करीब चार साताअघि काठमाडौमा दाइसँग कुरा गरेको थिएँ । प्रसङ्गमा यसपालीको गुठी, जात्रा मनाउने कि नमनाउने भन्ने विषयमा मैले भनेको थिएँ – इन्डियाको हावा राम्रो छैन, जे गर्नु छ यही दुई साताभित्रै गर्नुहोस् त्यो पनि छोटकरीमा । दाइ त “कन्भिस” हुनु भयो तर अरू भए कि भएनन् थाहा भएन। तर, जात्रा लाइभ हेरिरहेँ, आस्थाले शिर झुके पनि त्यो भीडमा कहीँ कतै कोरोना पनि रमाइरहेको भान भयो ।
यसैगरी सामाजिक संजालमार्फत कोरोना संक्रमणको सम्भावित दोस्रो लहरको संकेत गरेको थिएँ । कतिपयले त्रास फैलाउने आराजक तत्त्वसमेतभने तर मलाई कुनै गुनासो छैन । पोहर संक्रमणले दस्तक दिनुभन्दा धेरैअघि नै २०७६ साल माघ र फागुन महिनामै दुई लेखमा कोरोनाकोसम्भावित ताण्डवको ‘ट्रेलर’ जारी गरेको थिएँ । कोरोनाको कहर भोग्नेलाई थाहा छ, देख्नेको आँखा सुकेको छ । जसलाई संक्रमण भएन तिनलेयो केही हैन विकसित देशको हौवा, जनताको सिनो लुछ्ने स्वाथ्य माफिया, कौवा आदि इत्यादि भन्दै हिँडे । घरघरमै डाक्टर वैद्य झाँक्री जन्मे । देशका मुखिया नै विज्ञान र अनुसन्धानविनाको ‘प्रेस्किप्सन’ बाँडेर निमुखालाई बेसारे सपना अम्बाको पातमा हालेर दिँदै रमाए । यसभन्दा कहालीलाग्दो विपना के होला र हाम्रा लागि ?
भारतमा कोरोनाको दोस्रो लहर अनियन्त्रित भएको छ, अक्सिजनविना अस्पतालको बेडमै छट्पटाएर मर्नेको क्रन्दनले वायुमण्डल गुन्जिएकाे छ । अस्पताल परिसरमै केही नपाएर प्राण गुमाउने अनिगिन्ती छन् । शवदहन केन्द्रहरुमा लाशको लाम लागेकाे छ । मलामी भन्दा लाशको लर्को लामो छ । एकै चितामा ८ -८ जनालाई दागबत्ती दिनु परेको छ । स्थिति भयावह छ । दुई महिनाअघि १० हजार संक्रमण प्रतिदिन भएको देशमा अहिले साढे ३ लाख मान्छे दिनहुँ भाइरसको चपेटामा परिरहेका छन् । खुला सीमा, आयातमा निर्भर अर्थ व्यवस्था र बीसौं लाख नेपाली श्रमिक भारतमा पसिना बगाउने भएकोले दक्षिणको हावा नेपालमा सर्छ सर्छ । सीमा कडाइ गर्नाले केही समयलाई मुल्तबीमा राख्न सकिएला तर रोक्न सकिँदैन ।
भ्रममा रमाएकाहरुलाई मात्र केही आँकडा श्रम नगरी बुझ्ने गरी राखाैँ । अहिलेसम्म संसारमा झन्डै ३० लाख मानिस कोरोनाका कारण मारिएका छन् । त्यो ३० लाख भनेको काठमाडौं उपत्यकाको ३ वटै जिल्लाको आधिकारिक जनसंख्याभन्दा पनि बढी हाे । तीस लाख लाशलाई समाधि बनाउने हो भने उपत्याकाको समथर भूभाग नपुग हुन्छ । कोरोना सत्य हो, कोराेनाले मार्छ, नमारे पनि मृत्युको दर्शन गराउँछ ।
दोस्रो लहरको लहरामा देश
