कैलालीको बर्दगोरिया गाउँपालिकामा राजस्व छली गरेको आरोपमा सोमबार राजस्व अनुसन्धान कार्यालय कोहलपुरले एक पसलमा छापा मारेको छ । पालिकाको वडा नं. २ स्थित बौनिया बजारमा रहेको धमाला बस्त्रालय र गोदाममा राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय कोहलपुरले छापा मारेको हो ।
विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय कोहलपुर कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार पोख्रेलसहितको टोलिले छापा मारेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक भिमदत्त जोशीले जानकारी दिए । सो क्रममा गोदाममा राखिएको १०५ बोरा (एक ट्रक) कपडा बरामद गरिएको जनाईएको छ ।
बस्त्रालयले राजस्व छली गरि सामान ल्याउने गरेको विशेष सूचनाका आधारमा सोमबार पसल र गोदाममा छापा मारिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार पोख्रेलले जानकारी दिए । उनले सो क्रममा अनुसन्धानका लागि १०५ बोरा विभिन्न प्रकारका कपडाको सामान बरामद गरिएको बताए । उनले भने “हामीले विशेष सूचनाको आधारमा छापा मारेका हौ, यो अनुसन्धानकै क्रममा छ राजस्व छली गरेको हो या होइन भन्ने बारेमा अहिले भन्न सकिन्न तर पटकपटक सूचना प्राप्त भएपछि हामी छापा मार्न बाध्य भएका हौं” ।
सोमबार दिनभर पनि राजस्वको टोलीले बस्त्रालतका संचालक द्वारिका धमलालाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो तर संचालकले सहयोग नगरेपछि अन्तत; अनुसन्धानको टोलीले प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहवरमा गोदाममा छापा हानेको जनाईएको छ ।
गोदामबाट बरामद गरिएको सामान भने अनुसन्धानका लागि राजस्व कार्यालयको टोलिले कोहलपुर लिएको छ ।
राजस्व छली प्रमाणित भए के कारबाही हुन्छ ? यस्तो छ कानुन

बस्त्रालयले यसअघि पनि राजस्व छली गरि ल्याइएको करिब ३ लाख बराबरको सामान चेकजाँचका क्रममा कोहलपुरमा राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो । सो क्रममा पनि अनुसन्धानका लागि बोलाउदा संचालक धमलाले कार्यालयलाई असहयोग नगरेको राजस्व अनुसन्धान कार्यालय कोहलपुर कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार पोख्रेलले बताए ।