कोरोनाको चपेटामा गर्भवती, अस्पतालमै असुरक्षित छन् आमाहरू

पिपलबाेट संवाददाता


नागार्जुनकी २७ वर्षीया सान्तामाया महर्जन आउँदो जेठमा आमा बन्दैछिन् । आमा बन्ने महर्जनको उत्साहलाई हिजोआज भने कहिले डर त कहिले अन्योलताले बिथोल्न थालेको छ । कारण हो- कोरोनाको दोस्रो लहर ।

सोमबार नियमित मासिक परीक्षणका लागि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतल आइपुगेकी महर्जन केही अन्योलमिश्रित डरमा देखिन्थिन् । अस्पतालको भीड छिचोल्दै ओपीडीको बाटो खोजिरहेकी महर्जनले लामो सुस्केरा हाल्दै भनिन्, ‘अस्पतालको भीड देखेरै अत्तालिन्छु म त ! तर, जचाउनैका लागि पनि अस्पताल त आउनै पर्‍यो ।’

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सशंकित हुने महर्जन एक्ली पात्र होइनन् । गर्भवती हुँदा लगाइने दोस्रो मात्राको टिटानस खोप लगाउन अस्पताल जाने कि नजाने भन्ने अन्योलमा छिन्, चाबाहिलकी २६ वर्षीया जानकी शर्मा । शर्मा भन्छिन्, ‘अस्पताल जाऊँ भने कोरोना सर्ला भन्ने पीर नजाऊँ भने केही होला कि भन्ने डर !’

अस्पताल नै भीडभाड र कोरोनाको हटस्पट बनिरहेको यस बखतमा गर्भवती एवम् सुत्केरीहरूको यस किसिमको डर कत्तिको जायज हो त ?

थापाथलीस्थित प्रसूति अस्पतालमा खोप लगाउनेको भीड

गर्भवती/सुत्केरीलगायतका थप जोखिम समूहलाई सार्वजनिक भीडभाड नगर्न/नगराउन आग्रह गर्ने स्वास्थ्य सुरक्षा मापदण्डको उपहास गर्दै सोमबार थापाथलीस्थित प्रसूति अस्पतालमा भेरोसिल कोरोना खोप लगाउनेको भीड थियो ।

अस्पताल परिसरबाहिर देखिएको भीड प्रसूति गृहको अल्ट्रासाउन्ड कक्षमा पनि थियो । त्यहाँ भौतिक दूरीबिना नै गर्भवती महिलाहरू अल्ट्रासाउण्डका लागि खचाखच भरिएका थिए । त्यस्तै थापाथली अस्पतालको इमर्जेन्सी वार्डमा पनि आमा बन्ने तयारीमा रहेका महिलाहरूको भीड थियो ।

प्रसूति अस्पतालमा एकातिर खोप केन्द्र अर्कोतिर भौतिक दूरीबिनाको भीड !

‘अस्पताल हाताभित्र नै भौतिक दूरीको मापदण्ड पालना हुँदैन भने हाम्रा आमाहरू कसरी सुरक्षित हुन्छन् ?’ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘यो निकै नै जोखिमयुक्त र कहालीलाग्दो स्थिति हो ।’

यस्तो अवस्थामा गर्भवती एवम् सुत्केरीहरूका लागि नियमित जाँच तथा खोप लगाइने अस्पताल कति सुरक्षित छन् त ?

