कार्यघण्टाका आधारमा अध्यापन गराउनुपर्नेमा जोड

आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम प्रवोधिकरण तालिम सुरु


पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम प्रवोधिकरण तिन दिने तालिम सोमबारदेखि सुरु भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई बाँकेको आयोजना र शिक्षा यूवा तथा खेलकुद शाखा कोहलपुरको सहजिकरणमा कोहलपुर क्षेत्रमा रहेका सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तिन दिने तालिम कोहलपुरमा सुरु भएको छ । सो तालिमको उद्घाटन गर्दै शिक्षा यूवा तथा खेलकुद शाखा कोहलपुरका प्रमुख अनन्तकुमार पौड्यालले कार्यघण्टा आधारमा नयाँ पाठ्यक्रम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै परम्परागत पाठ्यक्रम अनुसार शिक्षण गर्न नहुने र तालिम लिईसके पछि कार्यघण्टाको आधारमा विद्यार्थीहरुलाई अध्यापन गराउन शिक्षकहरुलाई अनुरोध गरेका छन् । साथै उनले एउटा उद्देश्य पुरा गर्नका लागि सबै विषयको सहयोग लिनुपर्ने र नयाँ पाठ्यक्रमले तोके अनुसारको शिक्षण गर्नुपर्नेमा जोड दिएका छन् । आधारभूत तह कक्षा (१–३ )को पाठ्यक्रम २०७५ मा तयार पारी २०७६ बाट कक्षा १ मा परिक्षणमा ल्याई सो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट कक्षा १ बाट कार्यान्वयन प्रारम्भ गरिएकोछ । नगर शिक्षा शाखा प्रमुख पौड्यालले नयाँ पाठ्यक्रम शिक्षण गर्न शिक्षकहरुलाई सहज बनाउनका लागि तिन दिने तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै तालिमबाट सिकेका कुरा शिक्षण सिकाई क्रियाकलापमा प्रयोग गर्न सुझाव दिएका छन् । साथै उनले परिवर्तित पाठ्यक्रम अनुसार शिक्षण गराउँदा समय तालिका अनुसार नभएर बालबालिकाको समय तालिका अनुसार शिक्षण गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै राम मावि कोहलपुरका प्रधानाध्यापक जयद अम्मद खाँले शिक्षक उज्यालो दिने बत्ति भएको र बत्ति बल्नाका लागि तेलको आवश्यकता परे झै शिक्षकहरुलाई समय–समयमा तालिमको आवश्यकता पर्ने भन्दै शिक्षकहरुले विश्वमा भएका परिवर्तनहरुलाई नजिकबाट बुझ्नुपर्ने बताएका छन् । साथै शिक्षकहरु आधुनिक प्रविधिहरुसँग परिचित हुनुपर्नेमा जोड दिँदै विज्ञान र प्रविधिका नयाँ नयाँ कुराहरुसँग शिक्षक जानकार हुनुपर्ने बताएका छन् । साथै नयाँ पाठ्यक्रम लागु भएसँगै शिक्षकहरुलाई अध्यापन गराउन केहि असहज हुनसक्ने भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै शिक्षा यूवा तथा खेलकुद शाखा कोहलपुरकी शिक्षा अधिकृत शिला गौतमले कुन विषय कसरी पढाउने र विद्यार्थीहरुलाई कसरी पढाइ प्रति रुचि बढाउन सकिन्छ भनेर तालिमको आयोजना गरिएको बताएकी छिन् । साथै उनले विद्यार्थीहरुको रुचि, चाहाना र आवश्यकताका आधारमा शिक्षण गराउनुपर्ने भन्दै अहिले पाठ्यक्रममा उल्लेख गरिएको विषयवस्तुलाई कसरी पढाउने भन्ने कुराका सम्बन्धमा तिन दिने तालिममा जानकारी दिने बताईने बताएकी छिन् ।
आधारभूत शिक्षा (कक्षा १–३) मा एकीकृत स्वरूपको पाठ्यक्रम भएको र सिकाइका क्षेत्रहरू पहिचान गरी विषय र सिकाइका क्षेत्रका आधारमा बहुविषयात्मक तथा अन्तरविषयगत ढाँचामा पाठ्यक्रम आधारित गरिएको छ । साथै एकीकृत विषयक्षेत्रहरूले समेट्न नसकेका सिकाइ उपलब्धिहरूलाई समेट्ने गरी विषयगत सिकाइ क्षेत्रहरूसमेत रहन सक्ने र भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरू पठनपाठन सम्बन्धित भाषामा नै गर्नुपर्ने नयाँ पाठ्यक्रममा उल्लेख गरिएको छ । सो पाठ्यक्रम क्रियाकलापमुखी हुने र यसले विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानका साथै विभिन्न किसिमका सीपको विकासमा जोड दिने कुरा नयाँ पाठ्यक्रममा उल्लेख गरिएको छ । आधारभूत तह (कक्षा १–३) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने भएको छ ।

१० फाल्गुन २०७७ मा प्रकाशित
Nabintech