भेरी अस्पतालमा दुई महिलासहित थप तीन संक्रमितको मृत्यु

पिपलबाेट संवाददाता


कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । गएराती मृत्यु भएकाहरुमा बाँके, बर्दिया र कैलालीका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-७ की ५७ वर्षीया संक्रमित महिलाको गएराती ३ः३० बजे मृत्यु भएको हो । स्वास्थ्यमा कोभिड संक्रमण पुष्टि भएपछि उनी १४ गते भेरीमा भर्ना भएकी थिइन् । यस्तै बढैयाताल गाउँपालिका-७ की ४७ वर्षीया महिलाको पनि भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ती महिला चैत २५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको भोलिपल्ट कोभिड रिपोर्ट पोजेटिभ आएको थियो । उनको पनि उपचारका क्रममा साँझ साढे ७ः३० बजे मुत्यु भएको छ ।

यस्तै गोदावरी नगरपालिका-११ कैलालीका ६२ वर्षीय पुरुषको राती १०ः३० बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी १३ गते अस्पतालमा भर्ना भएका थिए ।

भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । उनको उपचारका क्रममा गएराती मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १११ पुगेको छ भने बाहिरी जिल्लाका मृतक संख्या ११३ पुगेको छ ।

१७ बैशाख २०७८ मा प्रकाशित
Nabintech