नौमती बाजा संरक्षणमा लागे बालापुरका विद्यार्थी

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मोहन गौतम र प्र.अ.मोहन खनाल जिल्लाकै उक्कृट विद्यालय बनाउने लक्ष्यमा


स्याम विष्ट / बाँके


सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर संगै आफ्नो कला संस्कृती जर्गेनामा लागी परेको छ । जनशक्ती माध्यामिक विद्यालय राप्तीसोनारी ८ बालापुरका विद्यार्थीहरु नौमती बाजा बजाउन सफल भएका छन् ।

 

रंगिविरंगी मानिस । निकै उत्साहित । आफ्नो सामुदायको धर्म, परम्परा र संस्कृतिको पहिचान दिने खालका भेषभुषमा सजिएका । काँधमा नौमती बाजा बोकेर बजाइरहेका । ठूलाठूला स्वरमा गीत गाइरहेका । पुरानाशैलीका खैंजडी ठोकिरहेका । नौमति बाजा पनि घन्किएका । जहाँ उनीहरू आफैँ रमाएका थिए र सयौं दर्शकलाई रमाइलो गराइरहेका थिए । यो दृष्य थियो राप्तीसोनारी गाँउपालिका वडा नंं. ३ बैशामा बुधबार आयोजना गरिएको विद्युत उद्घाटन कार्यक्रमको ।
विद्युत उद्घघाटन कार्यक्रममा उपस्थित भएका राप्तीसोनारी गाँउपालिका वडा नं. ८ स्थित जनशक्ति मावि बालापुरका विद्यार्थीहरुले निकै रमाइलो गरिरहेका थिए । हेर्दा यो अलिक पृथक् थियो । किनकि पुराना बाजागाजा घन्किएका थिए र पुराना गीत नै गुन्जिएका थिए । पाका उमेरका मानिसहरुले बजाउने नौमती बाजा विद्यालयका बालबालिकाले बजाएको देख्दा कतिपय उपस्थित दर्शकहरुलाई आश्चर्य बनाएको थियो ।
पछिल्लो समयमा लोभ हुँदै गइरहेको नौमती बाजा बजाउन विद्यालयमा जनशक्ती माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले सिकेका छन् । कला संस्कृती जर्गेना संगै विभिन्न कार्यक्रममा प्रयोग हुने नौमती बाजा अहिले लोभ हुने स्थितीमा रहेको छ । तर जनशक्ती माध्यामिक विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समिति समेत उक्त कला संस्कृती र नौमती बाजा संरक्षण गर्न लागिरहेका छन् । राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा संस्कृति संरक्षणमा बजेट बिनियोजित गरेको थियो । ३ लाख ९० हजार बिनियोजित बजेटबाट जनशक्ति माध्यामिक विद्यालय बालपुरले नौमती बाजा खरिद गरेको थियो । बाजा खरिद पछि सल्यानबाट आएका पञ्चेबाजाका प्रशिक्षकले उक्त विद्यालयका विद्यार्थीहरुलाई १५ दिनको प्रशिक्षण दिएका थिए । पञ्चेबाजा बजाउने प्रशिक्षणले प्रशिक्षण दिएपछि अहिले उक्त विद्यालयका विद्यार्थीहरुले विद्यालय खुलेको समय बाहेक अन्य दिनहरुमा राप्तीसोनारी गाँउपालिका भित्र आयोजना भएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँछन् । विभिन्न कार्यक्रममा नौमती बाजा लिएर गएका विद्यार्थीहरुलाई पारिश्रमिक समेत उपलव्ध गराइन्छ । विद्यालयको आम्दानीको श्रोतको शुरुवात समेत भएको छ । हाल सम्म १० भन्दा बढि ठूला कार्यक्रममा उक्त नौमती बाजा बजाउने विद्यार्थीहरुको समूह पुगिसकेको छ । लोप हुन थालेका पुराना संस्कृति संरक्षणका लागि विद्यायमा अध्ययनरत विद्यार्थीहरुलाई नौमती बाजा बजाउन सिकाउन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतम बताउँछन् । ४० जना विद्यार्थीहरु अहिले पञ्चेबाजा बजाउन सक्ने भएका छन् उनीहरुलाई ३ समूहमा विभाजन गरिएको छ ।

७ वर्षदेखी १५ वर्ष सम्म उमेर भएका विद्यार्थीहरुले पञ्चेबाजा बजाउन सफल भएका हुन ।यहाँका संस्कृति र सम्पदाको इतिहासबारे पुस्ता हस्तान्तरण र प्रचार–प्रसार गर्न विद्यालय स्तरमै कला संस्कृतीको जर्गेना गर्नको साथै गाँउपालिकाले संस्कृती संरक्षणका लागि बिनियोजित गरेको रकम सही विद्यालयले सही सदुपयोग भएको राप्तीसोनारी गाँउपालिका अध्यक्ष लाहुराम थारु बताउँछन् । ‘यो गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्र हो । ऐतिहासिक महत्व बोकेका स्थानीय कला र संस्कृतिले भरिपूर्ण छ’ उनले भने ‘आर्थिक स्रोतमा टेवा पुग्ने यहाँको संस्कृति र धार्मिक स्थलको संरक्षण गर्न विद्यालयले नौमती बाजा संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको र गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढेको छ ।’ यो अभियानलाई सफल पार्न गाँउपालिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरु समेत लागि परेको अध्यक्ष थारुको भनाई रहेको छ । यता राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का अध्यक्ष खुम बहादुर बस्नेतका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि नौमती बाजा संरक्षणमा खेलेको भूमिका राप्तीसोनारी गाँउपालिकामा मात्र नभई जिल्लाकै नमूना भएको दाबी गरे । धार्मिक पर्यटकीय संभावना बोकेको राप्तीसोनारी गाँउपालिकाको थप प्रचार–प्रसार गर्न लागि लोभ भएका बाजाहरुलाई विद्यार्थीहलाई सिकाउँदा अभिभावक र विद्यार्थी समेत अहिले खुसी देखिएका छ ।

दुई सय ८५ जना विद्यार्थी संख्या रहेको उक्त जनशक्ती माध्यामिक विद्यालयमा कला संस्कृतीको जर्गेना मात्र नभई विद्यालयको शैक्षिक गुणस्तरमा समेत परिवर्तन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतम आइसकेपछी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले घरबाटै विद्यालयमा भएका गतिविधीहरु हेर्नका लागि मोबायल सिसिटिभी समेत जडान गरेका छन । जंगलको नजिक विद्यालय भएकाले इन्टरनेटको समस्यालाई समधान गरिएको छ । एक विद्यार्थी एक कुर्चीको अवधारणा ल्याइएको छ । विद्यालयको मुल गेटमा डिजिटल गेटको व्यवस्थापन गरिएको छ । विद्यालयमा रमणीय बगैचाको निर्माण गरिएको छ । आफ्नो कार्यकालमा बाँके जिल्लाकै सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालय बनाउने अध्यक्ष गौतमको लक्ष्य रहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउने उद्देश्य रहेको अध्यक्ष गौतम बताउँछन् । गुणस्तरीय शिक्षासंगै आफ्ना कला संस्कृती जर्गेनाका लागि विद्यालयले थप अन्य क्रियाकलापहरु समेत संचाल न गर्ने लक्ष्य लिएको विद्यालयका प्र.अ. मोहन खनाल बताउँछन् ।  । २०५० साल माघ २ गते उक्त विद्यालयको स्थापना भएको थियो ।

 

 

२० चैत्र २०७७ मा प्रकाशित
Nabintech