बाँकेमा तरुण दल अध्यक्ष केसीमाथि युवा संघको आक्रमण

दोषीलाई कारबाही नगरे कडा आन्दोलनको चेतावनी


पिपलबाेट संवाददाता


नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुलबहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।

युवा संघ राप्तीसोनारी अध्यक्ष समेत रहेका “समीर” भनिने सरोज विस्टको नेतृत्वमा आएका सनम भनिने सन्दिप विस्ट, सुनिल परियार, दिलिप डांँगीसहित ८/९ जनाको समुहले आक्रमण गरेको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित आफ्नै गाउँमा आफन्तको जन्मदिन कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा गएराती पौने ११ बजेतिर आफुमाथि आक्रमण भएको केसीले बताएका छन् ।

आफुमाथि एक्कासी आक्रमण भएको र आक्रमण गर्नुको कारण थाहा नभएको उनले बताए । सो समुहले प्रहार गरेको दाउराले शरीरमा भित्री चोट लागेको र आफू भागेर ज्यान जोगाउन सफल भएको घाइते केसीको भनाई छ । घटना सार्बजनिक गरेमा बाबु र छोराको ज्यान लिने धम्की समेत दिएको घाइते केसीले बताए । केसीलाई छुटाउन गएका स्थानीय टिकाराम ओलीलाई समेत उक्त समूहले निर्घात कुटेको बताइएको छ ।

आक्रमणमा सम्लग्न व्यक्ति फरार रहेको र उनीहरूलाई स्थानीय प्रहरीले नै भगाएको तरुण दलको आरोप छ । उक्त समूहले राप्ती सोनारी क्षेत्रबाट काट तस्करीका साथै नदी तथा खोलामा आफ्नो रजाइँ गर्दै आएको छ । अबैध कार्यको बिरोध गर्ने ब्यक्तिलाई उनीहरूले पटक-पटक कुटपिट, आक्रमण तथा धम्की दिने गरेका छन् । समिरका विरुद्ध यसअघि प्रहरी कार्यालयमा तीन/चार वटा मुद्दा दर्ता भसकेका छन । घाइते केसीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

यता राप्ती सोनारी तरुण दल अध्यक्षमाथी भएको आक्रमणको नेपाल तरुण बाँकेले घोर निन्दा गरेको छ। तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले तत्काल दोषीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने पर्ने बताएका छन् ।

यो घटनालाई लिएर प्रहरीले गम्भीरताका साथ हेरी दोषीलाई कडा कारबाहीको कदम चाल्नै पर्छ, यदि प्रहरीले यो घटनाका दोषीलाई पक्राउ नगरेमा कडा आन्दोलन गरिने अध्यक्ष शाहले चेतावनी दिएका छन् ।

प्रहरी चौकी कचनापुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक हुमबहादुर बिकले आक्रमणमा सम्लग्न व्यक्तिहरु पत्ता नलागेको बताएका छन् । यस बारेमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको बिकले जानकारी दिएका छन् ।

१७ माघ २०७७ मा प्रकाशित
Nabintech