दुःख, सुखको सारथि बन्न सकोस् ‘रेडियो’ सबैलाई शुभकामना

साबित्री गिरी


रेडियो अथवा पत्रकारिताको काम नै आवाजविहीनलाई आवाज दिने हो । नेपाल जस्तो भौगोलिक विकटता रहेका देशका कुनाकाप्चाको आवाज सिंहदरबारसम्म पुग्न नसक्ने भएकाले यी क्षेत्रमा दबिएर रहेका र केन्द्रसम्म पुग्न नसकेका आवाजलाई रेडियोले स्थान दिइरहेको छ । यस अर्थमा रेडियोलाई आवाजविहीनहरूको आवाज भन्न सकिन्छ । कतिपय परम्परागत समाजमा महिलाहरूका आवाज दबाइएको हुन्छ । त्यस्तै जनजातिका समस्या एवम् भाषिक अल्पसंख्यकलाई समुदायमा बेवास्ता गर्ने गरेको पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा रेडियोको भूमिका उल्लेखनीय रहेको छ । महिला, युवा र अल्पसंख्यक समूहको सक्रिय सहभागिताबिना कुनै पनि समुदायले सन्तुलित विकास वा परिवर्तन गर्न सक्दैन । त्यसैले रेडियोले यसरी बोल्न नसक्ने कमजोर तथा निमुखाको आवाज बोलिदिनु पर्छ ।

रेडियोको उत्पत्ति/विस्तार

रेडियो प्रसारणको उत्पत्ति र विकासका लागि विश्वका विभिन्न मुलुकका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको लामो प्रयास रहेको छ । रेडियोको नाममा नै नभए पनि यो प्रसारणका लागि अत्यावश्यक प्रविधिको विकासमा स्कट्ल्यान्डका वैज्ञानिक म्याक्सवेलको महत्वपूर्ण हात रहेको छ । म्याक्सवेलले विद्युतीय चुम्बकीय र तंरगहरूको प्रसारण सम्बन्धी अनुसन्धान गरेका हुन् । यसै पृष्ठभूमिमा १९ औं शताब्दीको अन्तिम दशकमा आएर एकजना फ्रान्सेली र अर्का रुसी वैज्ञानिकले रेडियो प्रसारण सम्बन्धी अनुसन्धानमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । रेडियो पिताको उपाधि इटालीका वैज्ञानिक गुग्लिल्मो मार्कोनीलाई नै जान्छ ।

सन् १९१० तिर आइपुग्दा रेडियो उपकरणलाई पानी जहाजमा सूचना दिने माध्यमका रूपमा विकास गरिएको थियो । त्यसपछि सन १९१२ देखि त सर्वसाधारण नागरिकले पनि दस्तुर तिरेर सुन्न पाउने कानुनी व्यवस्था भएको पाइन्छ । रेडियो प्रविधि सहज र सबै प्रकारबाट मितव्ययी साधन भएकाले यसको विकास र विस्तार विश्वमा चाँडै हुन पुग्यो । एक शताब्दीभित्र रेडियो प्रसारणको विकास यति तीव्र रूपमा भयो कि यसले सर्वसाधारणको चेतना र उनीहरूमा जागरण ल्याउने काममा ठूलो योगदान पुर्‍यायो । यसरी विश्वमा भएको रेडियोको तीव्र विकासका बाछिटाहरू प्रतिकूल अवस्था रहँदा रहँदै पनि नेपालसम्म पनि ढिलै भए पनि आइपुग्यो । पछिल्ला दुई दशकमा नेपालमा रेडियो प्रसारणले फड्को मारेको छ । खासगरी २०४६ को दशकपछि यतिबेला व्यक्ति तथा समुदायका हात हातमा पुगको छ । विगतमा रेडियो कार्यक्रममार्फत् जे प्रसारण हुन्थ्यो बाध्य भई त्यसैलाई सुन्नु प¥थ्यो । तर अहिले हामीले रेडियो ब्यान्ड घुमाइ घुमाइ आफूलाई रुचि लाग्ने विषयबस्तु सुन्न सक्छौं । नेपालमा रेडियो सेटको प्रवेश अर्थात् रेडियो प्रविधि घरमा राख्ने काम वि.सं. १९९० तिर मात्रै भएको विज्ञहरू बताउँछन् ।

