बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको शिलान्यास

पिपलबाेट संवाददाता


बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाले बनाउन लागेको भवनको अध्यक्ष इश्तियाक अहमद शाहले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।

भवन निर्माणको ठेक्का सद्भाव निर्माण सेवा राप्तीसोनारी ४ ले पाएको छ । वडा नम्बर ४ खोदवाँमा भ्याटसहित १८ लाख ४२ हजार ६ सय ४८ रुपैयाँ चार पैसा लागतमा भवन निर्माण हुने गाउँपालिकाले जनाएको छ । आगामी जेठ १५ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तराई दलित विकास मञ्च बाँकेका अध्यक्ष मोलेह आर्यको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष शाहको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

 

शिलान्यास कार्यक्रममा अध्यक्ष शाहले दलितको विकास र उत्थानका लागि गाउँपालिका सदैव तत्पर रहने बताउनुभयो । गाउँपालिकाका योजना प्रमुख विजयकुमार यादवले दलितको इतिहासबारे बोल्दै उनीहरुको सम्मान र अवसरका लागि मार्ग प्रशस्त गर्नुुपर्ने धारणा राख्नुभयो । कार्यक्रमा दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विके, दलित एकता संजाल नरैनापुरका अध्यक्ष नरेश चमार, दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवी लगायतले बोल्नुभएको थियो ।

 

१७ माघ २०७७ मा प्रकाशित
Nabintech