‘कोहलपुरमा भत्ताकै लागि गरिन्छ बजार अनुगमन’

दैनिक उपभोग्य सामाग्रीको मुल्यू वृद्धि, सम्बन्धित निकाय किन मौन ?


पिपलबाेट संवाददाता


बुधबार कोहलपुर बजारमा लकडाउनको हल्लाले दैनिक उपभोग्य सामग्रीहरुको किनमेलका लागि उपभोक्ताहरुको निकै भिड देखियो । तरकारी देखी दैनिक उपभोग्य सामग्री खरिद गर्न उपभोक्तालाई भ्याई नभ्याई थियो । यसको फाइदा अधिकांश व्यापारीहरुले खुलेआम लिएका छन् । छिनको छिनमै मुल्य बढेको उपभोक्ताहरुको व्यापक गुनासो आएको छ । टोल छर छिमेकमा मुल्य वृद्धिके चर्चा चुलिनुका साथै सामाजिक सञ्जालमा पनि यस विषयमा व्यापक बहस भएकोछ ।
कोहलपुरमा बन्दाबन्दीको हल्ला बाहिरएपछी उपभोक्ताहरु एकाएक दैनिक उपभोग्य सामग्रीहरु व्यवस्थापनका लागि लागि परेका हुन । यता तरकारीमा कालोबजारी हुँदै आएको गुनासो सुन्नमा आएको छ । तरकारी मुल्यमा एकाएक वृद्धि भएपछी उपभोक्ताहरु मर्कामा परेका
छन् । यस्तै काउली , ठूलो खुर्सानी ,टमाटर ,भिण्डी,करेला, बोडी बन्दा लगायतका तरकारीमा पनि अघिल्लो दिनको तुलनामा चर्को मुल्य तिर्न बाध्य भएपछि उपभोक्ताहरु आक्रोसित भएका छन् । तरकारी तथा फलफूलमा मात्र नभई दैनिक उपभोग्यका अन्य सामग्रीहरुका व्यापारीहरुले आफ्नो मनपरी दररेट कायम गरेका छन् । बन्दाबन्दीको बेला कालोबजारी गर्ने व्यापारीहरु यतिखेर सल्बलाईरहेका छन् । उता नेपालगञ्जमा कागतीको मूल्य प्रतिकेजी ४ सय रुपँया समेत पुगेको छ । तर सरोकारवाला निकाय मौन भएको उपभोक्ताहरुले आरोप लगाएका छन् । कोहलपुर नगरपालिका वडा नं.६ बसन्ती कुरेलका अनुसार बन्दाबन्दीको मौका छोपी दैनिक उपभोग्य सामाग्रीहरु अघिल्लो दिनको तुलनामा चर्को मूल्यमा व्यापारीहरुले बिक्रि गरेको बताइन् । कुरा तरकारीको मात्र हैन खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य सामग्रीहरु पनि उस्तै कालो बजारी कोहलपुरमा दिनप्रतिदिन बढिरहेको छ ।

यस विषयमा हामीले कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीसंग बुझ्दा बजार अनुगमन विविध कारणले गर्न नसकिएको जवाफ दिए । सम्बन्धित निकायले कोभिडको समयमा, चाडपर्वको समयमा हुने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तिव्रता दिन सकेको छैन । जनप्रतिनिधि र कर्मचारी र उद्योग वाणिज्य संघले गर्ने बजार अनुगमन कोहलपुर नगरपालिकाले छुटाएको बजार अनुगमन भत्ता लिनकै लागि मात्र हुने गरेको पाइएको छ । संकटपूर्ण स्थितीमा जिम्मेवार निकायले खेल्नुपर्ने भूमिका प्रभावकारी रुपमा नखेलिदिदा उपभोक्ताहरु दिनप्रतिदिन ठगिदै आएका छन् । दैनिक उपभोग्य सामग्रीदेखी तरकारी व्यापारीहरु संग यस विषयमा बुझ्दा भारतबाट सामानहरु नआएकोले मुल्य वृद्धि भएको प्रतिक्रिया दिन्छन् । प्लान्ट क्वारेन्टाइन कार्यालय नेपालगञ्जका प्रमुख थमन बहादुर कार्की बुधबार मात्र आलु ६६ मेटिूकटन र १९ दशमलब २ मेट्रिक टन हरियो तरकारी जमुनाहा नाकाबाट भित्रिएको बताउँछन् । उनका अनुसार यसमा आलु, प्याज, टमाटर लगायत  हरियो तरकारी रहेका छन् ।यसरी असहज परिस्थितीमा कालोबजारी हुनु र सरोकारवालाहरुको भूमिका नदेखिनु बिडम्वना हो । यता कोहलपुर नगरपालिकाले बजार अनुगमन गरेको भन्दै हरेक वर्ष लाखौं रकम कर्मचारी र जनप्रतिनिधीहरुले लिँदै आएका छन् । अनुगमन नगरेकै कर्मचारीहरुलाई समेत अनुगमन भत्ता दिँदै आएको रहस्य समेत खुलेको छ ।

१० बैशाख २०७८ मा प्रकाशित
Nabintech