत्रको शैक्षिक विकास, क्रिसा गतिविधि र संस्थागत विद्यालयहरुसँग सम्बन्धित भएर समाचार लेखेका पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष डाँगिले बताएका छन् । साथै क्रिसाले १२ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता पनि यहि माघ २४, २५ र २६ गते गर्ने भएको छ । क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा १८ वर्ष मुनिका छात्र र छात्रा तर्फको भलिबल, १२ वर्ष मुनिका छात्र र छात्रा तर्फको फोर ए साईड फुटबलका खेलहरु समावेश गरिने भएको छ । कोरोना भाईरसका कारण अन्य विद्याका कुनै पनि खेलहरु समावेश नगरी दुई वटा मात्र खेलहरु संचालन गर्ने निर्णय क्रिसाले गरेको छ । साथै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मापदण्ड अनुसार उक्त खेलहरु सञ्चालन हुने उनले बताएका
छन् ।