भौतिक दूरी पालना नगरिएको थापाथलीस्थित प्रसूति अस्पतालको अल्ट्रासाउण्ड कक्ष

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी निर्देशक डा. संगीता कश्यप मिश्र भन्छिन्, ‘हामीले चाहदाँचाहँदै पनि संरचनाले गर्दा भौतिक दूरीको मापदण्ड पूरा गर्न सम्भव भइरहेको छैन ।’ दैनिक महिलाहरूको भीड थेग्न नै गाह्रो हुने अवस्थामा भौतिक दूरीले बिरामीलाई सेवाबाटै बञ्चित गर्नुभन्दा हाललाई संक्रमित र असंक्रिमत गर्भवती/सुत्केरीलाई अलग्गै छुट्याएर उपचार गर्ने गरेको उनको भनाइ छ ।

मिश्र भन्छिन्, ‘ओपीडीमा चाहिँ हामीलाई समस्या भएको छ । दैनिक २ हजार खोप लगाउनेको भीड हुन्छ, अस्तिदेखि स्वास्थ्य मन्त्रालयलाई भनेका थियौँ तर हामीलाई पत्राचार नै गरेर खोप केन्द्र नहटाउन भनिदियो ।’ हाल स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको १५ वटा खोप केन्द्रबाट पाँच वटा अस्पताललाई मात्रै खोप केन्द्रमा परिणत गरेको छ ।

सोही कुरालाई मनन गर्दै पाटन अस्पतालले लकडाउनकै बेला मातृत्व तथा नवजात शीशुको छुट्टै भवनयुक्त अस्पताल बनाएको थियो ।

डा. अरुणा उप्रेती अस्पतालहरूमा खुल्ला ठाउँ नहुनुको असर देखिएको निष्कर्ष निकाल्छिन् । उनी भन्छिन्, ‘हाम्रा अस्पतालहरूमा भइरहेका सेवा हेर्दा लाग्छ, देश भगवान भरोसाले मात्रै चलेको छ ।’

आवश्यक डर मात्रै लिऔँ

यसै पनि कोरोनाको उच्च जोखिम समूहमा रहेका गर्भवती एवम् सुत्केरीले आवश्यक सावधानी अपनाउनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि गर्भवती एवम् सुत्केरी महिला थप जोखिम समूहमा राखेको छ ।

कोभिड- १९ लाई लिएर सचेत हुनुको विकल्प नभए पनि अनावश्यक डर लिनु नपर्ने मिडवाइफ सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङ बताउँछिन् । उनी भन्छिन्, ‘स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी स्वअनुशासनमा बस्ने हो भने गर्भवती र सुत्केरी भए पनि जोखिम कम हुन्छ । हेलचेक्र्याँइ गरिएको छैन भने खासै डराउनु पर्दैैन ।’

आम व्यक्तिलाई झैँ स्वास्थ्य सुरक्षाका मापदण्डहरू गर्भवतीका लागि पनि उस्तै भएकाले थप कुनै स्वास्थ्य प्रोटोकल नभएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, मातृ तथा नवजात शीशु शाखाकी प्रमुख डा. पुण्या पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘सार्वजनिक स्थल वा भीडमा नजाने, सेनिटाइज गर्ने, हातमुख पर्याप्त धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नेबाहेक त्यस्तो थप स्वास्थ्य सुरक्षा मापदण्ड गर्भवतीलाई भनेर छैन ।’ त्यसैले अन्य सर्वसाधारणले जस्तै सचेत हुनुको विकल्प नरहेको पौडेलको भनाइ छ ।

बूढ्यौली लागेका, बढी तौल भएका, दीर्घ रोग भएकालगायतका गर्भवतीहरू कोरोनाको बढी जोखिममा छन् । पछिल्लो अध्ययनअनुसार मधुमेह वा उच्च रक्तचाप जस्ता समस्या भएका गर्भवतीहरू उच्च जोखिम समूहमा पर्ने गरेको पाइएको स्त्री रोग विशेषज्ञहरूको भनाइ छ ।

कोरोनाभन्दा डरलाग्दो समस्या कोरोनाको अव्यवस्थापन

कोरोनाभन्दा पनि कोरोना अव्यवस्थापनको चपेटामा यतिखेर गर्भवती/सुत्केरीहरू पर्न बाध्य भएका छन् ।

गत वर्ष भदौमा बर्दियाबाट बाँके पुर्‍याउने खर्च जुटाउन नसक्दा एक दलित गर्भवती महिलाले घरमै ज्यान गुमाइन् । यातायातको सुविधा, रगतको व्यवस्थापन लगायतका स्वास्थ्य उपचारका प्राथमिक सर्तहरू नै पूरा नहुँदा कोरोनाकालमा गर्भवती महिलाहरूमा जोखिम बढेको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, मातृ तथा नवजात शीशु शाखाका अनुसार गत वर्ष चैत ११ गते लकडाउन सुरू भएयता हालसम्म १७८ जना सुत्केरी तथा गर्भवतीले ज्यान गुमाएका छन् । यद्यपी कोरोनाको परीक्षण नभएकाले यस तथ्यांकमा कोरोनाकै कारण सुत्केरी र गर्भवतीको मृत्यु भएको हो होइन भन्ने निर्क्यौल नभएको महाशाखाले जनाएको छ ।

डा. अरुणा लकडाउनको अवधिमा मृत्यु भएका महिलाको संख्या चिन्ताजनक रहेको बताउँछिन् । ‘यो सामान्य अवस्थामा मृत्यु भएजस्तो होइन,’ उनी भन्छिन्, ‘धेरै गर्भवती र सुत्केरीको मृत्यु कोरोनाभन्दा पनि कोरोना अव्यवस्थापनका कारण स्वास्थ्य सेवा प्रणालीद्वारा सिर्जित समस्या र असंवेदनशील गतिविधिले भएको देखिन्छ ।’

गर्भवती नियमित जाँच गर्न तथा सुत्केरी गराउन अस्पताल जाँदै गरेका महिलाहरूको मनोबल उच्च राख्न के कति प्रयत्न गरिएको छ ? उत्तर अस्पताल हाताभित्रै देखिएको लापरबाही हो ।

इमर्जेन्सी वार्डमा पालो कुर्दै गर्भवती महिला र परिवार

कसरी सुरक्षित रहने ?

डा. लक्ष्मी पटक-पटक अस्पताल गएर जोखिम निम्त्याउनुभन्दा जोखिम हुँदा र खोप लगाउनुपर्दा मात्रै अस्पतालको परामर्श लिन सुझाव दिन्छिन् । ‘गर्भवती हुनु सामान्य अवस्था होइन,’ उनी भन्छिन्, ‘विश्व स्वास्थ्य संगठनले गर्भावस्थामा कम्तीमा पनि आठ पटक स्वास्थ्य चौकीमा परामर्श लिनुपर्ने जनाएको छ । तर कोभिडकालको विषम परिस्थतिमा अत्यावश्यक खोप र परामर्शका लागि चारपटक मात्रै अस्पताल धाएर अन्य समयमा फोनबाटै चिकित्सकीय परामर्श लिन सकिन्छ ।’

गर्भावस्थामा नियमित जाँच, पौष्टिक आहारविहार एवम् निगरानीको आवश्यकता हुन्छ । त्यसैले गर्भवस्था र सुत्केरी हुँदा देखा पर्न सक्ने विभिन्न स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै चिकित्सकहरूले आवश्यक रुपमा सर्तक हुनका साथै अनवाश्यक डर नलिन आग्रह गरेका छन् ।

त्यसो त विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड संक्रमित महिलाबाट नवजात शिशुमा कोरोना नसर्ने भए पनि आवश्यक सुरक्षाका मापदण्डहरू पालना गर्न जरुरी छ । यसका लागि पूर्वयोजना अनुसारको तयारी गर्न चिकित्सकहरूले सल्लाह दिएका छन् ।

गर्भावस्थाबारे कुनै पनि परामर्श आवश्यक परेमा वा आपत्कालीन अवस्था आएमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ल्याएको टोल फ्रि नम्बर १६६००१०००४६ मा सम्पर्क गर्न सकिन्छ ।शिलापत्र

तस्वीरहरू : सुशील श्रेष्ठ/शिलापत्र

१४ बैशाख २०७८ मा प्रकाशित
Nabintech