प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेशद्वारा शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गदै उनले संविधानसम्मत र विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताए । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र हुन थालेपछि आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको उनले स्पष्ट पारे ।
‘‘संविधानविपरीत होइन, बिल्कुल संविधानसम्मत ढंगले विघटन भएको छ । म लगभग दुईतिहाइ अर्थात ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले विघटन गरेपछि अर्को कुनै विकल्प छैन । मलाई चलाउन नदिएपपछि, मैले चलाउ नसक्ने अवस्था भएपछि र देश अस्थिरतातर्फ धकेलिने अवस्था भएपछि मैले संसद् विघटन गरेँ । काम गर्न नदिने, अस्थिरतातर्फ लाने, लोकतान्त्रिक प्रणाली र प्रक्रिया चल्न नदिने, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियातर्फ देशलाई धकेल्ने, ती प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले, मैले बहुमतको प्रधानमन्त्रीको हिसाबले संसद् विघटन गर्नुपर्यो । र, त्यो संविधानसम्मत छ,’’ उनले भने, ‘‘संविधानको धारा ७६ १ अन्तर्गतको सरकारले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम विघटन गरिएको हो । धारा ८५ ले भनेअनुसार विघटन गरेको हो । प्रधानमन्त्रीको विशेषाधिकारको प्रयोग गरेर विघटन गरेको हो । त्यसकारण यो संविधानसम्मत छैन भन्ने कुरा निरर्थक छ ।”
अदालतलाई दबाब दिने अनेक प्रकारका काम भएको भन्दै उनले अदालतले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने छैन भन्ने विश्वास आफूले लिएको बताए । उनले भने, “देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मैले विश्वास लिएको छु । अस्थिरतातर्फ देशलाई फर्किन दिनु हुँदैन । अब कुनै पार्टीको बहुमत रहँदैन, यसपछि यदि संसद् पुनःस्थाना हुने हो भने । बहुमत नरहेपछि किनबेच, मोलतोल सुरु हुने, अनुचित समीकरण सुरु हुने, बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिने काम हुन्छ । त्यसैले अब अलमलिने होइन, सोझै जनतामा जनादेशका लागि जानुपर्छ ।”
बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने
प्रचण्डले विगतमा सर्वसाधरणलाई अनेक सपना देखाएर, झुक्याएर सत्तामा जाने भर्याङ बनाएको भन्दै उनले आफूलाई लोकप्रिय छौँ भन्नेहरुले चुनावमा जान किन डराएको ? भनी प्रश्न गरे । उनले आफूहरुले निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत प्राप्त गर्ने दाबी गरे ।
“यदि, कसैलाई आफू लोकप्रिय छौँ भन्ने लाग्छ भने जनमतमा आउनुहोस् । माछे हेर्ने मात्रै किन ? गनौँला नि । बाकसबाट मतपत्रै निकालेर गनौँला नि । कसको समर्थनमा कति भन्ने ? ५० लाख हामी समानुपातिक मत ल्याउँछौँ, घटाएर देखाउनुहोस् न त्यो मत । हामी प्रत्यक्षतर्फ बहुमत सिट ल्याउँछौँ घटाएर देखाउनुहोस् न । किन आत्तिनुभएको चुनावबाट ?,” उनले भने ।
आफूले दलहरु आन्दोलित र विभाजित भएको बेला ५० वर्षभन्दा अगाडि एकतारे एकीकरणको अभियान सुरु गरेको र तीन वर्षअगाडि माओवादी केन्द्र र एमालेलाई मिलाएर एउटा सशक्त कम्युनिस्ट पार्टी बनाउने अगुवाई गरेको स्मरण गर्दै देश बनाउने नभई आफू बन्ने उद्देश्य बोकेकाहरुले काम गर्न नदिएको प्रधानमन्त्रीको भनाइ थियो । देश बनाउन र स्वाभिमान उठाउन नेपालको नक्सा प्रकाशित गर्ने नेतृत्व गरेपछि आफ्नाविरोधीहरु आत्तिएको र आफूलाई प्रधानमन्त्रीबाट हट्नुपर्यो भनेको जिकिर गरे ।
पार्टी नफुटेको र फुट्दैन भन्ने कुरा सभाहरुमा हुने उपस्थितिले देखाएको भन्दै उनले आफ्नो व्यक्तिगत स्वार्थ, गुटबन्दी गर्ने, उद्देश्य नमिलेका र देश बनाउने सपना नबोकेका, सम्मृद्धि र देश बनाउने उद्देश्यलाई अस्वीकार गर्ने तत्वहरु मात्रै बाहिरिएको बताए । प्रचण्ड–नेपाल समूहले विगतमा पार्टीभित्र बसेर गाली गरेको, रेडियो, टीभीमा गएर मनपरी बोलेको र अहिले पार्टी बाहिर गएर मनपरी बोलेको उनको भनाइ थियो ।
पार्टी शुद्धीकरण गर्नुपर्ने आवश्यकता परिरहेका बेला प्रचण्ड–नेपाल समूह बाहिर गएर शुद्धीकरणका लागि ढोका खोलेको उनले उल्लेख गरे । उनले अब पार्टी शुद्धीकरण भई अनुशासित र गतिशील ढंगले पार्टी अघि बढेको दाबी गरे । केही मानिस पार्टी छोडेर गएको र कठैबरा भन्नुपर्ने मानिसहरु नगएको जिकिर पनि उनले गरे ।
