कम्युनिष्टले मनपरी रुपमा शासन गरे : नेता महत

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले नेपालका कम्युनिष्टहरुले मनपरी रुपमा शान सत्ता सञ्चालन गर्दा नेपाली जनताले दुख पाएको बताएका छन् । कम्युनिष्टले शासन गर्दा देशमा मनपरी तन्त्र चलिरहेको बताउँदै कोरोनाका महामारीमा नेकपाको सरकार भ्रष्टाचारमा रमाएको बताएका छन् ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले नव वर्ष २०७८ र मुस्लिम धर्मालम्बिहरुको महान चाड रमजानको अवसर आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता महतले काँग्रेसले गरेका काम नै उत्कृष्ट नभएको बताउँदै काँग्रेसले गरेका गल्ती कमजोरीहरु सच्याएर जाने प्रतिवद्धता समेत जनाएका छन् । साथै उनले अबको एक वर्षपछि देश निर्वाचनमा जाने भन्दै निर्वाचनका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु तयार रहन निर्देशन समेत दिएका छन् । विकासका मुद्धाहरुलाई काँग्रेस नै सम्बोधन गर्ने भएकाले जनताका बिचमा गई काँग्रेसले लिएका नीति तथा कार्यक्रमहरु जनतालाई जानकारी दिनुपर्ने बेला आएको बताएका छन् । साथै उनले विश्वभरका जनताले कम्युनिष्टको बिचार अस्वीकार गरिसकेको र नेपाली जनताले पनि अब कम्युनिष्टलाई विश्वास गर्न नसक्ने अवस्था रहेको बताउँदै जनताको भावना अनुसार काँग्रेसले आफ्नो कार्यहरु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले प्रधानमन्त्री केपि शर्मा ओलीले लोकतन्त्रीक संविधानको हत्या गर्ने प्रयास गरेको भन्दै काँग्रेसको काँधमा संविधान र लोकतन्त्रीक शासन व्यवस्थाको रक्षा गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति फुलराम थारुले काँग्रेस बिचको एकता जनताले चाहेका कारण आगामि निर्वाचनमा काँग्रेसलाई देशको विकास र समृद्धिका लागि नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति माधवराम खत्रीले नेपाली काँग्रेसको नीति र सिद्धान्तलाई आत्मासाथ गरी काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको पार्टीले उच्च मूल्याङ्कन गरी पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आग्रह समेत गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाली काँग्रेसले वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले चालेका कदमका विरुद्ध संघर्ष गरिरहेको जानकारी दिँदै अब काँग्रेस एक भएर देशको समृद्धि र विकासको नेतृत्व लिने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकाभित्र आर्थिक हिनामिना भईरहेकोले काँग्रेसले आर्थिक पारदर्शिताका लागि संघर्ष गरिरहेको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निमबहादुर चलाउनेले काँग्रेस जनताको पार्टी भएकाले अब नेपाली जनताले देश निर्माण गर्ने जिम्मा नेपाली काँग्रेसलाई दिने बताएका छन् । कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्रका सुरेश चौधरी, सतिराम थारु, खुम बहादुर केसी लगायतका नेता तथा कार्यकर्ताहरु सो पार्टी परित्याग गरी करिब दुई सय जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्माको सभापतित्व मा सम्पन्न भएको कार्यक्रमको सहजिकरण नगर सचिव भूम बहादुर भण्डारीले गरेका थिए भने कार्यक्रममा नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

३ बैशाख २०७८ मा प्रकाशित
Nabintech