सरकारी तथ्याङ्कमा १ महिनाअघि सम्मको संक्रमण नगन्य थियो छिमेकी मुलुकमा जस्तै । राजनीतिक मेला भेलाले केही मलजल गरे । त्यसपछि जात्राहरूले मात्रा थपे । सबैभन्दा दुःखद सत्य त कोरोना हराइसक्यो, कोरोना नेपालीसँग डराइसक्यो भन्ने डरमा आत्मलिन हुनु नै हो । गत सातादेखि सरकारी तथ्यांकमै गुणात्मक वृद्धि भएको छ । दिनमा २५ सय बढीको संक्रमण त्यो पनि ८-१० हजार नमुना परीक्षण गर्दा । यसले केजनाउ दिन्छ भने स्वाब संकलन केन्द्रमा आउने हरेको ४ जनामा १ जनासँग भाइरस छ । एक हजारबाट दुई हजार संक्रमण पुग्न ४ दिनमात्र लाग्यो । अर्थात् दोब्बर हुने दर ४ दिनमात्र भनेको भयावहको पनि ‘बाप’ हो । मैले यहाँ पटकपटक सरकारी तथ्यांक भन्नुको मतलब त्यो डाटा नै नियन्त्रित हो भन्ने लाग्थ्यो र पछि पुष्टि भएको छ । वास्तविक संख्या स्वास्थ मन्त्रालयका प्रवक्ताले दिएको अंकभन्दा धेरै माथि छ । सरकारी तथ्यांकमा ९३५ मृतक गायब भएको त पुष्टि नै भइसकेको छ । एक दुईवटा लाश हो र त्यो ? झन्डै हजार जना मृतकलाई जिउँदो बनाइराख्यो महिनौसम्म सरकारले ।
भ्याक्सिन र भ्रम
भ्याक्सिन रामवाण हैन न त अर्जुनवाण नै हाे । भ्याक्सिन कुनै प्रकारको ओखती हैन । भ्याक्सिन मूलतः भाइरस नै हो । साधारणतया ३ प्रकारले भ्याक्सिन बनाइन्छ – १. कमजोर बनाइएको वा दाँत झिकिएको ज्युँदो भाइरसबाट २. मृत भाइरसबाट ३. भाइरसको आरएनए प्रयोग गरेर ।
भ्याक्सिन प्रवेश गरेपछि शरीरको प्रतिरोधात्मक प्रणालीले बाह्य तत्त्वको अतिक्रमणको जनाउ दिन्छ र यसविरुद्ध लड्न शरीरलाई तयारगर्छ ।एन्टिबडी बनाउने काम श्वेतरक्त कोशिकाको एउटा खण्डले गर्ने गर्छ । तसर्थ भ्याक्सिन औषधि हैन शरीरलाई प्राकृतिकरूप निश्चितभाइरस /ब्याक्टेरियाविरुद्ध लड्न शरीरको सेनालाई तालिम दिएर तम्तयार अवस्थामा राख्छ ।
अर्को भ्रम भ्याक्सिन लिएको व्यक्तिलाई फेरि संक्रमण हुन्छ भने भ्याक्सिन किन लिने भन्ने छ । बुझ्नुपर्ने कुरा के हाे भने कुनै पनि रोग लाग्न वा लक्षण देखा पर्न निश्चित मात्रामा भाइरस वा विषाणु हाम्रो शरीरमा प्रवेश गरेकै हुनुपर्छ । जति धेरै संख्यामा शत्रुको आक्रमण हुन्छ त्यति नै क्षति हुने प्राकृतिक नियम नै हो । भ्याक्सिन लिएपछि ( भने जति मात्रा ) शरीरमा एन्टिबडी बन्छ जुन शतप्रतिशत सबैमा नबन्न पनि सक्छ । मानौं ८० प्रतिशत कुनै भ्याक्सिन असरदार छ भने २० प्रतिशत अझै जोखिम हुन्छ भन्ने बुझ्नुपर्छ । भाइरसको अत्यधिक आक्रमणमा परिएछ भने ८० प्रतिशत ले नथेग्न पनि सक्छ र संक्रमण भएर रोगको लक्षण देखा पर्न सक्छ । तर,……… । यसरी संक्रमण भएपनि गम्भीर परिस्थिति भने आउँदैन र केही समयमै शरीरले लडाइँ जित्छ ।