प्रधानमन्त्री ओलीले जनसभागिता र जनसभा हेर्न बुटवल आउन प्रचण्डलाई आग्रह गर । उनले भने, “तीन दिनअगाडि मात्रै देशभरिबाट मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि मान्छे हेर्न ‘जनसहभागिता हेर्न यहाँ आउ केपी ओली’ भनेर मलाई केही मान्छेहरुले भनेका थिए । आज म देशभरिको होइन, लुम्बिनी प्रदेशको यो बुटवलको सभा हेर्न आउनका लागि आग्रह गर्न चााहन्छु । आउनुहोस्, जनसहभागिता कस्तो हुन्छ ।”
बलात्कारीलाई नछोडिने
प्रधानमन्त्री ओलीले निर्मला पन्त, भागरथी भट्टका बलात्कार र हत्यामा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने बताए । उनले ढिलै भए पनि सबै घटनाका दोषी, अपराधीलाई सरकारले पक्राउ गर्ने आवश्वासन दिए ।
गाली पुराण
प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा गरेको सभालाई उनले गाली पुराणको संज्ञा दिए । सो सभामा केपी ओलीलाई धपाउने भन्दै सबै वक्ताले लाइन लागेर गाली पुराण चलाएको उनको भनाइ थियो । गाली पुराण खण्ड १ देखि १७ वटा गाली पुराणका खण्ड सुनाएको उनले उल्लेख गरे । आफूले प्रचण्ड–नेपाल समूहसँग कुनै प्रतिस्पर्धा गर्नु नरहेको पनि ओलीले बताए । उनले भने, ‘‘उनीहरुसँग कुनै प्रतिस्पर्धा गर्नु छैन । उनीहरुसँग विचार मिल्दैन । सिद्धान्त मिल्दैन । उनीहरु आफ्नालाई भलो गर्न चाहन्छन् । शासनसत्ता कब्जा गर्न चाहन्छन् । हामी देश र जनताको भलो गर्न चाहन्छौँ ।”
सूर्य चिह्नको विवाद आवश्यक छैन
प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सूर्य चिह्नबाहेक अरु चिह्नबाट नलडेको र आफूहरुले नै दर्ता गराएको भएकाले सूर्य चिह्न कसको भन्नेमा विवाद गर्नु नपर्ने दाबी गरे । २०४७ सालपछि निर्वाचन आयोगमा सूर्य चिह्न दर्ता गराउने आफूहरु नै भएको र प्रचण्डले जीवनमा एकपटक पनि सूर्य चिह्नबाट चुनाव नलडेको भन्दै उनले कुन आधिकारिक भन्ने छलफल गरिरहनुपर्ने विषय नभएको बताए । उनले आक्रोश, आवेश र रिसरागबाट सञ्चालित नभई देश बनाउन हिँडेकाले आफूहरुले जित्ने दाबी गरे ।
लालकिल्ला
उनले प्रचण्ड–नेपाल समूहको उद्देश्य देश बिगार्ने रहेको आरोप लगाए । विगतमा प्रचण्डले युवाहरुमा विभिन्न प्रलोभनसहितका सपना देखाएको तर आज त्यो जमाना नरहेकाले भ्रमको जादु नचल्ने दाबी गरे । “यो राणा शासन होइन । यो पञ्चायतीकाल होइन । प्रचण्डले झुक्याउनुभएको थियो, १० वर्षसम्म । प्रचण्डले कस्तो गर्नुभएको थियो ? एउटा गाउँगाउँमा म सानो हुँदाखेरि आउँथ्यो एउटा बाक्सा लिएर, क्यामेराजस्तो लिएर । अनि, भन्थ्यो, कलकत्ताका आउडाका पुल देखो, दिल्लीका कुतुमिनार देखो, लालकिल्ला देखो, आग्राका ये देखो । उहाँले हाम्रा युवाहरुलाई त्यसै गर्नुभयो । क्रान्तिका सपना देखो, परिवर्तनका सपना देखो, समाजवादका सपना देखो । मिरमिरे १० पैसा गायब ! अब त्यो जमाना गयो । उहाँले लालकिल्ला र कुतुमिनार देखाउने आउडाका पुल र ताजमहल देखाउने समय गयो । उहाँले जुन १० पैसा पचाउनुभयो, १० वर्षसम्म पचाउने समय गयो । अब जनता अलमलिँदैन । नअलमलिकन अगाडि बढौँ ।”
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशमा भएका विकास निर्माण तथा पुरातात्विक महत्वका विषयमा सरकारले गरेका कामहरुको पनि चर्चा गरे । उनले लुम्बिनी र कपिलवस्तुको ऐतिहासिक धार्मिक महत्वबारे पनि बताए । उनले डिजिटल नेपाल निर्माणका लागि गरेको कामको फेहरिस्तसहित सामाजिक सुरक्षाका क्षेत्रमा सरकारले काम गरेको, सामाजिक सुरक्षाको दायरा विभिन्न ढंगले बढेको पनि बताए ।
उनले भूमिहीन र सुकुम्बासीलगायत सम्पूर्ण भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाए । सरकारले गरेको असाधारण विकास देखेर विरोधीहरु आत्तिएको र आगामी निर्वाचनमा व्यहोर्नुपर्ने हारबाट डराएर देशी–विदेशी प्रतिक्रियावादी षड्यन्त्रहरु आफूविरुद्ध आएको दाबी उनले गरे । उनले फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री भएको तीन वर्ष पुगेको अवसरमा सरकारले गरेका कामहरु सार्वजनिक गर्ने जानकारी पनि दिए ।
तस्बिरः प्रदीपराज वन्त/रासस ।