इन्टरनेटको उपयोग व्यापक बढेपछि यसको सुरक्षित प्रयोगमा ध्यान नदिँदा ठुलो जोखिम निम्तने एक कार्यक्रमका सहभागिहरुले बताएका छन । सहभागिहरुले इन्टरनेटको सुरक्षित प्रयोगका लागि व्यापक जनचेतना र उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिएका थिए । सुरक्षित इन्टरनेट दिवसको अवसरमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र डिजिटल राइट्स नेपालको संयुक्त आयोजनामा आज नेपालगन्जमा भएको छलफलका सहभागिहरुले पछिल्लो समयमा इन्टरनेटको प्रयोगकर्ता बढे पनि इन्टरनेट सुरक्षाका बारेमा प्राविधिक ज्ञान तथा जानकारीको अभावमा सामाजिक सञ्जालको दुरुपयोग लगायतका साइवर अपराधमा वृद्धि भएको बताएका थिए । छलफलमा साइवर कानून तथा प्रविधि अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल डिजिटल राइट्स नेपालका अध्यक्ष अधिबक्ता सन्तोष सिग्देलले इन्टरनेटसँग जोडिएका कानूनी प्रावधानहरु, इन्टरनेटको असुरक्षित प्रयोगले हुनसक्ने जोखिम तथा खतराहरु तथा सुरक्षित प्रयोगका लागि अपनाउनुपर्ने सावधानी लगायतका बारेमा जानकारी गराउनुभएको थियो । नेपालगन्ज वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक डिल्ली बहादुर खडकाले पछिल्लो समयमा विभिन्न किसिमका साइबर अपराधहरु बढदै गएकाले प्रयोगकर्ताहरु इन्टरनेटको सुरक्षित प्रयोगप्रति ध्यान दिनुपर्ने बताएका छन् । उनले आम नागरिक प्रयोगकर्ताहरुले यसको प्रयोग तथा सर्तकताबारे अनुभव सुनाउदै साइबर सुरक्षा सचेतना अभियानमा नेपाल प्रहरीले पनि सहकार्य गर्ने प्रतिबद्धता गरे । छलफलमा अधिकारकर्मी अधिबक्ता बसन्त गौतमले सामाजिक सञ्जालसंग जोडिएका कानूनी प्रावधानहरुको बारेमा सचेतनाको अभाव भएको भन्दै सोसंग सम्वन्धित बालविज्याँइका घटनाहरु पनि बढदै गएको बताए । कार्यक्रममा वरिष्ठ अधिबक्ता इन्द्रजित तिवारी, अधिबक्ताहरु विश्वजित तिवारी, दिपक बहादुर सिंह, उदयराज बर्मा, इन्जिनियर किरणबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँके सदस्य सुर्यलाल यादव, पत्रकार राकेशकुमार मिश्र, बालअधिकारकर्मी साहिल अन्सारी लगायतले साइबर सुरक्षा सम्वन्धी जनचेतनाको आवश्यकता तथा महत्वका बारेमा भन्दै यसबारेको अभियान संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।