कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन : पुरुषलाई चुनौति दिदै महिला

स्याम विष्ट / बाँके


नेतृत्व तहमा महिला सहभागिताको आकर्षण बढन थालेको छ । कुनै बेला चुलोचौकोमा सीमित महिला पछिल्लो समय भने नेतृत्वदायी भूमिकामा देखिन थालेका हुन् । त्यसको उदाहरण हो कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन । लक्ष्मण राज पौडेल नेतृत्वको प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले संघको ९ औँ अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा संगीता सुवेदी र कोषाअध्यक्ष पदमा सीता कार्कीलाई उम्मेदवार बनाएको छ । सहभागीता र समावेशीतालाई हाम्रो समूहले प्रमुखताका साथ जोड दिएको छ बाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धिताल भन्छन् योग्य र सक्षम महिला संघको प्रमुख पदाधिकारीमा उम्मेदवार बनाएका छौं । उहाँले यसो भनिरहँदा यो समूहले सदस्य पदहरुमा पनि महिला सहभागीता र समावेशीतालाई प्राथमिकता दिएको छ । पदाधिकारीमा कार्की र सुवेदीले पुरुष उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्दैछन् । यसभन्दा पहिले पनि संघको ८ औँ अधिवेशनमा जिम्मेवारी पदमा सुवेदी र कार्की निर्वाचित भएका थिए । वाणिज्य तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी सुवेदीका अनुसार महिलाहरुले हरेक संघ संस्था, र विभिन्न निकायका जिम्मेवारी पदमा रहेर काम गर्न सक्छन् भन्ने पूर्ण विश्वास रहेको बताउछिन् । महिलाको सहभागिताबिना विकास असम्भव छ । सबै वर्ग, लिंग र क्षेत्रका मानिसको सहभागिताबिना देश विकास हुनै सक्दैन् । अझ त्यसमा पनि आधाभन्दा बढीको संख्यामा रहेका महिलालाई पाखा लगाएर त कुनै पनि काम सम्पन्न हुने परिकल्पना समेत गर्न सकिन्न ।

समतामूलक समाज नै समन्यायिक विकासको आधार हो । आधुनिक मान्यता अनुसार विकास भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धि दरमात्र होइन । बरु सबै वर्ग र लिंगको सशक्तीकरणले यसलाई अगाडि बढाउँछ । त्यसैले यतिबेला संघको नेतृत्वमा महिला पुग्ने र त्योखाले वातावरण निर्माणमा सबैले सघाउने परिपाटी आवश्यक रहेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट कोषाअध्यक्ष पदमा उम्मेदवार दिएकी सिता कार्की बताउँछिन् । संघको विकास र निर्माण प्रक्रियामा सबैको पहुँच हुन जरुरी भइसकेको छ । महिलाहरू प्रत्यक्षरूपमा विकासमा सहभागी हुन नसक्दा पिछडिएका हुन् । देशको आधाभन्दा बढी जनसंख्या ओगट्ने महिला विकासको मूलधारबाहिर रहेकाले देशले फड्को मार्न सकिरहेको छैन् । सामाजिक विकास, समानता र सिर्जनात्मक कार्यमा महिला–पुरुष हातेमालो गरेर नेतृत्वदायी भूमिकामा पुगेर संघलाई हाँक्नु आवश्यक रहेको खुल्ला सदस्यकी उम्मेदवार पवित्रा ढकाल बताउँछिन् । समान अवसर र पहुँचको अभावले महिला सहभागितामा प्रत्यक्ष असर गर्छ । यसको परिभाषा विकसित मुलुक र विकासोन्मुख मुलुकमा फर भए पनि तुलनात्मक रूपमा विकसित देशमा महिला सहभागिता बढी छ । पछिल्लो उदाहरण हेर्नुभयो भने संघमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले महिला सहभागितालाई पहिलो प्राथमिकतामा राखेको महिला नेतृ एवं सदस्य पदकी उम्मेदवार शर्मिला मल्ल बताउँछिन् । महिलालाई घरबाहिर गएर काम गर्ने वातावरणको सिर्जना परिवारले गरिदिनुपर्ने हुन्छ । राजनीतिक शक्ति, पारिवारिक निर्णय र आर्थिक गतिविधिमा महिलाको सहभागिता बढेमात्र हामीले खोजेको समुन्नत समाज निर्माण हुनेमा शंका छैन । अहिले महिला स्वतन्त्रता, समानता, समता, सहभागिता, महिला आरक्षण र सशक्तीकरण लगायत विषय चर्चामा छन् । त्यसैले यी शब्दलाई साँघुरो घेरामा सीमित नराखी व्यावहारिक बनाउँदै लैजान सबै तम्तयार हुनुपर्छ । महिलाहरुलाई पनि संघको जिम्मेवारी पदमा समावेश गरेर समावेशीको नारा लगाउनु उचितमा देखिन्छ ।

१७ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech