रेडियोले प्रशारण गर्ने सामग्री र विषयबस्तु समयानुकुल बनाउनुपर्छ

पिपलबाेट संवाददाता


नेपालगन्ज ३० माघ : रेडियोले प्रशारण गर्ने सामग्री र विषयबस्तुलाई समयानुकुल बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । रेडियो शैलीलाई स्रोताको रुची र चाहना अनुरुप परिमार्जन गरेर लैजान सके सान्दर्भिकता अझ बढ्ने उनीहरुको भनाई छ ।

सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राज्ञ सनतकुमार रेग्मीले रेडियो अहिले पनि सशक्त सञ्चार माध्यम भएको बताए ।

 

रेग्मीले रेडियोले समय सापेक्ष आफ्नो शैली बदल्दै स्रोतामुखी हुनुपर्ने आवश्यकता औंल्याए । समाजका हरेक तप्कालाई समेट्ने गरी कार्यक्रम र समाचार उत्पादन हुन सके त्यसले समाजको सही प्रतिनिधित्व गर्ने रेग्मीको भनाई छ । राजनीतिक परिवर्तन र विपतमा रेडियोहरुले खेलेको भूमिका अतुलनीय रहेको रेग्मीले बताए ।

सामुदायिक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले रेडियोका स्रोता घटेको भन्ने भ्रम मात्र रहेको बताउँदै विभिन्न सर्वेक्षणहरुले रेडियोको स्रोता नघटेको उल्लेख गरे । रेडियो सधैं जिवित रहने भन्दै बरिष्ठ उपाध्यक्ष गिरीले रेडियोहरु समुदायका सम्पत्ति भएकाले सबैले जगेर्ना गर्न हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।

गिरीले सरकारको अव्यवहारिक सञ्चार नीति रेडियो विकासको बाधक बनिरहेको टिप्पणी समेत गरे । स्थानीय सरकारहरुले मिडियासंग सम्बन्धित व्यक्तिहरुसंग घनीभूत छलफल गरेर परिपक्व र व्यवहारिक सञ्चार नीति बनाउनुपर्नेमा उनको जोड छ ।

विपतमा रेडियोहरुको महत्व र आवश्यकता अझ बढेर गएको पुष्टि विभिन्न घटनाक्रमले गरिसकेको भन्दै बरिष्ठ उपाध्यक्ष गिरीले रेडियाहरुले पनि आफ्नो आन्तरिक जीवनमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीले ग्रामीण समुदायमा रेडियोको महत्व उस्तै रहेको चर्चा गर्दै सामाजिक सद्भाव अभिबृद्धि र कोरोना महामारीमा रेडियोले खेलेको भूमिका कदरयोग्य रहेको बताईन ।

यस्तै कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले रेडियोलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै मिडिया नीति बनाएर मिडियाको विकास गर्ने गरी काम अन्तिम चरणमा पुगेको बताईन् ।

राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीले मिडियाले विपतमा राम्रो भूमिका खेलेको बताउँदै स्थानीय सरकार र मिडियाबीच अझ गहिरो सहकार्य हुनुनपर्नेमा जोड दिइन् । मिडियाका लागि स्थानीय सरकारले बजेट बढाउनुपर्ने उनको धारणा छ ।

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्यले रेडियोको दिगो विकासका लागि सबै गम्भीर बन्नुपर्ने बताउँदै संख्यात्मक बृद्धि भएपनि गुणात्मकतामा ध्यान पुग्न नसकेको टिप्पणी गरे । यस्तै नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले विपत, महामारी र राजनीतिक परिवर्तनहरुमा रेडियोहरुले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

सामुदायिक रेडियो प्रशारक संघका लुम्विनी प्रदेस सदस्य चेतकान्त भट्टराईले समुदायमा रेडियोले अतुलनिय काम गरेतापनि अहिले स्थानिय सरकारले रेडियोहरुको कामको मुल्याङ्कन गर्ने नसकेको वताए । स्थानिय सरकारहरुले संचार विधेक तथा निति वनाउदा समेत रेडियो कर्म संचार कर्मिहरु संग एक पटक समेत छलफल नगरेर ल्याएको हुदा कार्यन्वयन हुन नसकेको वताए ।

अन्तरक्रिया कार्यक्रमको छलफल शत्रमा बरिष्ठ सञ्चारकर्मी कमल विके निर्मोही, रेडियो गुर्बावाकी स्टेशन म्यानेजर पुष्पा चौधरी, भुवरभवानीकी स्टेशन म्यानेजर विमला चौधरी, कृष्णसारकी सावित्री गिरी, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, डेक नेपालका जीवन गिरी, पत्रकारहरु गोविन्द आचार्य, प्रियास्मृति ढकाल, कमल खत्री, मधु पौडेल, जिल्ला बाल क्लब सञ्जाल बाँकेकी अध्यक्ष मेनका रावतले रेडियोको महत्व, आवश्यकता र सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखेका थिए ।

सामुदायिक रेडियो प्रशारण संघ लुम्बिनी प्रदेश कमिटि अध्यक्ष केपी घिमिरेको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष भुवनसिंह सुनार, प्रदेश कमिटि सदस्य ईन्द्र प्रसाद श्रेष्ठ गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले विपत् र महामारीमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै आउँदा दिनहरुमा पनि समाजको भावनालाई सम्बोधन गर्दै समय सापेक्ष हुनुपर्नेमा जोड दिएका छन् ।कार्यक्रम संचालन सामुदायिक रेडियो प्रशारक संघ जिल्ला अध्यक्ष आरिफ अन्सारीले संचालन गरेका थिए ।

दशौं विश्व रेडियो दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो । हरेक वर्षको फेब्रुअरी १३ तारिखमा मनाइने विश्व रेडियो दिवसको यस वर्षको नारा ‘नयाँ विश्वःनयाँ रेडियो’ रहेको छ ।

 

 

१ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech