दोषिलाई कारवाहीको माग गर्दै नेविसंघद्धारा कोहलपुरमा विरोध प्रर्दशन

पिपलबाेट संवाददाता


बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कारपछि हत्या गरिएको घटनाका दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पस ईकाई कार्य समितिले विरोध प्रर्दशन गरेको छ । भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषिलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग सहित नेविसंघले बागेश्वरी क्याम्पसबाट सुरु गरेको विरोध ¥याली न्यूरोड, साँझ चोक हुँदै क्याम्पस गेटमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले प्रतिनिधि सभा विघटन गरी कम्युनिष्टहरु कोहि सरकार र कोहि सडकमा आएको बताउँदै सरकार वा सडकका कुनै पनि कम्युनिष्टले भागरथी भट्ट माथि भएको अत्याचारका विरुद्ध आवाज नउठाउने बताएका छन् । साथै बलत्कारपछि हत्या गरिएकी भट्टको न्यायका लागि नेविसंघ सडकमा आएको बताउँदै दोषिलाई सार्वजनिक गरि कारवाही नगरे कडा आन्दोलन गर्ने प्रतिवद्धता जनाएका छन् । साथै उनले नेपालमा दैनिक छ जना महिला बलत्कारका घटनाहरु घटिरहेको अवस्थामा सरकारले बलत्कारीहरुलाई संरक्षण गरिरहेको बताएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले हत्याहिंसा बलत्कारका घटनामा संलग्नलाई बालुवाटारमा संरक्षण गरिरहेको पनि उनले बताएका छन् ।
कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ बागेश्वरी क्याम्पसका ईकाई सभापति राम प्रसाद पाण्डेले बलत्कारीहरुलाई संरक्षण गर्ने सरकारलाई नेविसंघले सडकमा ल्याउने बताउँदै बलत्कारका घटनामा संलग्नलाई फाँसिको व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन सुझाव समेत दिएका छन् । साथै उनले भागरथी भट्टको हत्या प्रकरणका दोषिलाई तत्काल कारवाही नगरे नेविसंघले त्यसको जवाफ सडकबाट दिने बताएका छन् । कार्यक्रममा बागेश्वरी क्याम्पस र न्यू बागेश्वरी क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

२९ माघ २०७७ मा प्रकाशित
Nabintech