सुरुमा दरबारमा सीमित रहेको रेडियो सेटपछि विस्तारै राजदरबारमा नजिकका मानिसहरू तथा भारदारहरूले पनि राख्न थाले । नेपालमा श्री ३ जुद्धशमशेरका पालामा नै रेडियो सेटहरू भित्री सकेका थिए । तर राणा परिवारका सदस्यले मात्र रेडियो सेट राख्न पाउने नियम बनाएका थिए । श्री ३ पद्यमशमशेरले सर्वप्रथम म राष्ट्रको नोकर हँु भन्ने अभिव्यक्ति दिँदै वि.सं. २००३ माघ १४ गतेदेखि तत्कालीन बिजुली अड्डा हालको खुलामञ्चबाट रेडियो प्रसारणको अभ्यास सुरु गरेका थिए । सुरुका दिनमा दिउँसो १ बजेदेखि साढे एकबजेसम्म लाउडस्पिकरबाट पहिलो रेडियो आवाज निकालिएको थियो । वि.सं. २००४ सालको फागुन महिनामा पद्यमशमशेर शासनबाट हटे । त्यसपछि उनलाई भारततिर पलायन हुन बाध्य बनाइयो ।

वि.सं. २००७ सालमा नेपाली कांग्रेसले राणा विरोधी क्रान्ति सुरु गरेको थियो । कांग्रेसका मुक्ति सेनाले सुरुमा भोजपुर र त्यसपछि त्यसैलाई विराटनगर ल्याएर क्रान्तिलाई सघाउने खालको रेडियो प्रसारण सुरु गरेका थिए । नेपालले नेपाल नागरिकको सूचना प्राप्तिको एक सशक्त विकल्पका रूपमा काम गरेको थियो । त्यहीँ रेडियोले वि.सं.२०५२ साल कात्तिक ३० गतेदेखि एफएम काठमाण्डौ १०० मेगाहर्जको नामबाट पहिलोपटक एफएमको परीक्षण प्रसारण पनि सुरु ग¥यो । त्यो एफएमपछि निरन्तर भयो र अहिले पनि छ । यसरी रेडियो नेपाल नेपालमा करिब आधा शताब्दीसम्म नै सूचना र सञ्चारको विकल्परहित माध्यमका रूपमा रहेको थियो ।

विश्वमा रेडियो प्रसारणको थालनी भएको अब लगभग सय वर्ष पुग्न लागेको छ, नेपालमै रेडियो प्रसारण रेडियो नेपाल पनि अब सात दशकको उमेरमा लाग्दैछ । देशमा करिब आधा शताब्दी त सरकारी प्रसारणका रूपमा रेडियो नेपाल मात्र सञ्चालनमा रहेको थियो । उता वैकल्पिक रेडियोका रूपमा विकास भएको सामुदायिक रेडियोको प्रसारण पनि विश्वमा छ दशक पार गरिसकेको छ ।

नेपालमा रेडियोको सम्भावना

सूचना तथा सञ्चारको विद्यमान युगमा रेडियोको महत्वपूर्ण योगदान रहेको पाइन्छ । सञ्चार प्रविधिको अत्यन्त सस्तो, सहज र सरल साधनका रूपमा पनि यसलाई लिइन्छ । समाजमा परिवर्तन ल्याउन होस् वा समाजमा सञ्चारका माध्यमबाट शिक्षा तथा चेतना फैलाउनका लागि परिवर्तन ल्याउन होस् वा समाजमा सञ्चारका माध्यमबाट शिक्षा तथा चेतना फैलाउनका लागि रेडियोको महत्वपूर्ण योगदान छ । सञ्चारका विविध आयामहरूको जगका रूपमा खासगरी आजको बहुसञ्चारको प्रारम्भ विन्दुका रूपमा रेडियोको भूमिका अहम् रहेको छ । रेडियो सञ्चार प्रविधिको सशक्त माध्यम हो । एक स्थानमा भनिएको विषयवस्तुलाई विद्युतीय तरङ्गका माध्यमबाट विभिन्न क्षेत्रमा प्रसारण गर्ने साधन नै रेडियो हो । रेडियो प्रसारणको करिब सय वर्षको इतिहासमा यो आम नागरिकबीच सूचना सम्प्रेषणको महत्वपूर्ण माध्यम बनिसकेको छ । बोलिएका वा मौखिक कुरालाई एकै समयमा एउटै रूपमा व्यापक क्षेत्रमा फैलाउनाले संयन्त्रका रूपमा रेडियो अहिले मुलुककै सन्दर्भमा आम जनताको पहुँच र उपयोगको साधन बनिसकेको छ । रेडियो स्वयम् प्राविधिक विषयबस्तु हो । क्रमशःयो प्रविधि जस्तो एउटा विषयवस्तुमा मात्र सीमित नभई यसवाट प्रसारित हुने व्यापक विषयबस्तु समेत रेडियो शब्दमै समेटिन थालेको छ । कुन रेडियो राम्रो वा उपयोगी छ भन्नेबारे श्रोतामाझ चल्ने चर्चाहरू रेडियो उपकराण्को ब्रान्ड वा सञ्चालकहरूको समूहसँग सम्बन्धित नभई यसबाट प्रसारित कार्यक्रमलाई बुझेन गरिन्छ । अर्थात् प्रविधिको विषयसहित समग्र प्रसारित वा सुनिने विषयबस्तुलाई पनि रेडियो भन्न थालिएको छ । यसर्थ रेडियोको लोकप्रियता यसको भौतिक पक्षसँग नभई सुनिने विषयबस्तुसँग गाँसिएको छ ।

परम्परागत रूपमा रेडियो माथिबाट तल सञ्चार प्रवाह गर्ने समाजका ठूला अथवा कुलीनहरूको साधनका रूपमा बुझिने गरिन्थ्यो । नेपालको सन्दर्भमा कुरा गर्दा दरबारमा हुने गतिविधि वा कुराहरू जनतामा सुसूचित गर्ने माध्यमका रूपमा रेडियो रहेको थियो ।यो परम्परा लामो समयसम्म कायम रहयो । आर्थिक,भौगोलिक एवम्समाजिक विविधता भएको हाम्रो मुलुकमा रेडियो नै प्रभावकारी आमसञ्चारको माध्यम हो । आम नागरिकबीच आजको जस्तो सूचना तथा शिक्षाको अन्य सरल र सुलभ पहुँच नभइरहेको त्यस पृष्ठभूमिका रेडियो जनताले सिक्ने र जनतालाई सिकाउने लोकप्रिय माध्यम थियो । हाल नेपालमा मात्र नभई संसारभर नै रेडियोका विविध आयामिक तत्वहरू विस्तारित भइरहेका छन् । सर्वसाधारणको सूचना,शिक्षा र मनोरञ्जनको माध्यमका रूपमा यसको महत्व विस्तार भएको छ । नेपाल र नेपालजस्तै अल्पविकसित मुलुकमा शिक्षा,भाषिक तथा सांस्कृतिक उत्थान आदि विकास सम्बन्धी क्रियाकलापको तर्जुमादेखि यसको कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा आर्थिक र सामाजिक उन्नयनको भरपद्रो साधन रेडियो बनेको छ । रेडियोको प्रयोगको अवस्थालाई अझै ससक्त बनाउन निम्न अनुसारका चुनौतीहरू रहेका छन् ।

१. विज्ञापनमा एकरूपता नहुनुः विद्युतीय आमसञ्चार माध्यमका लागि लोककल्याणकारी विज्ञापनको नीति ल्याइएता पनि यसको व्यवहारिक पाटो फितलो छ । यसको लागि बनाईएका नीतिहरूको व्यवहारिक कार्यान्वयन गर्नुृका साथै मिडियाहरूको अनुगमन गरी अवस्था पहिचान गर्नुपर्छ । कुन रेडियोले कस्तो खालको सामाग्री प्रसारण गरी रहेका छन् सो को आधारमा विज्ञापनको नीति बनाइनु पर्छ । कुनै सूचना प्रवाह नगर्ने तर गीतहरू मात्र प्रसारण गर्ने आम नागरिकप्रति जवाफदेही नहुने सञ्चार संस्थालाई जनमुखी बनाउनु पर्छ ।

२. समन्वय र सहकार्यको अभावः अहिले पनि स्थानीय तह ,प्रदेश सरकार र संघीय सरकारबीच सञ्चालित रेडियोलाई कसरी दिगो बनाउने भन्ने विषयमा पहल हुन सकेको छैन । पहुँचका आधारमा मात्र बजेट तथा कार्यक्रमहरू दिने गरेको अवस्था विद्यमान छ । यस्तो परिपाटीमा कमजोर पहुँच भएका रेडियोहरू बन्द हुने अवस्थामा पुगेका छन् भने कति बन्द भइसकेको अवस्था छ । यसमा सुधार ल्याउनको लागि सबै निकाय तथा रेडियोबीच समन्वय र सहकार्य हुन अति आवश्यक छ ।

३. ज्ञान सीप अभिवृद्धिमा कमीः अझै पनि कपितय स्थानमा हेर्ने हो भने रेडियोले दिने विषयबस्तु जनमुखी र जनस्तरले बुझ्ने खालका छैनन् । अंग्रेजी शब्दको प्रयोग धेरै छ । सामान्य व्यक्तिले पनि बुझ्ने खालका भाषा प्रयोग गर्नु पर्ने एकातर्फ छ भने अर्कोतर्फ विषयस्तुको ज्ञानको अभाव छ । जसका कारण रेडियो सुन्ने श्रोता घटिरहेका छन् । रेडियोमा बोल्ने प्रस्तोता भनौं या कार्यक्रम तथा समाचार उत्पादकले रेडियोमा बोली रहँदा त्यस विषयस“ग विज्ञ व्यक्तिले पनि सुनिरहेका छन् भन्ने कुरा बिर्सनु हुँदैन । सोही अनुसारको ज्ञान र सीपको वृद्धि गर्न आवश्यक । अरुको नक्कल गर्ने तर आफूले नया“ विषयबस्तु सृजना नगर्ने परिपाटी बढ्दै गएको छ । यस्तो प्रवृत्तिको अन्त्य गरिनु पर्छ ।
४. बजेटको सीमितताः रेडियोको संख्या उल्लेख्य भएता पनि रेडियो सञ्चालनका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गर्ने बजेटको अभाव छ । जसले गर्दा अधिकांश रेडियोहरू भाडाको घरमा सञ्चालित छन् । दिगो व्यवस्थापन गर्न सकेका छैनन् । बजेटको सीमितता हु“दा रेडियोहरूले सोचे अनुसारका कार्यक्रम तथा विषयबस्तु पस्कन सकेका छैनन् । यस्तो परिस्थितिमा पनि दैनिक १८ घण्टा रेडियो सञ्चालन गर्नुपर्ने बाध्यता रेडियोलाई छ । रेडियो सञ्चालनका यी र यस्ता समस्याहरूलाई स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मिलेर सम्बोधन गर्नुपर्छ । किनभने सुःख र दुःखको साथी रेडियो भएकाले यसको सम्भावना भोलिका दिनमा पनि छ । बाढिपहिरो, हिमपात, भूकम्प, शीतलहर आालागी तथा कोरोना जस्ता महामारीमा रेडियोहरूले सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका छन् । रेडियोको विकास तथा विस्तारका लागि स्थानीय तहहरूले नीति बनाउन आवश्यक छ ।

