‘चिट्ठामा परेर निर्वाचित भएका जनप्रतिनिधीहरु ’

व्यक्तिगत स्वार्थमा तिनीहरुको राजनिती


निर्मला थापा


जनताको पक्षमा काम गर्ने तपाई जस्तै अन्य जनप्रतिनिधीहरुको काम गर्ने शैलीमा खास्सै परिवर्तन देखिएन्न । जनताले जुनसुकै परिवर्तन नेपालमा आएपनी एक छाक टार्नका लागि कष्टपूर्ण जिन्दगी जिउन बाध्य छन् । तर तपाई जनप्रतिनिधीहरु ज्यूहरुलाई महंगो गाडी चाहिने , हरेक सुविद्या तपाईहरुलाई नै चाहिने , दुखको कुरा हो । जनताले स्थानिय निकायमा तपाई जनप्रतिनिधीहरुलाई दिएको मत खेर गएको अनुभुती गरिरहेका छन् । तपाईहरुले निर्वाचनको बेला बनाएका घोषणा पत्रहरु अहिलेपनी सुरक्षित छन् । ती कति लागु भए वा भएनन् तपाईहरुलाई पनी थाहा होला हामीलाई थाहा भएकै कुरा हो । आफु पदमा पुगिसकेपछी गरिब झुप्रोमा बसेका ती नागरिकहरुका लागि चालेका कदमहरु खास्सै प्रभावकारी देखिएनन् । पदमा पुगिसकेपछी आफ्नो र बिरानो छुटाउनमै व्यस्त देखिनुभयो ।कुनै योजना होस वा नगरपालिका वा वडा पालिकाबाट जनताले पाउनुपर्ने सेवा सुविद्यामा बिभेदकारी भुमिका खेल्न सुरु भयो । कोही चिट्टामा परेका जनप्रतिनिधीहरुले आफ्नो औकात देखाइहाले । तरपनी आम नागरिकहरु र तपाईका मतदाताहरुले विशेष मुल्याङकन गरिरहेका छन् । निर्वाचन एक पटक मात्र आउदैनन् फेरी वर्ष पछि पनि निर्वाचन आउने हो । कर्मचारी संगको मिलेमतोमा आफ्नो व्यक्तिगत स्वार्थमा चुलुम्म डुबेका जनप्रतिनिधीहरुका पात्रहरु फेरी दोहोरिएलान वा अन्य नागरिकहरुले पनी अवसर पाउलान त्यो त हेर्न बाँकी नै छ । तपाई प्रिय जनप्रतिनिधीहरुले गरेका गतिविधीहरुबाट सायद कोहलपुरबासीहरु खुसी छन् भन्ने मलाई लाग्दैन् खुसी छन् त तपाईका सिमित मुठी भित्रका कार्यकर्ताहरु होलान् । स्थानिय सरकार आएपछी जनताको मुहारमा खुसी छाउँछ भन्ने थियो तर त्यसो हुन सकेन । तपाई जनप्रतिनिधीहरुले निर्माण गरेका भौतिक संरचनाहरु कमिशनको लोभमा पर्दा दिर्धकालिन टिकाउ हुन सकेनन् ।

