कोहलपुरमा विश्व उपभोक्ता अधिकार दिवस मनाईदै

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले मार्च १५ तारिक अर्थात यहि चैत्र २ गते विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागेको छ । विश्व उपभोक्ता अधिकार दिवस कोहलपुरमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु बिच अन्र्तक्रिया लगायत अन्य चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउन लागेको कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सञ्जु कुमारी चौधरीले बताएकी छिन् । कोहलपुर नगरपालिकाले खाद्य अधिकार सम्बन्धि काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु बिच उपभोक्ताहरुको हक र अधिकारका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने कोहलपुर नगरपालिका उपभोक्ता हित संरक्षण समितिले निर्णय गरेको जानकारी दिईन् । कोहलपुरमा शनिबार उपभोक्ता हित संरक्षण समितिको बैठकले चैत्र २ गते विश्व उपभोक्ता अधिकार दिवस भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको उपप्रमुख चौधरीले बताएकी छिन् । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ । सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ । चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् । संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ । उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।

२९ फाल्गुन २०७७ मा प्रकाशित
Nabintech