छोरी हराएको २५ दिन भयो, सितालाई सम्झेर आँशुले सिरानी भिज्छ धनमाया वली

स्याम विष्ट / बाँके


बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ की धनमाया ओलीको छोरी सिता ओली हराएको २५ दिन भन्दा बढी भैसक्यो । तर अहिलसम्म छोरी कहाँ छिन् अत्तोपत्तो छैन । छोरी कहाँ छिन् के गर्दै छिन् । को सँग छिन् उनी बेखबर छिन् । उमेरले भर्खर १७ वर्ष टेकेकी छोरी हराएपछि छोरीको खोजीका लागि उनले अनेक प्रयास गरिरहेकी छन् । हराएको एक महिनाभन्दा बढी समय भै सक्दा पनि सिताको अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै दुखी भएको धनमाया बताउँछिन् ।
कलेजमा पढ्न गएकी छोरी सिता घर नफर्किएपछि त्यसयता उनका आँखा ओभाएका छैनन् । वैदेशिक रोजगारका क्रममा साउदीमा रहेका उनका श्रीमान तथा उनका साना भाइ पनि दिदि हराएको खबर पाएसँगै छटपटीमै दिन बिताउन बाध्य भएका छन् । हुर्किएकी छोरी हराउँदाको पीडा खपिनसक्नु भएको वली बताउँछिन् । राप्तीसोनारी गाँउपालिका वडा नं. ९ ढकेरी स्थित गणेश माद्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययन गरिरहेकी सिता गत माघ १२ गते बिहान ९ बजे कलेज जान्छु भन्दै घरबाट निस्केकी थिईन् । कलेजको फिस बुझाउनु छ भन्दै उनले दुई हजार रुपैयाँ आमा संग मागेकी थिइन् तर कलेज जान्छु भन्दै घरबाट हिडेकी सिता अहिलेसम्म पनि घर फर्किएकी छैनन् । सोही दिन दिउँसो २ बजे उनकी आमा कलेज नजिकै घर बनाउने काममा गएकी थिईन् ।
छोरीको विदा हुने समय भएकोले कलेजको गेटमा उनले छोरीको बाटो चिहाईन् । तर सबै जना निस्किए सिता भने निस्किनन् । उनकी आमाले साथीहरुसँग सोधिहालिन्,‘मेरो छोरी खोई त ?’ सिताका साथीहरुले उनी त्यो दिन कलेज नै नआएको जानकारी दिए । उनी छांगाबाट खसेजस्तै भईन् । उनले छरछिमेक आफन्तकहाँ सबै ठाउँमा छोरी खोजिन् तर कसैले पनि नदेखेको बताए । छोरीको पीरले रातभर जाग्राम बसिन् । माघ १३ गते उनले नजिकैको प्रहरी कार्यालयमा छोरी खोजिदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा हुलिया कटाइदिन अनुरोध गरिन् । तर छोरी खोज्नुको साटो उल्टै आफूलाई प्रहरीले पीडा दिने शब्द प्रयोग गरेको धनमाया अधिकारीले बताउछिन् । उनले रुदैं भनिन्,–‘प्रहरीकोमा आफ्नो छोरी खोजिदिन प्रहरीले भन्नेजस्तै निबेदन दिए । प्रहरीले मलाई साथ दिएन । बढेकी छोरी पोईल गईन् होला भनेर होच्याउए । मलाई साथ दिने र मेरो छोरी खोजिदिने कोही भएन ।’ उनले छोरी हराएको दिनदेखि निरन्तर फोन, फेसबुक सम्पर्क गरिरहिन् तर फोन नलागेको बताईन् । उनी हराएको करिब ५÷६ दिनपछि उनको फोन उठ्यो र आफूले छोरीको बारेमा जानकारी लिदा छोरीले रुदैं कुरा गरेको बताईन् । उनी भन्छिन्,– ‘छोरीले फोन उठाई । छोरी तिमी कहाँ छौ ? जहाँ भएपनि तुरुन्त घर आउ म केही पनि भन्दिन भनेर भन्दाखेरी छोरीले भनि, ममी म पोखराको एउटा होटलमा छु म यहाँ कसरी आए । कसले ल्यायो केही पनि थाह छैन । भनेर फोन कट्यो त्यो दिन देखि सम्पर्क छैन मोवाईल पनि अफ र फेसबुक पनि डिएक्टिभ छ ।’ आँसु धारा बगाउँदै धनमायाले दुखेसो पोखिन् ।सिताकी आमाका अनुसार पुष महिनादेखि सामाजिक संजाल फेसबुकमा ‘‘कान्छु सुनिल’’ नामको स्याङजा घर बताउने एउटा केटासँग कुराकानी भएको थाहा पाइन् सोही आधारमा उनले छोरीको बारेमा उक्त केटालाई शंका गरिन् र फोन पनि गरिन् ।

फोनमा कुराकानी गर्दा सितालाई लिएको स्वीकार गरे । कान्छु सुनिलले आफुले बिबाह नगरेको र काम खोजिदिनका लागि लिएको टेलिफोनमा बताए । छोरी फिर्ता ल्याईदिनु भनेपछि उनी पनि त्यो दिनदेखि सम्पर्क बिहिन छन् । धनमाया कतिखेर छोरी आउलिन् र ममी भनेर बोलाउलिन् भन्दै छोरीकै प्रतिक्षामा बसिरहेकी छन् । कान्छु सुनिलको मोवाइल ९८१७१७७३५१ नम्बर अहिले बन्द रहेको छ । धनमायाको छोरीको नमस्ते र एनसेल नम्बर पनि बन्द रहेको छ ।

६ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech