कोहलपुरमा सरकारी गाडीको दुरुपयोग उपप्रमुखबाटै शुरु

पिपलबाेट संवाददाता


स्थानीय तहमा सवारी साधन खरिद गर्ने होडबाजी नै चल्यो । कोहलपुर नगरपालिकाले पनि आवश्यता भन्दा चारपाङ्गे र दुुई पाङ्गे सवारी साधन खरिद गरेको छ । खरिद गरिएका सवारी साधनहरु दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सरकारी सवारी साधन दुरुपयोग गर्ने कोहलपुर नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी नै पहिलो प्राथमिकतामा छन् ।

शुक्रवार एक बिबाह समारोहमा पुगेको कोहलपुर नगरपालिकाको सरकारी गाडी

नियमनकारी निकायले वास्ता नगरेका कारण समेत सरकारी नम्बर प्लेटका सवारी साधानको दुरुपयोग बढ्दै गएको हो । शुक्रवार कोहलपुर नगरपालिका वडा नं. ११ स्थित एक बिबाह समारोहमा कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरी सरकारी गाडी भे १ झ २३१ लिएर पुगिन । यसरी सरकारी कामकाजका लागि प्रयोग हुनुपर्ने सवारी साधनको खरिद तथा दुरुपयोग कोहलपुर नगरपालिका प्रमुख तथा उपप्रमुखबाट शुरुवात भएको छ । तर इन्धन र मर्मत खर्च भने हरेक महिना कार्यालयबाट भुक्तानी भैरहेको छ । सार्वजनिक बिदाको दिन शनिबार अत्यावश्यक परेमा जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिएर मात्रै सरकारी सवारी साधन चलाउन पाइने प्रावधान रहेको छ । पछिल्लो समयमा कोहलपुर नगरपालिकाका जनप्रतिनिधीहरु जनताका समस्या भन्दा बिलासी जीवनका लागि ऐन नियम कानुन विपरितका कार्यहरु गर्दै आएको कोहलपुरबासीहरुको आरोप रहेको छ । तर कोहलपुर नगरपालिकाबाट सवारी साधन नलिने जनप्रतिनिधीहरु पनी छन् भने धेरैको संख्यामा भने जनप्रतिनिधीहरुले दुई पाङ्गे सवारी साधनको प्रयोग गरिरहेका छन् ।जनतालाई कानुन र ऐनको पाठ सिकाउने जनप्रतिनिधीहरुको यस्ता क्रियाकलापहरुले उनीहरुको नैतिकता माथी प्रश्न चिन्ह खडा भएको छ । बिबाह, पार्टीका कार्यक्रम र व्यक्तिगत काममा समेत जनप्रतिनिधी र कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोगको रोग बाँकेका अन्य पालिकामा पनि उस्तै देखिन्छ ।

एकाएक भाइरल बन्यो विलासी ‘क्रेटा ३२९

बाँकेको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारुले सामाजिक सञ्जालबाट आफ्ना अभिव्यक्ती दिएकी छिन् । सधैं बहुमतकै किनारा गरियो, आफू अनुकुलका मान्छे भित्राइयो, पेश भएभन्दा मनोमानी कार्यक्रम र निर्णय लेखियो, हामी एम्बुलेन्स भन्दै चिच्याइरह्यौं । तर बिलासी क्रेटा भित्राइयो, नगरसभाको निर्णय चार महिना बितिसक्दा पनि लेखिँदैन । सभामा प्रस्तुत एजेन्डा जो सर्वसम्मत पास हुन्छन्, निर्णय लेखौंभन्दा तपाईहरु बैठकमा सहभागी नभए पनि बहुमत हाम्रो पुग्छ भन्ने जवाफ सुन्नुपर्छ ।
नगरसभामा एम्बुलेन्स किन्ने एजेन्डामा छलफल हुन्छ र सर्वसम्मत पास हुन्छ बजेट पनि बिनियोजन हुन्छ तर रकामान्तर हुन्छ अनि भत्तामा अनि सेवा सुविधामा रकम वृद्धि हुन्छ । कार्यालयको प्राङ्गणमा बर्षेनी स्तरोन्नतीको नाममा लाखौं खर्च हुन्छ, ५० औं लाख पर्ने क्रेटा भित्र्याइन्छ । मेयर साबलाई एम्बुलेन्स खरिदको छलफल कहाँ पुग्यो भन्दा एम्बुलेन्स किन्दा भन्सार कर छुट हुँदैन महँगो पर्छ भन्ने जवाफ सुन्न पाइन्छ । आज यो कोरोनाको बिकराल परिस्थिति बनेको छ । नागरिकको लागि क्रेटा कति उपयोगी र सस्तो भएको छ ? कसैको संरक्षण नभै कसैले लाखौंको कार किन्ने हिम्मत गर्न सक्दैन । आम नागरिकको प्रश्न छ उपमेयरको असहमति कहाँ छ ? निर्णय नै लेखिएको छैन हाम्रो असहमति कहाँ लेख्ने ? वास्तविकता यहि नै हो । उपप्रमुख चौधरील्े सामाजिक सञ्जालबाट दिएका अभिव्यक्ती थिए ।

कोहलपुर नगरपालिकाले खरिद गरेको गाडी

मेयर लुटबहादुर रावत पक्षको बहुमतको दम्भले कोहलपुर नगरपालिका ‘भ्रष्टाचारको अखडा’ बन्दै गएको छ । उपमेयर सञ्जुकुमारी थारु भने बहुमतका अगाडी निरिह देखिएकी छिन् । सायद त्यही भएर उनले सामाजिक सञ्जालमै आफ्ना भावनाहरु व्यक्त गरेकी हुन् । मेयर पक्षको बहुमतको दम्भले भ्रष्टाचारको दलदलमा फसेको कोहलपुर नगरपालिका एकपछि अर्को काण्डहरु सार्वजनीक भएसँगै बदनाम हुँदै आएको छ । नियमनकारी निकायले बेवास्ता नगरेकाले सरकारी नम्बरका सवारी साधानको दुरुपयोग बढ्दै गएको हो ।
विवादको भूमरीमा परेको कोहलपुर नगरपालिकाका वडा नं. ३ का अध्यक्षसमेत रहेका नगर प्रवक्ता माधव रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कसैलाई सरर चढेको देख्छु, अस्पताल पुग्छु, बिरामी बेड नपाएर भुइँमा लडेको देख्छु, निशब्द छु । हरे जिन्दगी ।’ नगरपालिकाका मेयर लुटबहादुर रावत चढ्नका लागि खरीद गरिएको विलासी भे १ झ ३२९ नम्बरको ‘क्रेटा कार’ यतिबेला सामाजिक सञ्चालमा भाइरलसमेत बनेको छ ।
‘माहामारीको बेलामा कोहलपुर नगरपालिकामा भित्रियो सुविधा सम्पन्न क्रेटा । जहाँ अहिलेसम्म एम्बुलेन्ससमेत छैन । कोरोना संक्रमितलाई अब यसैमा बोक्ने योजना बनाएको छ होला,’ पत्रकार रबिन्द्र सिंह ठकुरीले व्यङ्ग्य गर्दै लेखेका छन् । मेयरको विलासिताका लागि महङ्गो कार खरीद गर्ने नगरपालिकाभित्रका स्वास्थ्य संस्था भने एम्वुलेन्सबिहीन छन् । १५ वटा स्वास्थ्य संस्था रहेको नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन छन् ।
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘कोहलपुर नगरपालिकामा एउटा एम्बुलेन्स पनि छैन, तर एम्बुलेन्सको सट्टामा हुण्डाईको क्रेटा कार भित्रिएको छ ।’ कारभन्दा एम्बुलेन्स आवश्यक भएको भए पनि विलासिताका लागि महङ्गो कार खरीद गरेर राज्यको ढुकुटीमा ब्रह्मालुट मच्चाएको भन्दै सामाजिक सञ्जालमा मेयर रावतको चर्को आलोचना भइरहेको छ ।
बाँकेको दोस्रो ठूलो सहरका रूपमा रहेको कोहलपुरमा तीन स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य क्लिनिक छन् । ती कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैनन् । कोहलपुरका स्थानीय नारायण कँडेलले फेसबुकमा लेखेका छन्, कोरोनाले सिथिल पार्दै गर्दा अत्यावश्यक सामाग्रीको कुनै चाजोपाजो छैन । कोरोनाको लक्षण देखिँदा ‘एम्बुलेन्स भोली आउँछ आज खाली छैन’ भन्ने हजुर (मेयर)ले ३२९ हैन ४२० नम्बर राख्नुपर्ने हो ।’कोहलपुरका लागि कम्तीमा एउटा एम्बुलेन्स आवश्यक ठानेर बारम्बार बजेट विनियोजन भएको छ,’ एक जना कार्यपालिका सदस्यले भने, ‘कार्यपालिकाले गरेको निर्णयअनुसार एम्बुलेन्स खरिद हुन सकेको छैन । केही साथीहरुको व्यक्तिगत स्वार्थका लागि बजेट खर्च भइरहेको छ ।’ मेयर र उनी निकटका आसेपासे जनप्रतिनिधिका कारण नगरपालिकाको विकास निर्माण शुन्यजस्तै अवस्थामा देखिएको पनि उनले बताएका छन् ।

उनले मेयर लगायतका जनप्रतिनिधिहरुको आलोचना गर्दै विलासिताका लागि खरीद गरेको महङ्गो कारको नम्बर ३२९ नभएर ४२० हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । त्यस्तै अर्को स्थानीय देवेन्द्र आचार्यले लेखेका छन्, ‘कोहलपुर नगरपालिकामा कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्याउन एउटा एम्बुलेन्स छैन, तर, मेयर साब र कार्यकारी अधिकृत ज्युलाई घुम्नलाई भर्खरै हुण्डाईको झण्डै ५० लाख पर्ने क्रेटा भित्रिएको छ । बधाई छ कोहलपुर नगरपालिकालाई ।’आवासको सेवा लिने कर्मचारीलाई समेत सुविधाका लागि भन्दै गाडी खरिद गरिएको कोहलपुर नगरपालिका स्रोतले जनाएको छ । नगरपालिकाले बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पति फजुल दोहन गरिरहँदा एउटा एम्वुलेन्स खरीद गर्न सकेको छैन । नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गरेर फजुल खर्च गरिएको स्थानीयहरु बताउँछन् । कोहलपुर नगरपालिका मातहत दुई वटा बर्थिङ सेन्टरसमेत एम्वुलेन्सबिहीन छन् ।‘बर्थिङ सेन्टरबाट बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको अवस्थामा सधैँ एम्बुलेन्सको अभाव खट्किन्छ,’ स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारीले भने, ‘पटक–पटक स्वास्थ्य शाखाले एम्बुलेन्सको माग गरे पनि खरिद गरिएको छैन ।’ अहिले कोरोना महामारीमा कोहलपुरका कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुनुको पीडा कोहलपुरको सहरीभन्दा ग्रामीण क्षेत्रका नागरिकलाई बढी छ ।

११ बैशाख २०७८ मा प्रकाशित
Nabintech