कोहलपुर नगरको आठौं नगरसभा,भूमि व्यवस्था लगायतका शीषर्कका लागि ३ करोड रकमान्तरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ । माघ १८ गतेदेखि सुरु भएको कोहलपुर नगरसभा तीन दिन अर्थात माघ१८, २५ र २७ गते बसेर मंगलबार सम्पन्न भएको छ । आठौं नगरसभामा कोहलपुर नगरपालिकाका विद्येयक समितिका संयोजक भिम बहादुर नेपालीले नगरसभामा पेश गरेका नगर प्रहरी विद्येयक २०७७, जलस्रोत उपयोग विद्येयक २०७७, बेरोजगारहरुको तथ्याङ्क संकलन विद्येयक २०७७, अपाङ्गता सम्बन्धि विद्येयक २०७७ र पूर्वाधार विकास विद्येयक २०७७ पारित भएका छन् भने नगर सभाध्यक्ष लुट बहादुर रावतले नगरसभामा पेश गरेका बाल संरक्षण नीति २०७७, स्वास्थ्य नीति २०७७ र अपाङ्गता नीति २०७७ संशोधन सहित पारित भएका छन् । त्यस्तै नगरसभाले भूमि व्यवस्थापन लगायतका अन्य शीर्षकहरुका लागि तीन करोड बजेट रकमान्तरण गरेको छ । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८को कुल बजेट १ अर्ब २५ करोड रहेकोमा तीन करोड रकम रकामान्तर गरिएको कोहलपुर नगरपालिकाकी नगरप्रमुख सन्जु कुमारी चौधरीले बताएकी छिन् । कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रममा तय गरिएको बजेटमा केहि योजनाहरुका लागि रकम अपुग भएका कारण यो योजनाहरु सम्पन्न गर्नका लागि बजेट रकमान्तरण गरिएको उपप्रमुख थारुले बताईन् । कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारलले नगरसभामा सुकम्बासी समस्या समाधान र भूमि व्यवस्थापनका लागि ६० लाख, स्वास्थ्यकर्मीलाई तलब भत्ता ४० लाख ५० हजार, नगरभित्रका नयाँ शिक्षकहरुलाई छ लाख, बालविकास केन्द्रका शिक्षकहरुलाई माघदेखि सुरु हुने गरी प्रत्येक महिनामा थप एक हजारका दरले ४ लाख ८६ हजार, सिद्धार्थ मावि रेझनाको भवन निर्माणका लागि २८ लाख, नेरा मावि खड्कवारको झयल, ढोका र रङ्गरोगनका लागि चार लाख, वडा नं. ६ मा पक्कि सडकको वाल निर्माणका लागि १० लाख, सरस्वती मावि पिपिरीका लागि ३० लाख लगायत अन्य विभिन्न शिर्षकमा आवश्यक पर्ने तीन करोड बजेट रकमान्तरण गर्नका लागि नगरसभामा पेश गरेका थिए । सो रकम रकमान्तरण गर्नका लागि विभिन्न शिर्षकबाट कटौती गर्नुपर्ने सुझाब उनले दिएका छन् । सभामा बोल्दै नगरसभाषद् दयाराम बिकले कोहलपुर नगरपालिकामा रहेको कोरोना कोषको बजेट कटौती गर्न नहुनु भन्दै भूमि व्यवस्थानका लागि विशेष ध्यान दिनुपर्ने बताएका छन् । सभामा बोल्दै निम बहादुर चलाउने ‘निरज’ले कोहलपुरलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट व्यवस्थापन गर्न सुझाव दिँदै कोहलपुर नगरपालिकाका दिर्घकालिन योजनाहरुलाई बजेट छुट्याउन सुझाव दिएका छन् । सभामा बोल्दै दिपकजंग शाहले कोहलपुर नगरपालिका वडा नं. ७को वडा कार्यालयको मैदान निर्माणका लागि आवश्यक बजेटको माग गरेका थिए भने वडा नं. ७ मा नयाँ उद्योगहरु संचालनमा आईरहेकाले सो ठाउँमा सडक निर्माणकाका लागि बजेट छुट्याउन माग गरेका छन् । सभामा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नायारणि वलीले कोहलपुर नगरभित्रको भौतिक विकाससँगै मानविय विकासका लागि लक्षित वर्गको बजेटलाई थप गर्नुपर्ने बताईन् । नगरसभाको समापन गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरको समृद्धि र विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह गर्दै कोहलपुरलाई आर्थिक हबका रुपमा विकास गर्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिकाको आठौं नगरसभा माघ १८ गते देखि सुरु भएको थियो ।

२७ माघ २०७७ मा प्रकाशित
Nabintech