प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी सम्मानित अदालतबाट फैसला स्वागतयोग्य भएको बताएका हुन् ।
सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।” कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
“नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुन:स्थापना हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।