राष्ट्रिय सञ्चार नीति,२०४९ र राष्ट्रिय प्रसारण ऐन आएपछि रेडियोको संख्यामा उल्लेख्य वृद्धि भएको हो । हाल नेपालमा तीन किसिमका सामुदायिक रेडियोको विस्तार भएको छ । पहिलो गैरसरकारी संस्थाबाट सञ्चालित रेडियो । जस्तैः रेडियो सगरमाथा, रेडियो अर्घाखाची जस्ता अन्य कैंयौ रेडियोहरू । दोस्रोमा सहकारीद्वारा सञ्चालित रेडियो । जस्तैःरेडियो लुम्बिनी, रेडियो मुक्तिनाथ जस्ता रेडियोहरू र तेस्रो स्थानीय निकायद्वारा सञ्चालित रेडियो जस्तैः मेट्रो एफएम, रेडियो मदनपोखरा जस्ता रेडियोहरू । यी मध्ये कुनै कुनै संस्थाहरू रेडियो चलाउनका लागि भनेर स्थापना भएका पनि पाइन्छन् ।

वि.सं. २०७५ भदौसम्मको सञ्चार तथा सूचना मन्त्रालयको तथ्याङ्क हेर्दा ७४० वटा एफएम रेडियाले इजाजत पाएका छन् । यीमध्ये ५ सयवटा एफ एम रेडियोले आफूलाई सामुदायिक रेडियोको रूपमा चिनाएका छन् । नेपालजस्तो भौतिक पूर्वाधारको विकासमा पछि परेको, शिक्षा र नागरिक चेतनास्तर कम रहेको, आर्थिक, सामाजिक अवस्था कमजोर रहेको तथा जातजाति, धर्म, भाषा, वर्ण सम्प्रदाय र संस्कृतिको विविधतायुक्त देशमा रेडियोको सान्दर्भिकता अरु देशको तुलनामा अझ बढी छ भन्न सकिन्छ । हाल नेपालमा सञ्चालनमा रहेका रेडियोले स्थानीय भाषालाई पनि जोड दिएका छन् । ती रेडियोले स्थानीय भाषामा र स्थानीय विषय र खाँचोकै समाचार र कार्यक्रम दिइरहेका छन् । सुरुको तुलनामा यो क्रम अहिले आएर झनै बढ्दो छ । किनभने देश संघीयतामा गएको कारणले गर्दा स्थानीयता क्षेत्रीयतामा मानिसहरू बढी रमाउन थालेका छन् । नेपाल जस्तो गरिबी रहेको अल्पविकसित देशका लागि रेडियोले जनतालाई विकासको मूलधारमा ल्याउन ठूलो भूमिका निर्वाह गरिरहेका छन् । अतः समाजमा ठुला बडाबाट भएका दबाबमा समाजका सर्वसाधारणका आवाजलाई पनि बोलिदिने र उनका गुनासा सुनेर सम्बन्धित निकायमा पु¥याइ दिनु पर्छ । यसका साथै रेडियोले मौलिकता, भाषा र संस्कृतिको सम्वद्र्धन गर्ने काम गरिरहेको छ । रेडियाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेका छन् । राजधानीबासी अथवा राजधानीको सरकारलाई गाउँसम्म र गाउँ नै गाउँले भरिएको नेपाली समाजलाई राजधानीसम्म जोडिदिने अडियो माध्यम निकै प्रभावकारी छ । जनताका समस्या, उनीहरूको अवस्थालाई यसले सरकार या राजधानीमा बस्नेलाई सुनाई दिन्थ्यो । त्यसकारण पनि रेडियो र नेपाली समाजबीचको सम्बन्ध प्रगाढ किसिमको रहेको छ । यसरी रेडियोलाई नेपाली समाजको पुलका रूपमा लिन सकिन्छ । त्यसैले अधिकांश रेडियो बन्द भएको अवस्थामा बन्द हुनुको कारण औँल्याइ सञ्चालन गर्ने वातावरण तय गरिनु पर्छ ।
अन्त्यमा, ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासाथ आज मनाइने १० औं विश्व रेडियो दिवसको शुभकामना ।

१ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech