जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद उत्कर्षतिर धकेलिएको छ। संघीय सरकारमा कांग्रेस–माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयबाट सुरु भएको विवादले जसपा भित्र ठूलै हलचल पैदा गरेको छ। संघीय सरकार गठनको विषयलाई लिएर उत्पन्न जसपाको विवाद लुम्बिनी प्रदेशमा छताछुल्ल भयो। सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, माओवादी र जसपाका सहित ४१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरे। तर, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको केही घण्टा बित्न नपाउँदै जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल पोखरेल नेतृत्वको सरकारमा गए। आफ्नो पार्टीको सांसदहरू सरकारमा गएपछि लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिए।
उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र सरकारबाट फिर्ता हुने निर्देशन दिइएको थियो। चित्त बुझ्दो जवाफ नफर्काए साधारण सदस्यबाट समेत हटाउने चेतावनी विज्ञप्तिमा थियो। यता, जसपाबाटै मन्त्री बनेका पाण्डेले नै संसदीय दलको नेताको हैसियतले पार्टीको तर्फबाट कुनै कारबाही नहुने भन्दै ढुक्कसँग काम गर्न भन्दै अर्को विज्ञप्ति जारी गरे। नेता यादव जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव खेमाका छन्। तर, जसपा अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने केन्द्रदेखि प्रदेश तहसम्म ओली नेतृत्वको सरकार जोगाउने पक्षमादेखिइरहे।भट्टराई र यादव साविक संघीय समाजवादी पार्टीका हुन् भने, ठाकुर र नेता यादव साविक राष्ट्रिय जनता पार्टी (राजपा) का हुन्। दुई मधेशी दल प्रधानमन्त्री ओलीले गत वैशाख ८ गते अध्यादेश ल्याएर फुटाउन खोजेपछि रातारात पार्टी एकता गरेका थिए। तर, ओलीकै कारणले जुटेको मधेसी दल अहिले ओलीकै कारणले फुटको बाटोमा छ।