हाल प्रचलनमा रहेका कोभिडविरुद्धको भ्याक्सिनमध्ये अक्सफोर्ड/एस्ट्राजेनेका/ सिरम इन्स्टिच्युटको कोभिसिल्ड ७६-७९ प्रतिशत संक्रमण रोक्न प्रभावशाली र शत प्रतिशत आईसीयु र मृत्युबाट बचाउने अहिलेसम्मको अनुसन्धानले देखिएको छ । त्यसैगरी लक्षण देखिएका बिरामीमा फाइजर र मोर्डना खाेप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ भने शत प्रतिशत आइसीयु र मृत्युबाट जोगाउँछ ।
त्यसैले भ्याक्सिन लिएको मान्छेलाई संक्रमण हुनु अनौठो हैन तर यसले न्यून क्षतिमात्र गर्ने हुन्छ साथै यस्तो घटना दुर्लभ नै हुन्छ । अस्पतालमा खासगरी कोरोना कक्षमा काम गर्ने स्वास्थ्यकर्मी वा सहायकलाई भने संक्रमण हुने सम्भावना बढी रहन्छ नै ।
अर्को भ्रम छ – भ्याक्सिनको प्रतिप्रभाव (साइड इफेक्ट)बारे । साइड इफेक्ट नभएको त सायद कुनै ओखती वा खाना नै नहोला । मुख्य कुरा यसले दिने फाइदा कति छ भन्ने हो । हालसम्म विश्वभर ४० करोडभन्दा बढीले भ्याक्सिन लिइसके र साइड इफेक्टको कारण अस्पताल भर्ना हुनु परेकाको संख्याकेही हजार छन् भने मृत्यु त नगन्य मात्रामा भएकाे छ । तर, भ्याक्सिनको प्रयोगले कति मान्छे मृत्युको मुखबाट बाँचे ? कतिलाई सर्न / सार्नबाट जोगाए? यी पाे महत्त्वपूर्ण सवाल हुन् त । त्यसभन्दा महत्त्वपूर्ण चाहिँ भाइरस दाेहाेरिन (रिप्लिकेट) हुन पाउँदैन र नयाँ नयाँ प्रकार (भेरियन्ट) बन्नबाट रोकिन्छ । त्यसैले अहिलेको अवस्थामा खोप लगाउनु नै सबैभन्दा महत्त्वपूर्ण कदम हो कोरोनाविरुद्धको यो विश्वयुद्धमा । कालान्तरमा त एन्टिभाइरल औषधि बन्ला नै ।
दोस्रो लहर किन घातक जहर भएको छ ?
दोस्रो लहर एकै दिनको रहरले आएको हैन । महिनौअघि देखि यसको ‘रिहर्सल’ हुँदैआएको थियो । माथि नै भनिसकेँ -बेरोकटोक आमसभा / दामसभा , देशकै मुखियासहित हजारौं दर्शकबीच रंगशाला रंमाउनु, क्रिकेटमा डल्ला फ्याक्नु , जात्रामा मात्रा मिलाउनु आदि इत्यादि त कारक हुन् नै । त्यसभन्दा बढी हामीले कोरोनालाई हेपेर अपनाउनुपर्ने साधारण सुरक्षा नअपनाउनु र सामाजिक दायित्व विमुख भएर भोज भतेर अनि ‘गेट टुगेदर’मा रमाएका केही पल पनि दाेषी छन् ।
धेरै रिप्लिकेट हुँदा भाइरसले रूप परिवर्तन गरेर आउँछ । अहिले आएको युके भेरिएन्ट पुरानोभन्दा बढी सरुवा र घातकसिद्ध भएको छ । भारतमै ‘डबल म्युटेन्ट’ पीसीआर मेसीनलाई छक्याउने खालको छ र अन्यत्रबाट आएका अन्य प्रजाति पहिलेभन्दा घातक भएकोले नै दोस्रो लहर जहर भएर आएको हाे । जे भए पनि दोस्रो लहर आई नै सक्यो । बाचौँ र बचाऔँ भन्ने मूल मन्त्र ङसहित सबै सतर्क रहनु र आवश्यक पूर्वतयारीको विकल्प छैन । सरकारले केही गर्ला भन्ने आशा त स्वयं सरकारका भजनेहरूलाई नै छैन । कुनै तयारी छैन । अक्सिजन रुखले लिँदैछन्, वनमन्त्री भन्छन् । यति कुरामा भने ढुक्क हुनुस् संक्रमण भए न त बेसार पानीले जोगाउँछ न अम्बाको पातले सघाउँछ । संक्रमण हुनबाट जोगिने हो । संक्रमणबाट जोगिने उपाय खासै जटिल कुटिल पनि छैन । केही पाइला सम्हालेर हिड्ने हो भने धेरै हदसम्म जोगिन सकिन्छ ।
१. भिडबाट टाढा रहने
२. मास्क लगाउने
३. बेला बेलामा साबुन पानीले हात धुने
४. अपरिचित व्यक्तिकोमा नजाने वा नभेट्ने
यहाँनिर मास्क र यससम्बन्धी भ्रमकाे पनि चर्चा गराैँ । मैले मास्क लाएको छु म जोगिन्छु भन्ने भ्रम सबैभन्दा घातक हुन सक्छ । तपाईँले लगाउने मास्कले तपाईँलाई भन्दा अरूलाई जोगाउँछ । लक्षण भएकाे वा नभएकाे कुनै संक्रमित व्यक्तिले मास्क लगाएकाे भए उसबाट निःसृत भाइरस टाढा जान पाउँदैन । भाइरस उसैको अनुहार वरपर अलमलिएर बस्छ र नष्ट भएर जान्छ । हातले भाइरस भएको ठाउँमा छुँदा र त्यसपछि नाकमा छुँदा सर्ने जोखिम सबैभन्दा बढी भए पनि यसरी सर्ने भाइरसको संख्या कम हुने हुँदा व्यथाले धेरै नचाप्ने र ८-१० दिनमा निको हुने हुन्छ । तर, मास्क नलाएको मान्छेको मुख/नाकबाट निःसृत विषाणु (पानीको ससानाकणमा अल्झिएर बसेका) सँगैको मान्छेको नाक वरिपरि बस्यो भने र त्यो हाम्रो शरीरमा पस्यो भने त्यो प्राण घातक हुन सक्छ । यसो हुनुमा मुख्य दुई कारण छन् । पहिलो सानो कणमा हजारौंदेखि लाखौं भाइरसकाे विषाणु हुन्छन् । ती ताजा ताजा हुने हुँदा छिटै नष्ट पनि नहुने हुन्छ । तसर्थ मास्क लाउनु अत्यन्त जरुरी हुन्छ ।
मास्क लाएर दुई जनामात्र पनि सँगै बसेर कुरा गर्दा एकजना सँग भाइरस छ भने अर्को व्यक्तिलाई सर्ने जाेखिम रहन्छ । १० मिनेटसम्म यसरी गफिँदा १ प्रतिशत सर्ने सम्भावना रहन्छ भने त्यो २० मिनेटमा बढेर ३० प्रतिशतसम्म पुग्छ र ४० मिनेटभन्दा बढी यसरी टाँसिदा सर्ने सभावना ८० प्रतिशतभन्दा बढी हुने एउटा अध्ययनले देखाएको छ ।
मास्क लाउने कर्ममा हामीले सही धर्म पूरा गर्न सकेका छैनौ । सुनसान सडकमा पनि मास्क लाएर हिँड्छौँ तर परिचित मान्छे भेट्यो कि मास्क च्युँडाेमा सारेर ज्युँदो छु भन्ने धक्कु लगाइहाल्छाैँ । बरु सुनसान ठाउँमा मास्क कानमा लाए नि केही हुन्न तर मान्छे भेट्यो कि मास्कले नाक मुखटम्म छोपिने गरी कस्नुपर्छ । मास्कको सही उपयोग गरियाे भने धेरै हदसम्म कोरोना दैत्यको ताण्डव देख्नुपर्दैन ।
अन्त्यमा कदाचित् कोरोना संक्रमण भैहाले सम्बन्धित डाक्टर/वैद्यको सल्लाह र निगरानीमा उपचार गरौँ । फेसबुके र बेसारे अम्बापाते साथीबाट टाढै रहौँ । आत्मबल दरो बनाए आधा रोग निको हुन्छ । कोरोनाले दुःख त दिन्छ तर त्यसलाई जित्नै नसकिने हैन । सबै मिलेर यसलाई हराउनतिर लागौँ । डराउनतिर लाग्यौँ भने हाम्रो हार निश्चित छ । निषेधाज्ञाको सही सदुपयोग जनताले पनि गरौँ । सरकारले त झन् गरोस् ।