कोहलपुर नगरपालिकाको आठौं नगरसभा सुरु, विभिन्न विद्येयकहरु पेश

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको आठौं नगरसभा आईतबारबाट सुरु भएको छ । कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले सभाको उद्घाटन गरेका छन् । आईतबारदेखि सुरु भएको आठौं नगरसभामा कोहलपुर नगरपालिकाका विद्येयक समितिका संयोजक भिम बहादुर नेपालीले विभिन्ने विद्येयकहरु सभामा पेश गरेका छन् । विद्येयक समितिका संयोजक नेपालीले नगर प्रहरी विद्येयक २०७७, जलस्रोत उपयोग विद्येयक २०७७, बेरोजगारहरुको तथ्याङ्क संकलन विद्येयक २०७७, अपाङ्गता सम्बन्धि विद्येयक २०७७ र पूर्वाधार विकास विद्येयक २०७७ सभामा पेश गरेका छन् । सभामा पेश भएका विद्येयकहरु माथि छलफल गरी माघ २४ गते बस्ने नगरसभाबाट पारित हुने संयोजक नेपालीले बताएका छन् । नगरसभामा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरको समृद्धि र विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह गर्दै कोहलपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । साथै उनले स्थानिय सरकारले जनताको भावना अनुसार काम गरिरहेको जानकारी दिँदै संघियताको मर्म अनुसार स्थानिय सरकारका काम भईरहेको बताएका छन् । सभामा बोल्दै नगरसभाषद् गोपि खनाल, कर्ण बहादुर थापा, दयाराम बिकले कोहलपुर नगरपालिकाभित्र भएका विकासका कार्यलाई निरन्तरता दिँदै कोहलपुरलाई नेपालकै नमूना शहरका रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । सभामा बोल्दै निम बहादुर चलाउने ‘निरज’ले कोहलपुरलाई महानगरपालिका नभएर उपमहानगरपालिका बनाउनुपर्ने भन्दै कोहलपुर विकासको तिव्र गतिमा अगाडि बढिरहेको र नेपालकै नमूना शहर हुने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिका भित्र देखिएको बेरुजुलाई कम गर्नका लागि विशेष नीति लिन आवश्यक रहेको पनि बताएका छन् । सभाका सभाषद् पतिराम थारुले वडा स्तरबाट आएका योजनाहरुलाई नगरसभाले विशेष ख्याल गर्नुपर्ने भन्दै वडाबाट आएका योजनाहरुलाई बजेट छुट्याउन माग समेत गरेका छन् । कोहलपुर नगरपालिकाको आठौं नगरसभा पुन माघ २४ गते सस्ने गरी नगरप्रमुख लुट बहादुर रावतले स्थगित गरेका छन् ।

१८ माघ २०७७ मा प्रकाशित
Nabintech