करिब ३ वर्षको समयमा जनप्रतिनिधीहरुले बिनियोजित गरेका योजनाहरु कतिपय अधुरा छन् कतिपय निर्माण भएका योजनाहरु समेत जिर्ण भनिरहेको अवस्था हामीले देखिरहेका छौँ । नगरपालिका भित्र, वडा कार्यालय भित्र जनप्रतिनिधीहरुले आफ्नो मनमर्जीले गरेका कामहरु एक पछी अर्को छताछुल्ल देखिन्छन् । राजनैतिक स्वार्थका कारण राम्ररी हस्ताक्षर गर्न नजान्ने जनप्रतिनिधीहरुले जिम्मा पाएको वडा सरकार र नगर सरकार केवल बैठकमा हस्ताक्षर गर्नमा मात्र सिमित छ । जनप्रतिनिधीहरु संग न भिर्जन भयो न मिसन भयो केवल दिन काटने बाटोमा मात्र सिमित भयो । कतिपय निर्वाचित जनप्रतिनिधीहरुलाई आफ्नो वडामा बिनियोजित गरेको बजेट रकम कति हो त्यति सम्म जानकारी छैन् । चिट्टामा परेका जनप्रतिनिधीहरु अब बाँकी समय १ वर्ष मात्र छ । जति मोज गर्ने हो गर्नुहोस अर्को निर्वाचनमा पुन तपाईहरुको अनुहार भोट माग्दै जनताको घरदैलोमा देख्न नपरोस् । सामान्य नागरिकहरुले पनी अबको स्थानिय निकायदेखी प्रदेश केन्द्र सम्मको निर्वाचनमा क्षमतावान् , नैतिकवान, र काम गर्न सक्ने व्यक्तिलाई मतदान गर्नेछन् । राजनैतिक खोल ओडेर हस्ताक्षर गर्न समेत नजान्ने जनप्रतिनिधीहरुलाई बिजय गराएर फेरी दुख झेल्न जनताले चाहेका छैनन् । कतिपय जनप्रतिनिधीहरु आफ्नो कार्यकाल अन्तिम पटक भएकाले खास्सै काम गर्ने मानसिकतामा देखिदैनन् । स्थानीय तह जनताको नजिकको देखिने, सुनिने र छिट्टै अनुभूत गरिने सरकार हो । ग्रामीण तथा सहरी दुवै क्षेत्रमा जनतासँग प्रत्यक्ष सरोकार र सम्बन्धित हुने यो सरकारको योग्यता, क्षमता, क्रियाशीलता, इमान र विश्वसनीयता शासन प्रणालीमा सर्वाधिक महत्वका पक्ष हुन् । माथिल्लो तहका सरकारहरू कतिपय विषयमा जनतामा पुग्ने माध्यम यिनै सरकार हुन्छन् ।

तसर्थ प्रभावकारी स्थानीय सरकार प्रावकारी सेवा प्रवाहका पर्याय हुन् भन्नुमा अतिशयोक्ति नहोला ।स्थानिय निकायको निर्वाचनको ३ वर्षको समय अवधीमा शिक्षाको गुणस्तर केवल विभिन्न शिर्षकमा बजेट बिनियोजित गर्ने र कसरी कर्मचारी र जनप्रतिनिधीहरु मिलेर बिलभरपाई मिलाएर खाने त्यसैमा ध्यान ग¥यो । सामुदायिक विद्यालयको सूधारको परिमाण शुन्य जस्तै देखियो । बजेटको दुरुपयोग मात्र भयो । कृषी क्षेत्रमा करोडौँ रकम बिनियोजित गरियो । तर कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न सकिएन् । आफ्ना कार्यकर्तालाई नक्कली कृषक बनाएर बिलभरपाई मिलाएर आफ्ना कार्यकर्ता पालनपोषणमा मात्र सिमित बने । किनकी भोली चुनावमा त्यही कार्यकर्ता काम लाग्नेहुन भन्ने सोचमा जनप्रतिनिधीहरु पुगे । सडक सञ्जाललहरु जताजतै जोडिए तर गुणस्तर कम काम चलाउका लागि मात्र ती सडक सञ्जालहरु देखिन्छन् । पहिलो वर्ष निर्माण गरिएका सडकहरु वर्षै पिच्छे ती सडक सञ्जालहरु भत्कदै गए । गरिब तथा विपन्न वर्गका लागि आर्यआजनका कार्यक्रमहरु संचालन भए ति सबै केही दिनका लागी मात्र सिमित भए । विपन्न तथा गरिब समुदायका लागी वितरण गरिएका कृषि सामग्रीहरु, बाख्रापालन ,भैँसी पालन कुखुरा पालन कार्यक्रमहरु सफल हुन सकेनन् । वर्षैपिच्छे दर्जना संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरु संचालन गरे तर ती कार्यक्रमहरु संचालनको केही महिनामै परिमाण शुन्य जस्तै देखियो । राज्यको करोडौँ रकम पानीमा बालुवा हालेझैँ भयो । जनप्रतिनिधीहरुले आफ्नो साढे ३ वर्षको समयमा गतिलो काम गर्न सकेनन् जसका कारण आम नागरिकहरु र कोहलपुर बासीहरु समेत निराश हुनुपर्ने स्थिती आयो । हरेक ४ देखी ६ महिना नपुग्दै नगरपालिकाका प्रमुखहरु फेरिए । एकातर्फ जनप्रतिनिधी र कर्मचारीको तालमेल मिलेन । नगरपालिकका केही कर्मचारी र जनप्रतिनिधीहरुले एकलौटी मनपरी गरिरहे । समयमा आफुले गरेका राम्रा गतिविधीहरु जनताका बीचमा राख्नु त उनीहरुको लागी भुतको कहानी जस्तै बन्न पुग्यो । आवश्यकता भन्दा बढि कर्मचारी भर्ना गरेर संघिय सरकारको निति नियमलाई मिचेर काम गर्न समेत जनप्रतिनिधीहरु अगाडी सरे । हप्तैपिच्छ नगरपालिकाका नराम्रा घटनाहरु बाहिरीए जसका कारण आम नागरिकहरुले पनी जनप्रतिनिधीहरुले गरेका कामकारवाहीका बारेमा जान्ने अवसर पाए । आफ्नो सेवा सुविद्याका लागी मरिहत्ते गर्ने जनप्रतिनिधीहरु कहिले को संग त कहिले को संग साँटधाटमै व्यस्त रहे । यस्तै घटनाक्रम चलिरहँदा नगरपालिका क्षेत्र भित्र रहेका गरिब जनताको अवस्था हिजोराजाका पालामा र अहिले गाँउ गाँउमा आएको शिहदरबारमा कुनै फरक देखिएन् । औषधी उपचार गर्न नसकेर दिनहुँ गरिब जनताहरु छट्पटाई रहेका छन् । आफन बालबच्चाको बढाई खर्च जुटाउन नसकेका कथाहरु कोहलपुर नगरपालिका भित्र थुप्रै उदाहरणहरु भेटिन्छन् ।

स्वदेशमै रोजगार नपाएर भारत लगायत विभिन्न मुलुकमा काम गर्न जाने युवाशक्तीहरु दिनप्रतिदिनबढिरहेको छ । प्रशस्त सम्भावना आफ्नै जन्मभूमीमा हुँदा पनी स्थानिय सरकारले देखाएको उदासिनताका कारण कयौँ युवायुवतीहरु खाडीको चर्को गर्मीमा १८ घण्टा काम गर्न बाध्य छन् । विभिन्न समस्याले सधै पिरोलिरहेका आम नागरिकहरु निर्वाचनको समयमा नेताहरुले बोलेका भाषणहरु र गरेका बाचाहरु पुरा गर्न सकेनन् ।स्थानिय निर्वाचन हुनुभन्दा पहिले बिनियोजित हुने बजेट र अहिले बिनियोजित हुने बजेटको रकम आकाश र पातलको फरक छ तरपनी जनप्रतिनिधीहरु बजेट कम भयो भनिरहेका छन् । जनप्रतिनिधिले धर्म नछाड्ने र राष्ट्रसेवकहरूले धर्म र कर्म दुवै नछाड्ने संस्कार विकास गर्न सकेमा संविधानको मर्म, संघीयताको अपेक्षा र जनताका चाहनाअनुरूप स्थानीय तह व्यवस्थापन र सञ्चालन हुनेछन् ।मूलतः निर्वाचित जनप्रतिनिधिले जनताबाट प्राप्त मत तथा अधिकार संविधान र कानुनबमोजिम प्रयोग गर्नुपर्छ । आफू आफ्नो मान्छे, आफ्नो दल मात्र होइन कि आफूले प्रतिनिधित्व गरी जिम्मा पाएको संगठन÷संस्थाको समग्र जिम्मेवारीप्रति व्यावसायिक दक्षता, इमानदार र जवाफदेही ढंगबाट कार्य सम्पादन गर्ने–गराउने दायित्व निर्वाचित जनप्रतिनिधिको हो ।त्यसकारण स्थानिय निकायको निर्वाचनमा १ पटक जनताका भावना र जनताका समस्यालाई समधान गर्न नसक्ने अनुहारका पात्र फेरी नआउन । पार्टीका खोल ओडेर आफ्नो व्यक्तिगत स्वार्थ ,जातिगत स्वार्थका लागि चिट्ठामा परेका जनप्रतिनिधीहरुले कहिल्यै जनताको भलो गर्दैनन् । लक्षण र कामगर्ने शैलि र इमान्दारीको पहिचान दिन नसक्नु उनीहरुको खुबी थियो । थापा महेन्द्र बहुमुखी क्याम्पमा अध्ययनर छात्रा हुन ।

५ बैशाख २०७८ मा प्रकाशित
Nabintech